अब अहिंसात्मक आन्दोलन

Share:
  
- कमल रिमाल, विराटनगर
मोरङमा आन्दोलनरत मधेशी दलहरू शान्तिपूर्ण आन्दोलनबाटै अधिकार प्राप्त गर्न सकिनेमा विश्वस्त छन्।

तस्वीरहरुः कमल रिमाल
विरोधसभामा सहभागी आन्दोलनरत मधेशकेन्द्रित चार दलका अध्यक्ष
२०६३ सालको मधेश आन्दोलनका क्रममा विराटनगरमा ६ जना आन्दोलनकारी र एक प्रहरीको ज्यान गयो। २०६४ मा भएको अर्को मधेशकेन्द्रित आन्दोलनमा कसैले मृत्युवरण गर्नु परेन, तर झ्डप र कर्फ्यूले भने धेरै दिनसम्म सास्ती दियो।

स्थान उही हो, आन्दोलनकारी पनि उनै। तर, यसपटक विराटनगरका आन्दोलनकारीले शान्ति र संयमताको सन्देश दिन चाहेका छन्।

“पहिलो र दोस्रो मधेश विद्रोह थियो” संघीय समाजवादी फोरम नेपाल मोरङका पूर्व अध्यक्ष उमेश यादव भन्छन्, “यसपटक भने शान्तिपूर्ण आन्दोलनको सन्देश दिइरहेका छौं।” शान्तिपूर्ण आन्दोलनबाटै मधेशका माग पूरा हुने भएकाले हिंसा जरूरी नभएको यादवको भनाइ छ। हजारौं जनता सडकमा उत्रिएपछि आन्दोलन सफल हुने उनको भनाइ छ। ३० साउनको मशाल जुलूसमा प्रहरीको लाठीले घाइते भएका यादव घाउ निको नहुँदै आन्दोलनमा फर्किएका छन्।

तराई मधेश लोकतान्त्रिक पार्टी मोरङका अध्यक्ष मोहम्मद कादिरले मोरङको आन्दोलनलाई 'शान्तिपूर्ण र बौद्धिकस्तरको' भन्न रुचाउँछन्। उनी बल प्रयोग हुँदा पनि आन्दोलनकारीले संयम देखाएको र प्रहरीले पनि प्रतिशोधको भावना नलिएको दाबी गर्छन्। आन्दोलनकारीले प्रहार गरेको ढुंगाबाट प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठ पनि घाइते भएको बताउँदै उनी भन्छन्, “तर, दुवै आक्रोश पोख्नै भनेर सडकमा उत्रिएका छैनन्”, उनी भन्छन्।

फोरम नेपाल, मोरङका अध्यक्ष राजकुमार यादव त अझ् यसपटकको मोरङको आन्दोलनले कसैलाई दुःख नदिने र सार्वजनिक सम्पत्ति पनि क्षति नहुने दाबी गर्छन्। उनी भन्छन्, “दबाबका लागि शान्तिपूर्ण आन्दोलन नै काफी छ।” अन्य जिल्लामा मानिस मारिनुमा प्रशासनको कमजोरी भएको उनको भनाइ छ।

विराटनगरमा जारी आन्दोलनका सहभागी।
आन्दोलन हिंसात्मक हुन नदिन आन्दोलनकारी सतर्क छन्। फोरम नेपालका केन्द्रीय सदस्य एवं राजनीतिक समितिका सदस्य संजय सिंहले प्रहरीसँगको पटकपटकको सम्भावित झ्डप टारेका छन्। ५ भदौमा रोडशेष चोकमा बन्द विरोधी नारा लगाउँदै आएका समूहको प्रतिकारमा उत्रिएका आक्रोशित आन्दोलनकारी र प्रहरीबीच हुनै लागेको झ्डप सिंहले माइकबाट शान्त रहन निर्देशन दिएपछि साम्य भएको थियो। ६ भदौमा महेन्द्र चोकको कोणसभामा निम्तिएको यस्तै स्थितिलाई पनि सिंहले नै व्यवस्थापन गरे। “आन्दोलनलाई मर्ने–मार्ने अवस्थामा पुग्न दिंदैनौं” सिंह भन्छन्, “उक्साहट र दमनका वेला आन्दोलनकारी भड्किन्छन् तर हामीले नियन्त्रणमा राख्न सक्नुपर्छ।”

आन्दोलनकारी सयौंको संख्यामा तर प्रहरी पाँच जना मात्र हुँदासमेत आफूहरूले प्रतिकार नगरेको बताउने सद्भावना पार्टी मोरङका अध्यक्ष चन्द्रप्रसाद राजवंशी सभ्य आन्दोलन गरिरहेको तर्क गर्छन्। “सद्भावनाको आन्दोलन आजसम्म मर्ने–मार्ने भएको छैन/हुँदैन पनि”, उनी भन्छन्।

त्यसो त 'एक मधेश एक प्रदेश' को मागबाट मधेशवादी नेताहरू पछि हटिसकेकाले पहिलेको जस्तो मधेश आन्दोलन हुनेमा नेता, कार्यकर्तालाई नै विश्वास छैन। कतिपय त पार्टीको निर्देशन पालना गर्न मात्रै भए पनि मन नलागी नलागी आन्दोलनमा आएका देखिन्छन्। चार दलको आह्वान भनिए पनि सडकमा आन्दोलनकारीको संख्या न्यून देखिन्छ।

त्यसो त लगातारको बन्दले आक्रान्त विराटनगरवासी बन्दको प्रतिकार गर्न थालेका छन्। २, ३ र ८ भदौमा 'बन्द सधैंका लागि बन्द गरौं' भन्ने नाराका साथ विभिन्न संघ–संस्थाको अगुवाइमा र्‍याली नै निकालिएको थियो।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ६ भदौमा विराटनगरमा गरेको विरोध सभामा आन्दोलनरत चारै दलका अध्यक्षहरूले आन्दोलनमा मृत्यु हुनेलाई रु.५० लाख दिइने विवादास्पद अभिव्यक्ति प्रकट गरेनन्। उनीहरूले मधेश आन्दोलन कुनै जातिविरुद्ध नभई मधेशी, दलित, जनजाति, आदिवासी, मुस्लिम, महिलाको पक्षमा भएको बताएका थिए।

फोरम नेपालका पूर्व सभासद् एवं केन्द्रीय सदस्य जयराम यादव शान्तिपूर्ण आन्दोलनबाट राजा वीरेन्द्र र ज्ञानेन्द्र झ्ुके जस्तै पहिचान र सामर्थ्यविरोधी झ्ुक्ने बताउँछन्। उनको जोड छ, “दलहरू अन्तरिम संविधानको मर्म र भावना बमोजिम हिंड्नै पर्छ।”

सुरक्षाकर्मी पनि अहिलेसम्मको आन्दोलनमा आन्दोलनकारीले धैर्य गुमाइनहालेको बताउँछन्। आन्दोलनकारीको व्यवहार अनुसार सुरक्षाकर्मी परिचालन हुने बताउँदै जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी प्रमोद खरेल भन्छन्, “आन्दोलनकारी शान्त भए हामी पनि शान्त हुन्छौं, हिंसामा उत्रिए सहन्नौं।”

comments powered by Disqus

रमझम