१३-१९ भदौ २०७२ | 30 Aug - 5 Sep 2015

इच्छाशक्ति सम्पन्न

Share:
  
- गोपाल गडतौला, झापा
परिवार र समाजबाट स्नेह र हैंसे पाउने हो भने शारीरिक अपाङ्गता भएकाहरू समस्या होइन, सम्पत्ति बन्छन्।

तस्वीरहरुः गोपाल गडतौला
भक्त राई
शनिश्चरे–१, पथरीस्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक तुलसीप्रसाद बस्नेत (३९) ले साइकल चलाएको देख्दा सबै छक्क पर्छन्। कारण, उनको दाहिने खुट्टो छैन।

नक्कली खुट्टाको सहायताले उनी घरदेखि पथरी, उर्लाबारी, शनिश्चरे पनि साइकलमै आउजाउ गर्छन्। सहकारीका सदस्यले ऋण मागे धितोको अवस्था बुझन पनि साइकलमै दौडन्छन्। बस्नेत भन्छन्, “कसरी साइकल गुडाउनुहुन्छ भनी सोध्छन्। नक्कली खुट्टो देख्नेहरू दया देखाउँछन्।”

तर २५ वर्षअघिको त्यो दिन सम्झ्ँदा अहिले पनि बस्नेतलाई ऐंठन होला जस्तो हुन्छ। बाटो काटेर शनिश्चरे राजमार्ग पारिको किनारा पसल जाने धुनमा रहेका उनलाई अचानक बसले ठक्कर दियो। दायाँ खुट्टो किच्यो। भोलिपल्ट १७ साउन २०४७ मै विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको खुट्टो काटियो। “राम्रो फूटबल खेलाडी बन्ने सपना थियो”, नक्कली खुट्टो सुम्सुम्याउँदै बस्नेत भन्छन्।
बैसाखी टेकेरै स्नातक उत्तीर्ण बस्नेत बिहान घरमै किराना पसल चलाउँछन्।

दिउँसो सहकारीमा व्यस्त हुन्छन्। ११ वर्षअघि उनैको सक्रियतामा खोलिएको सहकारीले साढे ३ करोड रुपैयाँ लगानी गरिसकेको छ। “अहिले शारीरिक रूपमा कमजोर छु भन्ने भावना हराउँदै गएको छ”, दुई सन्तानका पिता बस्नेत भन्छन्।

रसायनशास्त्र र समाजशास्त्रका स्नातकोत्तर दमक–६ का घनश्याम दाहाल (३२) दमक बहुमुखी क्याम्पस र लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्छन्। स्थानीय हिमशिखर टेलिभिजन र पाथीभरा एफएममा साहित्यिक कार्यक्रम चलाउँछन्। झापा र मोरङमा हुने साहित्यिक कार्यक्रम हत्तपत्त छुटाउँदैनन्। साहित्यमा घनश्याम पथिक नामले चिनिने दाहालको शहर तिम्रो भए र भूल जिन्दगीको गजल संग्रह र पहेंलो फूल र स्वप्न कविता संग्रह प्रकाशित छन्। धेरै वर्षसम्म दाहालको भर बैसाखी थियो। अहिले उनी स्कूटी पनि चलाउँछन्। एक वर्षकै उमेरमा भाँच्चिएको उनको देब्रे खुट्टोले राम्रो उपचार पाएन। पोलियोले भेट्यो र खुट्टो हिंड्नै नमिल्ने गरी लुलो भयो।

घनश्याम दाहाल।
तर, उनले हिम्मत हारेनन्। पढाइको सिलसिलामा २०५९―२०६८ सालमा काठमाडौंमा रहँदा उनी डिल्लीबजारस्थित घरको सातौं तलामा रहेको मेरो एफएम मा साहित्यिक कार्यक्रम चलाउँथे। चढ्दा–ओर्लंदा पिंडुला नै बाउँडिन्थ्यो। प्राध्यापन र सञ्चारकर्मबाट दाहालले दमक–१० मा घडेरी जोडेका छन्। प्रेमविवाह गरेका उनको बसाइ दमक–१० मै छ।

“गुडाउन त सक्नुहुन्छ?” पहिलोपटक ई–रिक्सा चढ्ने अधिकांशले भक्त राई (३८) लाई यस्तै प्रश्न गर्छन्। “ढुक्कले चढ्नुहोस्, ह्याण्डल थाम्ने हात बलिया छन्”, जवाफमा उनी भनिदिन्छन्।

टाँडी–८, मोरङमा जन्मेका राई एक वर्षको हुँदै थलिए। तीन महीनापछि तङ्ग्रिए तर उनी खुट्टाको साटो हातपाउ टेकेर घसि्रएर हिंड्ने प्रयत्न गर्थे। छोरोलाई पोलियो भएको बुबाआमालाई पछि मात्र थाहा भयो। २०५० सालमा एसएलसी पास गरेपछि मात्र उनले ह्वीलचेयर चढ्ने अवसर पाए।

वाणिज्य शास्त्रमा स्नातक तहको पढाइ बीचैमा छोडेर उनले सात वर्षअघि दमकमा होटल शुरू गरे। पत्नी बबिताको बलमा चलेको थियो, होटल। तर, सन्तान जन्मिएपछि भने उनलाई खर्च धान्न मुश्किल भयो। डेढ वर्षअघि होटल बन्द गरे। र, ६ महीनाअघि मात्र रु.२ लाख १५ हजार जुटाएर ब्याट्रीबाट चल्ने ई–रिक्सा किने। २० वर्षदेखि तीनचक्के ह्वीलचेयर गुडाएका उनलाई ई–रिक्सा अप्ठेरो लागेन।

भेषराज न्यौपाने।
“मलाई विचरा भनेको मन पर्दैन, बरु हामीले गरिखान सहयोगी प्रविधिको विकास गर्नुपर्छ”, दैनिक हजार रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेका राई भन्छन्।

दमक–१३ का भेषराज न्यौपाने (३०) लाई अहिलेको जीवन पुनर्जन्म जस्तो लाग्छ।

२७ फागुन २०६१ बिहान कलेज जान हतारहतार भर्‍याङबाट आर्लिरहेका उनी चिप्लिएर एकैपटक बरण्डामा पछारिए। होशमा आउन ३५ दिन लाग्यो। नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै परिवारको रु.१० लाखभन्दा बढी सकियो। अन्त्यमा, नसा र मेरुदण्डको हड्डीमा गम्भीर चोट लागेका उनलाई चिकित्सकले स्पाइनल कर्ड इन्जुरी (सर्भाइकल लेभल) भएको ठहर गरे र आजन्म ह्वीलचेयरमा बस्नुपर्ने बताए। त्यो वेला १८ वर्षका उनी प्लस टु पढिरहेका थिए।

“मुख खोल्दा हालिएको अन्नपानीको भरमा बाँचें”, उनी भन्छन्, “चेतना ठीकै थियो, सयौं दिन बिछ्यौनामा आँसु झार्दै जागै बिते।'

तर, विस्तारै उनले पुस्तकमा आफ्नो मनोवैज्ञानिक उपचार भेटे। भेट्न आउनेलाई फलफूल होइन, पुस्तक ल्याइदिन अनुरोध गरे।

अहिले उनको घर पुस्तकालय भएको छ। 'दमक पब्लिक लाइब्रेरी' मा दैनिक १०० जना भन्दा बढी पाठक आउँछन्। पुस्तकालयमा सात हजारभन्दा बढी पुस्तक छन्। “ऊ वेला तिघ्रा, पाखुरा बलिया भएकाले मात्र गरिखाने जमाना थियो” न्यौपाने भन्छन्, “तर प्रविधिले दिमाग भएकालाई नै शक्तिशाली बनाउँदै लगेको छ।”

तुलसीप्रसाद बस्नेत।
विद्युतीय ह्वीलचेयरमा बसी पुस्तकालयमा आउनेहरूसँग बौद्धिक विमर्श गर्न रुचाउने उनी इन्टरनेट सर्फिङ गर्न रुचाउँछन्। गत वर्ष उनको पुस्तकालयले इन्डिगागो वेबसाइट मार्फत गरेको क्राउड सोर्सिङमा विश्वभरबाट रु.१० लाख संकलन भयो, जसमा उनलाई दमकमै रहेका अमेरिकी ब्रायन वालले सघाएका थिए। दमकस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगका कर्मचारीले पनि रु.३ लाख सहयोग गरे।

क्राउड सोर्सिङबाट उठेको पैसाले पुस्तक थप्ने, र्‍याक, छानो लगाउने र बाँकी रु.६ लाख पुस्तकालय सञ्चालन कोषका लागि कञ्चनजंघा सहकारीमा बचत गरेको न्यौपाने बताउँछन्। उनी थप सहयोग जुटाई पुस्तकालयका लागि वेग्लै जमीन किन्ने योजनामा छन्।

न्यौपानेको पुस्तकालयमा सयौं दाताहरूले पुस्तक र पत्रपत्रिका जुटाइदिने गरेका छन्। स्नातक अध्ययनरत उनी भन्छन्, “सहयोगी र परिस्थिति थोरै मात्र दाहिना भए अपाङ्गता अनुभूत नै नहुने रहेछ।”

comments powered by Disqus

रमझम