१३-१९ भदौ २०७२ | 30 Aug - 5 Sep 2015

विद्युत् बचाऔं

Share:
  

नेपालीको औसत प्रतिव्यक्ति ऊर्जा खपत १०८ युनिट छ, जुन विश्वको औसत विद्युत् खपतको तुलनामा एकतिहाइ कम हो। अपार जलसम्पदाबाट मनग्य विद्युत् उत्पादन हुने चर्चा गरिएको दशकौं बिते पनि मुलुकको विद्युत् उत्पादन ८०० मेगावाट पनि पुगेको छैन। अहिले पनि देशको ऊर्जा खपतको ७६.९७ प्रतिशत दाउरा, कृषिजन्य अवशेष र गोबरजस्ता परम्परागत स्रोतबाट भइरहेको छ। कुल ऊर्जा खपतको ३.३१ प्रतिशत मात्र विद्युत्को प्रयोग भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, आर्थिक वर्ष २०७१/७२ को अन्त्यसम्ममा देशभरिमा अधिकतम ७९१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। विद्युत्को उच्चतम माग १२०० मेगावाट र आपूर्ति आधा मात्र हुँदा वर्षायाममा समेत लोडसेडिङ भइरहेको छ। अहिले प्राधिकरणका ग्राहक करीब २८ लाख पुगेका छन् र विद्युत् खपतमा घरायसी प्रयोगको हिस्सा ४४ प्रतिशत छ।

औद्योगिक काममा त परै जाओस् बत्ती बाल्न, टीभी हेर्न, मोबाइल चार्ज गर्न, खाना बनाउनसमेत विद्युत् नभई नहुने भइसक्यो। तर न त देशमा पुग्दो विद्युत् छ न भइरहेको विद्युत् बचत गर्ने उपायबारे नै जानकारी।

बचतका अनेक उपाय

विद्युत् यस्तो वस्तु हो, जसको उत्पादन र खपत एकैसाथ हुन्छ, ठूलो परिमाणमा भण्डारण गरेर राख्न सकिंदैन। अतिरिक्त खर्च नगरिकनै सामान्य दैनिक क्रियाकलापमा सुधारबाटै विद्युत् किफायती गर्ने धेरै तरीका छन्। त्यसो त विद्युत् बचत गर्दा विद्युत्को महसुल मात्र घट्दैन, हरित गृह प्रभाव घटाउन समेत मद्दत पुग्छ, जसले वातावरणीय प्रदूषण कम गर्छ। लोडसेडिङ घटाउन पनि सहयोगी हुन्छ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (ईप्पान) का अध्यक्ष खड्गबहादुर विष्ट विद्युत् संरक्षण पनि घरायसी विज्ञान भएको र दैनिक सामान्य क्रियाकलापबाटै खपत कम गर्न सकिने बताउँछन्।

विद्युत् खपत कम गर्ने पहिलो तरीका सीएफएल चिमको प्रयोग हो। पुरानो बल्बभन्दा ८ गुणा बढी आयु भएको यो बल्बले ७५ देखि ८० प्रतिशत विद्युत् खपत कम गर्ने अध्ययनहरूले देखाएका छन्। घरायसी विद्युत् प्रयोगको अधिकांश हिस्सा उज्यालोका लागि नै भइरहेको हुनाले बत्ती बालिरहनुपर्ने स्थानका लागि त सीएफएल विद्युत् कम खपत गर्ने अचूक उपाय हो।

घरबाट निस्कँदा बत्ती, टेलिभिजन, कम्प्युटर आदि बन्द गर्ने, अनावश्यक बत्ती निभाउने, उपकरणलाई 'स्ट्याण्ड'बाई मोडको सट्टा 'स्वीच्ड अफ' गर्ने कुरा सुन्दा सामान्य लागे पनि विद्युत् बचत गर्ने ठूला तरीका हुन्।

ईप्पानका विष्ट स्वचालित बत्ती बन्द हुने प्रविधि जडान गरेमा धेरै विद्युत् खपत घटाउन सकिने बताउँछन्। कोठामा अधिकतम विद्युत् खपत गर्नेमा टीभी, पंखा, एसी, हीटर मानिन्छ। कोठाबाहिर जाँदा यी वस्तु बन्द गर्दा धेरै विद्युत् बच्छ।
गुणस्तरीय उपकरण र साधनको प्रयोग पनि विद्युत् किफायतीको अर्को तरीका हो। गुणस्तर प्रमाणीकरण चिह्न भएका र कम विद्युत् खपत गर्ने साधन ख्ारीद गरे विद्युत् जोगिन्छ। खाना बनाउन तथा पानी तताउन क्रमशः सोलार कुकर र सोलार वाटर हीटर सिस्टम घरमा जडान गर्न सकिन्छ। यसले विद्युत् प्रयोगमा कमी मात्र होइन, खर्च पनि घटाउँछ।

घर पर्याप्त हावा र प्रकाश छिर्ने बनाउनुपर्छ। घरका बाहिरी भित्तामा लहरा, फूल लगाएमा भित्ता कम तात्ने हुँदा पंखा र एसी प्रयोग गर्नै नपर्ने हुनसक्छ। घर, सडकको बत्तीलाई रातमा मात्रै बल्ने स्वचालित सिस्टम लगाउने, घरको भित्री भागमा उज्यालो रंग प्रयोग गर्ने, बढी विद्युत् खपत गर्ने पुराना प्रविधि परिवर्तन गर्ने, सकेसम्म प्राकृतिक उज्यालोकै प्रयोग गर्ने गरेमा पनि विद्युत् खपत निकै कम गर्न सकिन्छ।

रेफ्रिजेरेटरको ढोका खोल्ने, बन्द गर्ने गर्दा पनि विद्युत् खपत स्वाट्टै बढ्छ। पुरानो रेफ्रिजेरेटरले बढी विद्युत् खपत गर्ने भएकाले यसको मर्मत आवश्यक छ। घरको कुल विद्युत् खपतको एक चौथाइसम्म रेफ्रिजेरेटरमा हुने आकलन छ।
बल्ब र ट्युबलाइटलाई निरन्तर सफा गर्दा पनि कम क्षमताको बल्ब र ट्युबलाइटबाटै बढी प्रकाश पाउन सकिन्छ। चामल भिजाएर खाना पकाउँदा कम बिजुली खपत हुने र चाँडै पाक्ने हुन्छ।

प्रस्तुतिः रमेश कुमार

comments powered by Disqus

रमझम