१३-१९ भदौ २०७२ | 30 Aug - 5 Sep 2015

कुहिरोभित्र 'मिस्टिका'

Share:
  

संसारमा तीन प्रकारका चलचित्र बन्छन् रे; राम्रा, नराम्रा र बलिउडे। नेपाली साहित्य लेखनीबारे पनि अब यसैगरी भन्न सकिएला; राम्रा, झूर र कुमार नगरकोटी लेखनी। नगरकोटीको लेखनको प्रशंसा र निन्दा गर्नेहरू सराबरी भेटिन्छन्। त्यति हुँदाहुँदै पनि नगरकोटी वेग्लै कोटिका 'बिरलाकोटी' लेखक हुन्। यिनै बिरलाकोटी लेखकले बिरालाको आवरणमा पहिलो उपन्यास 'मिस्टिका' पछिल्लो साता अनावरण गरेका छन्।

'मिस्टिका' लाई लेखक र प्रकाशक दुवैले उपन्यास विधामा राखेकाले स्वाभाविक रुपमा पहिलो प्रश्न 'मिस्टिका' कै नश्लमाथि गर्न सकिन्छ। डीएनए परीक्षण गर्ने हो भने 'मिस्टिका' उपन्यासको नश्ल भित्र पर्दैन। नगरकोटीले यो कृतिमा उपन्यासको विधाभञ्जन गरेका छन्। यदि साहित्यमा विधाभञ्जन गर्ने विरुद्ध कोर्ट कचहरी हुन्थ्यो भने नगरकोटी निःसन्देह काराबासका भागीदार हुन्थे। त्यसैले 'मिस्टिका' उपन्यासको आवरणको एउटा मिस्टिक (रहस्यपूर्ण) टेक्स्ट (पाठ) मात्र हो।

पुस्तक मिस्टिका

लेखक कुमार नगरकोटी

प्रकाशक बुक–हिल

पृष्ठ ४०८

मूल्य रु.४९९

नगरकोटी यथार्थवादी धारका लेखक होइनन्। स्वैरकल्पना अर्थात् फ्यान्टासीलाई सर्रियल शैलीमा स्वप्नमय अभिव्यञ्जनाका साथ लेखनमा प्रस्तुत गर्न खप्पिस उनले 'मिस्टिका' मा कथानक भन्दा पनि फिक्सन डिजाइनिङ (उनी आफूलाई फिक्सन डिजाइनर नै भन्छन्) गरेका छन्। र, पछिल्ला कृतिहरूभन्दा बढी प्रयोगधर्मी बनेका छन्।

नगरकोटीले जस्तो 'कन्टेन्ट' लेखेका छन्, उनलाई प्रकाशकले पनि त्यसै अनुरुपको 'कन्टेनर' उपलब्ध गराइदिएका छन्। उपन्यासका 'ग्रे–डेज', 'ब्लु बोयज्', 'स्याफ्रन ड्रिम्स', 'इन्डिगो इभनिङ्स' अध्यायहरू भनिएका रंगहरूका पानाबाटै आरम्भ हुन्छन्। उपन्यास भइकन पनि पुस्तक चित्रमय छ। पृष्ठहरूमा विजोर अंक मात्र टंकन गरिएको छ।

यदि कुनै पाठकले 'मिस्टिका' मा कुनै नतीजा वा निष्कर्ष खोज्दछ भने त्यो एक दुरुह प्रयास मात्र हुनेछ। 'ग्रे–डेज' अध्यायको 'कुण्डलिनी कुहिरो' खण्डबाट पठन आरम्भ गर्ने पाठक 'इन्डिगो इभनिङ्स' अध्यायको अन्तिम खण्ड 'गर्भ–गृह, अग्निसमाधि र डेड एन्ड' सम्म आइपुग्दा बाक्लो कुहिरोमा रुमलिन्छ मात्र। रहस्यमयी लोकेसन, पात्र र कथावाचकीहरूले पाठकलाई तरङ्गित गर्छन्। उनका अजीबोगरीब पात्रहरू आफ्नै खासियतका छन्। कार पेन्टर, मिस्टिका, सिमसारा, दिवङ्गत बुढाथोकी, डाक्टर कलब्रेक गोदार, पण्डित साष्टाङ्ग शास्त्री, मिखायल दानोविच, निशाचर लेडी आदि इत्यादि पात्र नाम जस्तै रहस्यमयी छन्। बहुल कथावाचकीहरू प्रथम, द्वितीय र तृतीय पुरुषकै हैसियतमा कथावाचन गरिरहेका हुन्छन्। ती वाचकी स्वयं नगरकोटी, रंगकर्मी अनुप बराल (उपन्यासका एक पात्र) वा पाठक आफैं हुन् सक्छन्। पाठक समेतलाई कथामा आमन्त्रण गर्दै वाचकीको भूमिका दिइएको 'मिस्टिका' अन्ततः एक 'मेटाफिक्सन' (पराख्यान) बन्छ। कथाका दुई आयाम समय र स्थान दुर्घटित भइदिंदा पाठक उपन्यासलाई तेस्रो आयाममा पढ्न सक्छन्। यस्ता रहस्यबीच पनि पठनलाई रहस्यमयी र सुरुचिपूर्ण बनाइराख्नु नै नगरकोटीको सामर्थ्य हो।

नगरकोटी शब्दका तान्त्रिक जस्ता देखिन्छन्, जसका शब्दहरू तरल छन्, जो सर्रियल पेन्टर साल्भादोर दालीका चित्रहरू जस्तै पग्लिरहेका छन्, बगेका छन्। एक पात्र टाइपराइटर मार्फत नगरकोटी शब्दको महिमा गाउँछन्, 'मलाई कहिलेकाहीं कस्तो लाग्छ भने शब्दहरू पनि मनुष्य झै जीवित हुने गर्छन्। वर्डस् आर लिभिङ् थिङ्स अल टुगेदर। शब्दहरू सास फेर्ने प्राणी झै जीवित हुन्छन्।'

कथा विसंगत तर काव्यात्मक न्याय (पोयटिक जस्टिस) नहुनुले पाठकले उपन्यासमा के प्राप्त गर्न सक्छ त्यो अहम् प्रश्न हो। उपन्यासको मज्जा भन्नु नै पठनको आनन्दातिरेक (एक्सट्यासी) हो। वेलावेलाको हास्यचेतले पाठकलाई कुत्कुती लगाउँछ र पुरातन शैलीका लेखहरूको 'बोरडम' बाट मुक्त गराउँछ।

तर उपन्यासमा आलोचनीय पक्ष नभएका होइनन्। नगरकोटी निःसन्देह भिन्न छन्, तर उनी आफ्नै सिर्जनाबीचमै कति भिन्न छन्, प्रश्न गर्न सकिन्छ। किनकि, उनी अँध्यारो छायाँबाट मुक्त हुनसकेका छैनन्। कुहिरो, अँध्यारो गल्ली, कालो बिरालो र मृत्युको छायाँ आदिले उपन्यासलाई नराम्ररी अँठ्याएको छ। समग्रमा नगरकोटीले शब्द, शिल्प र शैलीको आफ्नोपन मार्फत नेपाली साहित्यमा नितान्त फरक उपन्यासको जन्म दिएका छन्।

शेखर खरेल

comments powered by Disqus

रमझम