१३-१९ भदौ २०७२ | 30 Aug - 5 Sep 2015

मिलानमा नेपालको वाहवाही

Share:
  
- सुशीला बुढाथोकी
विश्व प्रदर्शनीको माध्यमबाट नेपाली कला, संस्कृति र परिवेश झल्किने सम्पदा विश्वभर फैलिरहेको छ। तर, मुलुकले पर्याप्त लाभ उठाउन सकेको छैन।

मिलानमा भइरहेको विश्व प्रदर्शनीस्थित नेपाल मण्डल।
१ मे, २०१५ यताका चार महीना इटालीको मिलान उत्सवमय बनेको छ। संसारभरका ८० लाखभन्दा बढीले आजका मितिसम्म मिलानमा पाइला टेकिसकेका छन्, र यो संख्या करीब दुई करोड पुग्ने दाबी गरिएको छ। कारण एउटै हो, विश्व प्रदर्शनी (वर्ल्ड एक्स्पो)।

मिलानमा भइरहेको ६ महीना लामो ऐतिहासिक प्रदर्शनीमा कलाका माध्यमबाट विश्वको एउटा कुनाले अर्को कुना अवलोकन गरिरहेको छ। भूगोल र संस्कृति चिनिरहेको छ।

खुशीको कुरा, यो ऐतिहासिक प्रदर्शनीमा नेपालले चर्चा कमाइरहेको छ। विश्वभरका १० लाखले नेपाल मण्डप हेरिसकेका छन्। १४० देशले भाग लिएको मेलामा नेपाल मण्डपबारे इटालीका प्रधानमन्त्री मात्तियो रेन्जी, मिलानका मेयर गुलियानो पिसापिया, अमेरिकी राष्ट्रपति बाराक ओबामाका छोरीहरू साशा र मालियाले समेत चासो दिएका छन्।

नेपाल मण्डप मार्फत नेपाली मौलिक वास्तुकला, काष्ठकला, मूर्तिकला, परम्परागत सीप र प्रविधि पस्किने प्रयास गरिएको छ। युरोपियन र अमेरिकी देशहरूले बनाएका स्टीलका भव्य मण्डपबीच नेपालको मण्डप वेग्लै लाग्ने गर्छ। यसअघि सन् २०१० मा चीनको साङ्घाई र २००० मा जर्मनीको हानोभरमा भएको प्रदर्शनीमा पनि नेपाल आकर्षण बनेको थियो। हानोभरमा नेपालको मण्डप उत्कृष्ट भएको थियो भने चीनमा उत्कृष्ट दशमध्ये एक।

अठारौं शताब्दीदेखि नै युरोपमा औद्योगिक प्रदर्शनी हुन थाले पनि १८५१ मा बेलायतको लन्डनमा भएको प्रदर्शनीलाई पहिलो विश्व प्रदर्शनी मानिन्छ। १९२८ मा युरोप, अमेरिका तथा एशियाका ३१ देशहरू मिलेर फ्रान्सको पेरिसमा स्थापित ब्युरो अफ इन्टरनेशनल एक्स्पोसिसन्स (बीआईई) ले हरेक दुई वर्षमा विशेषस्तरको, हरेक पाँच वर्षमा सबैभन्दा ठूलो र यी दुई ठूला विश्व प्रदर्शनीको बीचमा मध्यमस्तरको प्रदर्शनी गर्दै आएको छ। प्रदर्शनीले विश्वलाई एकै ठाउँमा ल्याउने, लाखौंको जमघट गराउने मात्र होइन सहभागी देशहरूको अनुभव, खोज, उपाय तथा सहकार्यका सूत्रहरूलाई प्रदर्शनी, सम्मेलन, कार्यशाला, छलफल तथा उच्चस्तरीय पदाधिकारीबीच अन्तरक्रिया समेत चलाउँछ।

प्रदर्शनीमा सन् १९८३ देखि नै नेपालको प्रतिनिधित्व गर्दै आएको निजी कम्पनी इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप (आईईजी) का अन्तर्राष्ट्रिय प्रवर्द्धन शाखा प्रमुख विनायक शाह हरेक पटकको प्रस्तुतिले नेपालको गरिमा विश्वसामु फैलाउन मद्दत पुगेको ठान्छन्। “प्रदर्शनीमा सफलताको सबैभन्दा ठूलो मापदण्ड कुन देशले बनाएको मण्डप कति दर्शकले अवलोकन गरे भन्ने हुन्छ”, शाह भन्छन्, “विश्वमा दुई छाक खान नपाउने नेपाली भनेर प्रचार भइरहेको छ। यो प्रदर्शनीले नेपालले चाह्यो भने विश्वको लागि पनि केही गर्न सक्छ भन्ने सन्देश दिएको छ।”

आईईजीका प्रमुख अमृतरत्न शाक्यले २५ वर्षअघि जर्मनीमा पढ्दा नै विश्व प्रदर्शनीबारे थाहा पाएका थिए। त्यसपछिका वर्षहरूमा उनले नेपाली कला, कौशल जोगाउने र नेपाली उत्पादन विश्वमाझ फैलाउने काममा लागे। त्यसैको प्रतिफल हो, आज उनको कम्पनीले विश्वमा नेपाल चिनाइरहेको छ। उनी भन्छन्, “हामीले नै ५० देखि १०० रुपैयाँ पर्ने साधारण काठलाई बुट्टामा कला भरेर लाखौंमा बिक्री गरेका छौं, यो सम्भावना अन्य क्षेत्रमा पनि छ। ”

वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका नायब कार्यकारी निर्देशक तेजसिंह विष्ट भन्छन्, “सरकारले गर्न नसकेको काम निजी क्षेत्रले गरिरहेको छ। यो ठूलै हिम्मतको कुरा हो।”

पशुपतिनाथदेखि यार्सागुम्बासम्म

जर्मनीको हानोभरस्थित नेपाल मण्डप।
सन् १९७० मा जापानको ओशाका शहरमा आयोजित विश्व प्रदर्शनीमा राजा महेन्द्रको अगुवाइमा नेपालले पहिलोपटक भाग लिएको थियो। १९८३ मा जर्मनीको म्युनिख प्रदर्शनीमा पशुपतिनाथको मन्दिर कलाले नेपाललाई चर्चित बनाएको थियो। मिलानसम्मको यात्रामा भने यार्सागुम्बा समेतको प्रचार हुन थालेको छ।

प्राचीन र आधुनिक कलाको संयोजनबाट निर्मित नेपाल मण्डपको मौलिकताकै कारण प्रदर्शनी सकिएपछि पनि विभिन्न स्थानमा जस्ताको तस्तै स्थापना गरिएका छन्। जबकि आयोजकले कार्यक्रमपछि प्रायः सबै देशका मण्डप भत्काउँछन्। साङ्घाईमा बनाइएको मण्डप पर्यटकीय शहर सान्यामा सारिएको छ। यसलाई अहिले नेपाल–चीन सांस्कृतिक केन्द्रमा परिणत गरिएको छ। यसैगरी जर्मनीको हानोभरमा बनाइएको मण्डप अहिले नेपालीभाषीको भेटघाटको थलो र पर्यटकीय क्षेत्रमा परिणत भएको छ। त्यहाँ योगा, संगीत र नेपाली हस्तकलाका सामग्री र परिकार समेत उपलब्ध छन्।

संस्कृतिविद् सत्यमोहन जोशी सम्पदाको महत्व फैलाउन मद्दत गर्ने, नेपालको हितमा प्रचार गर्ने भएकोले विश्व प्रदर्शनी महत्वपूर्ण भएको मान्छन्। उनका अनुसार १३औं शताब्दीमा अरनिकोले देखाएको कलाकारिताको जगमा अहिलेसम्म चीनसँग उच्चस्तरको सम्बन्ध बनेको र भारतको बनारसस्थित ललिताघाटमा बनाएको पशुपतिनाथले दुई देशबीच धार्मिक सामीप्यता बढाएको हो। उनी भन्छन्, “सातौं शताब्दीमा भृकुटीको विवाहपछि तिब्बतमा नेपालीले बनाएको भोखाम (बौद्ध विहार) ले चीनभरि बुद्धका अनुयायी बढायो। चीनले आफैंले बनाएका बौद्ध विहारहरूमा समेत रंजना लिपिमा लेखिएको 'ॐ मणि पद्मे हूँ' कुँदिएको पाइन्छ जुन भोखाममा कुँदिएको थियो।”

गर्न बाँकी धेरै

संसारका ठूलादेखि साना कम्पनी तथा विकासशील राष्ट्रहरूले खोज्ने प्रमुख बजार अमेरिकी र युरोपेली देशहरू नै हुन्। यस्तोमा विश्व प्रदर्शनी मार्फत नेपालले आफ्ना उत्पादन, सम्भावना भएका क्षेत्र तथा अवसर प्रचारप्रसार गर्नु हितकारी देखिन्छ। तर, सरकार र निजी संस्था अझ्ौ अग्रसर देखिंदैनन्। सरकारको भूमिका प्रदर्शनीको लागि आयोजक छनोट गर्ने र प्रदर्शनीको बीचमा नेपालको विशेष प्रस्तुति हुने 'नेपाल डे' कार्यक्रममा सहभागी हुने बाहेक अन्यत्र देखिंदैन। यसले प्रदर्शनीको माध्यमबाट नेपालका विशिष्ट क्षेत्रहरू पहिचान गर्ने, उत्पादित वस्तुहरूको अन्तर्राष्ट्रिय बजार, माग तथा गुणस्तर मापन गर्ने र सीप फैलाउन मद्दत नगरेको अर्थशास्त्री विश्वम्भर प्याकुर्‍याल बताउँछन्। उनी भन्छन्, “बाहिरको बजारसित प्रतिस्पर्धा गर्न नेपाली बजारले सिक्नुपर्ने कुरा र ती देशमा निर्यात गर्न सक्ने उच्च मूल्यका वस्तुको पहिचान र प्रवर्द्धन सामूहिक रुपमा हुनसकेको छैन।”

सरकारले विश्व प्रदर्शनीमा सहभागिता तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०६२ जारी गरेको छ। कार्यविधिमा प्रदर्शनीमा सहभागिता गर्न विज्ञहरू सम्मिलित समिति गठन गर्ने, आयोजक छान्ने, आयोजक संस्थाको दायित्व, आयोजकले विवरण पेश गर्नुपर्ने लगायतका कुरा समेटिएको छ। तर, सरकारले प्रदर्शनीको उपलब्धि र विवरण समेत आयोजक कम्पनीबाट लिने गर्दछ।

सरकारले पर्याप्त ध्यान नदिंदा नेपालले विश्व प्रदर्शनीबाट पाउन सक्ने फाइदा लिन नसकेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका निर्देशक विष्ट स्वीकार गर्छन्। जस्तो कि, प्रदर्शनीस्थल मिलानमा २३ सेप्टेम्बरमा 'नेपाल डे' मनाइँदैछ तर सरकारी प्रतिनिधि र अजेण्डाको तय अहिलेसम्म लागेको छैन। सरकारले युरोपका आधा दर्जन दूतावास, पर्यटन बोर्डका शाखा तथा गैर आवासीय नेपाली संघ–संगठनलाई समेत नेपालको हितमा प्रदर्शनीलाई प्रयोग गर्न सकेको छैन।
आईईजीका शाह नेपालमा जलस्रोतको सम्भाव्यता, कृषिमा गरिएका प्रगति र संभावना प्रस्तुत गर्न सके विदेशी विज्ञ, लगानीकर्ता र खरीदकर्ता दुवैलाई प्रभाव पार्ने सम्भावना देख्छन्। उनी भन्छन्, “यार्सागुम्बा जस्ता वनस्पतिले प्रोटिन र औषधिको काम गर्छन्। नेपालले माछाका भुरा निर्यात गरेको छ, यस्तो कुरा विज्ञहरूबाटै आयो भने पूँजीकृत गर्न सहयोग पुग्छ।”


नेपाल मण्डप

नेपाल मण्डपमा मिलान वर्ल्ड एक्स्पोका अवलोकनकर्ता।
दश रोपनी क्षेत्रफलमा फैलिएको २७ फीट अग्लो नेपाल मण्डपले उपत्यकाको प्राचीन बहाःको झल्को दिन्छ। यसबाहेक परम्परागत नेवारी बस्ती सुहाउँदा परम्परागत घर, उद्यान र ढुंगेधारा समेत निर्माण गरिएका छन्।

तीन वर्ष लगाएर निर्माण गरिएको नेपाल मण्डपको लागि आवश्यक ईंटा, ढुंगा, काठ लगायतका करीब ५०० टन निर्माण सामग्री नेपालबाटै लगिएको हो। आईईजी प्रमुख शाक्यका अनुसार मण्डपमा अहिलेसम्मकै उच्च करीब रु.६० करोड लगानी गरिएको छ।

सहभागी देशले पाएको कुल स्थानको २० प्रतिशतमा व्यापारिक क्रियाकलाप पनि गर्न सक्छन्। यस्ता भागमा विशेषगरी परम्परागत परिकार र हस्तकलाका सामग्री बिक्री गरिरहेका छन्।

यसपटकको प्रदर्शनीको विषय 'फिडिङ द प्लानेटः इनर्जी फर लाइफ' रहेको छ। खाद्यान्न र पोषणसँग सम्बन्धित भएकोले सहभागी देशहरूले खाद्यान्न उत्पादनमा गरिएका नवीनतम उपाय, प्रविधि तथा विज्ञता प्रस्तुत गरिरहेका छन्। आईईजीका प्रमुख शाक्य भन्छन्, “आधुनिक प्रविधिबाट उत्पादन गरियो भने नेपालका पोषिला र औषधीय गुणले भरिएका खाद्यान्न सिंगो विश्वले उपभोग गर्न पाउँछ भनी देखाउनु हाम्रो उद्देश्य हो।”

comments powered by Disqus

रमझम