१३-१९ भदौ २०७२ | 30 Aug - 5 Sep 2015

विन्डोज १०

Share:
  
माइक्रोसफ्टका अन्य अपरेटिङ सिष्टमभन्दा अब्बल मानिएको विण्डोज १०, चौबीस घण्टाभित्रै एक करोड ४० लाख पटक डाउनलोड भयो।

माइक्रोसफ्ट विन्डोज ८ र विण्डोज ८.१ को स्टार्ट मेनुमा अझै पनि अभ्यस्त भइनसकेकाहरु बारम्बार विण्डोज ७ को कमी महसूस गरिरहेकै छन्। टच कम्प्युटरमा चलाउन सजिलो होस् भनेर बनाइएको ८ र ८.१ मा सर्च गर्न, विन्डोज स्टोर चलाउन ७ भन्दा साँच्चै अप्ठेरो थियो। स्टोरबाट डाउनलोड गरिएका एप्लिकेशन मिनिमाइज गर्न नमिल्ने समस्याले दिक्दारी थप्थ्यो।

२९ जुलाईमा माइक्रोसफ्टले विण्डोज १० सार्वजनिक गर्दै यसअघिका सम्पूर्ण गुनासा सुल्झाउने प्रयत्न गर्‍यो। लाग्छ, ऊ आफ्नो प्रयत्नमा खरो उत्रिएको छ। बजारमा आएको २४ घन्टाभित्रै एक करोड ४० लाख पटक डाउनलोड भइसकेको छ। माइक्रोसफ्टको इतिहासमा यो संख्या अहिलेसम्मकै उच्च हो। प्राविधिकको नजरमा विण्डोज १० अहिलेसम्मकै उत्कृष्ट माइक्रोसफ्ट अपरेटिङ्ग सिस्टम भएको प्रतिक्रिया दिएका छन्।

इन्स्टल/अपग्रेड

२५ जुलाई पहिल्यै अनलाइनमार्फत विण्डोज १० रिजर्भ गरिसकेकाहरुको कम्प्युटरहरुमा त यतिवेला यो भर्सन शुरु भइसकेको हुनुपर्छ। इन्टरनेटको गतिका आधारमा सातासम्ममा फाइलहरु डाउनलोड हुन्छन् अनि सकिने बित्तिकै इन्स्टल हुन थाल्छ।

त्यसो त अर्को उपाय पनि छ, माइक्रोसफ्टको वेबसाइटमा विण्डोज १० का लागि पाइने मिडिया क्रियशन टुल डाउनलोड गरी अपग्रेड/इन्स्टल गर्न सकिन्छ, जसका लागि ८–१० घन्टासम्म लाग्न सक्छ। अपग्रेड नगरी विण्डोज १० को प्रोफेशनल भर्सन इन्स्टल गर्ने हो भने चाहिं रु.२० हजारसम्म खर्चनुपर्ने हुन्छ। पैसा पनि वेबसाइट मार्फत नै तिर्न सकिन्छ। जुनसुकै तरीकाबाट इन्स्टल गर्ने भए पनि कम्प्युटरमा कम्तीमा १ जीबी र्‍याम, १६–२० जीबी खाली ठाउँ भने हुनै पर्छ।

१० का १० विशेषता

७ र ८ को मिश्रण जस्तै छ, विण्डोज १०। यसको मुख्य आकर्षण चाहिं स्टार्टमेनु नै हो। स्टार्टमेनुमा ८ र ८.१ जस्तै महत्वपूर्ण एप्लिकेशन आइकन देखिने सुविधा त छँदैछ, ७ को जस्तै सजिलो स्टार्टमेनु छ।

विण्डोज १० मा डेस्कटप, ल्यापटप, विण्डोज फोन सबैमा एउटै तरीकाले एप्लिकेशन चलाउन मिल्छ। ल्यापटप या डेस्कटपमै पनि ट्याब्लेटमोडमा राख्न सकिन्छ।

अरु अपरेटिङ्ग सिस्टमभन्दा चाँडो खुल्ने विण्डोज १० मा माइक्रोसफ्ट विण्डोज फोनलाई ताररहित किबोर्ड, माउस र मनिटर जोडेर कम्प्युटर जस्तै चलाउन सकिन्छ।

विण्डोज १० मा भने डिफल्ट ब्राउजरका रुपमा नयाँ ब्राउजर एज राखिएको छ, जुन अरु भर्सनका विण्डोजमा इन्स्टल गर्न सकिंदैन। एजको गति समकालीन ब्राउजरभन्दा राम्रो छ।

७, ८ र ८.१ इन्स्टल भएको कम्प्युटरमा विण्डोज १० को होम भर्सन सित्तैंमा अपग्रेड गर्न सकिन्छ। यसका लागि अपरेटिङ्ग सिस्टम सक्कली हुनु जरुरी पनि छैन। नयाँ कम्प्युटरमा इन्स्टल गर्न भने २० हजार रुपैयाँसम्म खर्च गर्नुपर्छ।

माइक्रोसफ्टले सन् २०२० सम्ममा ७ र २०२३ सम्ममा ८ का सम्पूर्ण सपोर्ट सेवा बन्द हुने जनाएको छ। तर, विण्डोज १० को आयु भने २०२५ को अन्त्यसम्म हुनेछ।

आईओएसमा सिरी र गुगल एन्ड्रोइडमा भ्वाइस सर्च गरे जस्तै विण्डोज १० मा बोलेरै कम्प्युटर वा इन्टरनेटमा भएका कुरा खोज्न सक्ने कोर्टोना नामक सुविधा राखिएको छ। अहिलेलाई नेपालमा यो सुविधा उपलब्ध नभए पनि भविष्यमा सेवा विस्तार गर्ने संकेत माइक्रोसफ्टले दिएको छ।

कम्प्युटरमा गेम खेल्न चाहिने डाइरेक्ट एक्स १२ सफ्टवेयरको नयाँ भर्सनले पनि विण्डोज १० लाई विशेष बनाएको छ, जुन अघिल्लाका तुलनामा ४० प्रतिशत द्रुत छ।

विण्डोज १० को डिस्प्ले गुुणस्तर पहिलेका भर्सन भन्दा उत्कृष्ट छ। डेस्कटप, विण्डोज एक्सप्लोरर लगायतका सेटिङ्ग अक्षरको रंग, छायाँ र चित्रहरुका कारण पहिलेभन्दा सुन्दर देखिन्छन्। टास्कभ्यू अप्सनले सबै एप्लिकेशनसम्म पुग्न सहज र सजिलो बनाएको छ। डेस्कटपको दाहिनेतर्फ एक्सन सेन्टर नामक नोटिफिकेशन बार राखिएको छ जहाँ भाइबर, फेसबुक, ट्वीटर या अन्य एप्लिकेशनमा आएका नोटिफिकेशन हेर्न सकिन्छ।

१० ८ मा जस्तै विण्डोज १० मा पनि आफ्नै निःशुल्क विण्डोज डिफेन्डर नामक एन्टिभाइरस छ। दिनदिनै नयाँ भाइरस बनिरहने हुनाले डिफेण्डरलाई अपडेट भने गरिरहनुपर्छ।

तर, हतारिएर विण्डोज १० हालिहाल्नु बुद्धिमानी नहुने तर्क पनि धेरैको छ। यो भर्सनमा समयसमयमा टास्कबारबाट आइकन हराउने, स्टार्ट मेनु नचल्ने, विण्डोज स्टोर नखुल्ने जस्ता केही समस्या देखिएका छन्। तर, माइक्रोसफ्टले ती समस्या समाधान गर्ने बताएको छ।

गणेश आचार्य

comments powered by Disqus

रमझम