छोरीसँग 'इभिल' का कुरा

Share:
  
- डा. सरोज धिताल

प्रिय छोरी,

नयाँ वर्षको सुरुआतमै अनेक अप्रिय घटना र यथार्थको साक्षी हुनु परेको छ हामीले। यी सबले तिम्रो युवा मनमा पारिरहेका प्रभावको म अड्कल मात्र काट्न सक्छु। हामी बाबुछोरीको संवादमा अचेल जे–जस्ता विषयवस्तुले प्राथमिकता पाउन थालेका छन्, तिनले पनि तिम्रो मन–मस्तिष्क पढ्न सघाइरहेका छन्। यो समयको कटु यथार्थले जन्माएको पीडा हामी सबैले भोगिरहेकै छौं। यो पीडाबीच पनि तिमी जसरी हुर्किरहेकी छ्यौ, जति गहिरो चिन्तनतर्फ उन्मुख भइरहेकी छ्यौ, त्यो देख्दा मलाई गहिरो सन्तुष्टिको अनुभव हुन्छ। 

p26
 
तस्वीरः बिलाश राई

आफू भर्खरै किशोरावस्थामा प्रवेश गरेको बेलाको सम्झ्ना छ तिमीलाई? कति अप्ठेरो बेला हुन्छ हगि त्यो! एकातिर हरेक दिन नयाँ ज्ञान आर्जन भइरहेको हुन्छ, आफू पहिले भन्दा कता हो कता सक्षम भएको जस्तो लागिरहेको हुन्छ। अर्कोतिर हरेक किसिमले अभिभावकमाथिको निर्भरता ज्यूँका त्यूँ रहिरहेको हुन्छ। अनि यस्तो विरोधाभासपूर्ण मनस्थितिबीच थरीथरीका मानिससित अनेक सम्बन्धमा बाँधिनु परिरहेको हुन्छ। घरी म नै संसारको अधिपति हुँ, म स्वतन्त्र छु, म सक्षम छु भन्ने भाव आउँछन् घरी नै क्रोध, ईर्ष्या, द्वेष, निराशा जस्ता भावले सताउँछन्। संवेगका अनेकन छालहरू एकैचोटि ओइरिएर किशोरावस्थामा नै आउँछन्। त्यो अवधिबाट तिमी जस्तै म पनि पार भएको छु। किशोरावस्थामा प्रवेश गरेको तिम्रो र मेरो युग फरक भए पनि त्यो वयको विरोधाभासपूर्ण मनस्थिति भने उस्तै हो। 

तिमी १४–१५ वर्षकी हुँदाको केही कुरा अहिले सम्झिरहेको छु। त्यो बेला पनि बेलुकी खाना खाने बेलामा वा सुत्नुअघि अहिले जस्तै हाम्रो परिवारमा अनेक गफगाफ हुन्थे। त्यस्तो बेला जीवन र समाजबारे अलि गहिरो कुरा हुन थालेपछि तिमी र्झ्कोफर्को गर्दै बाहिर निस्कन्थ्यौ। कहिलेकाहीं त घरमा पाहुना आएकै बेलामा पनि अप्ठ्यारो हुने गरी त्यस्तो प्रतिक्रिया दिन्थ्यौ। त्यो उमेरमा सम्भवतः तिमी आफ्नो कुरा सुनिदिने, बुझ्िदिने, आफूमा आइरहेका उतारचढावको वास्ता गरिदिने, आफ्ना सपनाबारे चासो राखिदिने मानिसको खाँचो अनुभव गर्दी हौ। अहिले मलाई लाग्छ, हामीले त्यो आवश्यकता पूरा गर्न सकेका थिएनौं। हामी खाली कारण नबुझ्ी अनेक अड्कलबाजी गर्थ्यौं र तिम्रो भविष्यबारे चिन्तित हुन्थ्यौं। 

अहिले विभिन्न घटना–प्रक्रियाप्रति तिम्रो कौतुहलता मात्र हैन विचार सुन्दा, पढ्दा मलाई अचम्म लाग्छ। कति हुर्किइसकिछ्यौ तिमी! तिम्रो बुद्धिमत्तापूर्ण सुझावहरूले मलाई त्यसै त्यसै प्रफुल्ल बनाउँछ, गर्वानुभूति हुन्छ। अब तिमी साँच्चै ठूली भयौ।

जीवनका कटु यथार्थहरूबारे कुन उमेरदेखि सोच्न थाल्नु मनोविज्ञानका हिसाबले उचित हुन्छ, मलाई थाहा छैन। तर, हाम्रो जस्तो समाजमा चाहेर–नचाहेर, उचित–अनुचित जे भए पनि केटाकेटीहरू निकै कलिलो उमेरदेखि नै वरिपरिको यथार्थबारे सोच्न बाध्य हुन्छन्। तिमी त ठूली भइसक्यौ, जीवन र समाजको अँध्यारो–उज्यालोबारे नसोची सुखै छैन। जीवनले दिएका एक–एक सुन्दर कुराहरूप्रति कृतज्ञ हँुदै त्यसमा रमाउन सक्नुपर्छ। जीवनमै आइपर्ने दुष्टताका अनेक स्वरुपलाई चिन्न र जुध्न पनि सक्नुपर्छ। 

दुष्टता अत्यन्त कुरुप, डरलाग्दो, घिनलाग्दो र स्थूल रूपमा देखा पर्न सक्छ― बलात्कार, हत्या, डकैती, भ्रष्टाचार आदि। यस्ता 'देखिने' दुष्टता विरुद्ध युद्ध गर्न सकिन्छ र ठूलै मूल्य चुकाउनु परे पनि लड्न सम्भव हुन्छ। कुनै दुष्टता भने अत्यन्त सूक्ष्म र झ्ुक्याउने किसिमको हुन्छ। यस्तो सूक्ष्म 'इभिल' ले स्थूल रूपमा देखिने हर किसिमको अमानुषिकतालाई जन्माइरहेको, मलजल गरिरहेको हुन्छ। 'इभिल'को सूक्ष्म रुप चिन्न सजिलो हँुदैन। बाहिरबाट सौम्य देखिने, समाजमा सम्मानजनक स्थान ओगटिरहेको मानिस पनि शैतानको रूपमा प्रकट हुन सक्छ। 

कसरी चिन्ने त दुष्टलाई? उत्तर त्यति सहज छैन। हामीसँग दुष्टताको सर्वस्वीकार्य माप नभएसम्म दुष्टताका मिहिन रूपहरूलाई चिन्न र त्यसबाट जोगिन गाह्रो भई नै रहन्छ। त्यस्तो 'सर्वस्वीकार्य' माप नभए पनि धेरै मनोवैज्ञानिक र आध्यात्मिकहरूको चिन्तनले केही उपाय देखाएका छन्। 

स्कट पेकका किताबहरू प्रेमका बारे मात्र हैन, 'इभिल' बारे पनि निकै मननीय छन्। पेकका अनुसार, दुष्ट मानिसका खास चरित्रहरू हुन्छन् जसलाई राम्ररी नियाले देख्न, चिन्न सकिन्छ। उनी भन्छन्― दुष्ट त्यो हो जो आफ्ना गल्तीहरू लुकाउन, आत्मग्लानिबाट उम्किन र देखावटी आवरण कायम राख्न सधैं आफैंलाई ढाँटिरहन्छ, धोखा दिइरहन्छ। यस क्रममा ऊ अरूलाई पनि धोका दिइरहन्छ। 

समाजका सामु यस्तो दुष्ट अत्यन्त स्वस्थ, भलाद्मी, ज्ञानी देखिन सक्छ। तर ऊ धेरैसँग एकदमै राम्रो व्यवहार गर्दै खास खास मानिसलाई शिकार बनाइरहेको र आफ्नो दुष्टतालाई धेरैबाट लुकाइरहेको हुन्छ। ऊ प्रेमको आवरणमा भित्रभित्रै तीव्र घृणा गरिरहेको हुन्छ। उसको स्वत्वमै धोखा र छलकपट भएकोले ऊ यसो गर्न सक्षम हुन्छ। र, यो सब गरेर पनि ऊ आफ्नो देखावटी छविलाई सम्मानजनक बनाइरहेको हुन्छ। जीवनमा एक वा दुईचोटि मात्र पापकर्म गरेर बस्ने हैन ऊ। 

एक वा दुई चोटि पापकर्म गर्नेहरू त प्रायश्चित गरेर सप्रिन वा पुनर्जीवन प्राप्त गर्न सक्छन्। तर साँच्चै दुष्ट व्यक्ति लगातार अपराध गरिरहन्छ। उसका हरेक अपराध उत्तिकै भयावह, उत्तिकै घृणित र क्रूर नहुन सक्छन्। तर अपराध नगरी, अरूलाई दुख नदिई रहन चाहिं सक्दैन ऊ। सानै भए पनि अपराध गरिरहन्छ, अरूलाई दुःख दिइरहन्छ। पीडितको पीडाबाट ऊ आनन्दित हुन्छ। 

छोरी, नयाँ वर्षमा 'इभिल' को कुरा त्यति सुहाउँदो भएन होला। तर, तिमीले जीवनलाई जुन रूपमा गहिरिएर हेर्न, बुझन थालेकी छ्यौ, त्यो देख्दा मलाई तिमीसँगको संवाद तिम्रो सिंगो पुस्तासँगको संवाद हुने लागेर यो कुरा उठाएँ। अब बुद्धले मारलाई चिने झै, तिम्रो पुस्ताले 'इभिल' लाई चिन्नुपर्छ। याद राख, अहिलेको फोहोरी राजनीतिमा हुने गरेझै आफूइतरका विचार समूहलाई तुरुन्तै 'दुष्ट' को ट्याग लगाइदिइहाल्ने अनि आफैंतिर फर्केर चाहिं कहिल्यै समीक्षा नगर्ने हो भने थाहै नपाई आफू पनि शैतानका सिपाही बनिसकिएको हुनेछ।    

'इभिल'का सबै रूपमाथि विजयको शुभकामनासहित!

बुबा,


बुबालाई चिठी


मेरो पुस्ता नै निराश
नारायणी देवकोटा

बुबा,

तपाईंको पहिलो पत्रको जवाफ पठाउन नपाएर खिन्न भइरहेका बेला दोस्रो पत्र आइपुग्यो। म कुरा गर्न उत्सुक भए तपाईं खुशी हुने कुराले मलाई लेख्न घच्घच्यायो। 

शाही शासन ढालेपछिको उत्साह एक–दुई वर्षमै मर्दै गयो। अहिले म मात्रै होइन मेरो पुस्ता नै निरास छ। घरजम गर्ने र सन्तान हुर्काउने तपाईंको पुस्ताको टार्न नसकिने सल्लाहप्रति सचेत हुँदाहुँदै पनि हामी एउटा काममा ध्यानमग्न हुँदा अरू काम कता–कता छुटिसक्ने परिवेशको शिकार भयौं। आँधी जसरी आएको उमेरको समय राजनीतिक आन्दोलनको लागि छुट्याउँदा पढाइ कच्मचियो, त्यसलाई सम्हाल्दा जागिर छुटिसकेछ। यसरी सपना बिथोलिएका हामी अब आँधी जस्ता पनि रहेनौं। 

हरेक साँझ् झयाप्प बिजुली जाँदा मन एकतमासको हुन्छ। शाहीकालमा सरकारले लोडसेडिङको समय बढाउँदा क्याम्पस अगाडि टायर बालेर सडक जाम गरेका हामीलाई तपाईं, तपाईंको पुस्ता र प्राध्यापकहरूले लोडसेडिङ बढ्नुको सही कारण बताइदिनुभएन। अब यो अन्धकारमा भ्रष्टाचार, लुटपाट, हत्या, बलात्कारका घटना नरोकिने भए। आजकल म यस्तै कुराले आत्तिन्छु। बुबा, हाम्रो पुस्ताले यस्तो सोचेरै, भौंतारिएरै सकिनुपर्ने त हैन?

हो, यो अँध्यारोको बीचमा पनि अनुराधा कोइराला र पुष्पा बस्नेत सीएनएन हिरो भए। दिलशोभा श्रेष्ठलाई पनि यस्तै हिरो बनाउनुपर्छ भन्ने छलफल शुरू भएको छ। र पनि, राष्ट्रिय जीवनको हर क्षेत्रमा महामारी जसरी बढेको अनाचारको लोडसेडिङलाई समाजभित्रको यति उज्यालोले भ्याउला? नेताहरूको छवि १०० वाटको उज्यालोले पनि नउजिल्याउने गरी धमिलिइसकेको छ। 

१०० रुपैयाँमा व्यवसाय दर्ता गराउन सरकारी अड्डा धाउने नागरिकले घुस खुवाउन ५००० बोक्नुपर्ने अवस्था छ। बिरामीहरू डाक्टरको अगाडि पुग्दा उल्टो उपचार पो गरिदेलान् कि भनेर थर्कमान हुन्छन्। शहरको चोकमा अल्मलिएकी एक्ली युवतीले कसैसँग पल्लो टोलको बाटो सोध्न सक्दिनँ। महिलाहरू हरेक पुरुषको अनुहारमा बलात्कारी देख्न बाध्य छन्। सर्वत्र आलोचित नेताहरूले बिहान मुख धुन नपाउँदै कमाउ ठाउँमा सरुवा र बढुवादेखि जागिर, छात्रवृत्ति र अपराध जगतका 'डन' हरूलाई छुटाउनेसम्मका आग्रह गर्ने निर्लज्ज भीडको सामना गर्नुपर्छ। भन्नुहोस् त बुबा, यो भनेको हाम्रो सिंगो समाज नै भ्रष्ट भइसकेको संकेत हैन?

ममा अबको १०–१५ वर्षमा सन्तान पुस्ताबाट आउने यस्ता प्रश्नको सामना गर्ने साहस छैन। समाज नै लागिपर्ने हो भने त्यतिञ्जेलसम्म केही सय नेतालाई जनउत्तरदायी बनाउन सकिएला, तर यो पेशा–व्यवसाय, गाउँ–शहर र समाजलाई कसरी लोडसेडिङमुक्त बनाउने? बिरामीले डाक्टरको सेतो कोटमा स्वच्छता, महिलाले पुरुषको अनुहारमा भरोसा र जनताले प्रहरीको बर्दीमा सुरक्षा कसरी देख्ने? त्यसको लागि म र मेरो पुस्ताले के गर्न सक्छ? 

बुबाको अर्को पत्रमा उत्तर पाउने अपेक्षासहित! 

छोरी

 

comments powered by Disqus

रमझम