१३-१९ भदौ २०७२ | 30 Aug - 5 Sep 2015

कोर्नेलमा गोपाल अर्काइभ

Share:
  

त्यसो त अमेरिकाको कोर्नेल विश्वविद्यालयमा गोपाल योञ्जन यसअघि नै पुगिसकेका थिए, लक्ष्मण सिटौला मार्फत। सिटौला जसले योञ्जन र नारायणगोपालबारे लेखिएको 'मीतज्यू' पुस्तक कोर्नेलको पुस्तकालयमा दर्ता गराए। तर, योञ्जनको ७२औं जन्मजयन्तीका अवसरमा ९ भदौमा आयोजित कार्यक्रममा पत्नी रिञ्छेन योञ्जनले अर्को लोभलाग्दो कुरा सुनाइन्, कोर्नेलले 'गोपाल योञ्जन अर्काइभ' नै स्थापना गर्ने कुरा। कोर्नेल र रिञ्छेनबीच यसै महीना यससम्बन्धी सम्झौता भइसकेको पनि उनले बताइन्।

अर्काइभ स्थापनापछि योञ्जनका सम्पूर्ण सिर्जना, उनले प्रयोग गर्ने सामान, उनीबारेको श्रव्यदृश्य न्यूयोर्कस्थित कोर्नेल पुग्नेछ, जहाँ छुट्टै कोठा बनाई यसको संरक्षण गरिनेछ। “अब संसारभरकाले गोपाल योञ्जनका संगीतकर्मबारे थाहा पाउँछन्, सँगसँगै यसको संरक्षण पनि हुनेछ”, रिञ्छेन भन्छिन्।

भारतको दार्जीलिङमा जन्मी–हुर्की कर्मथलो नेपाल बनाएका योञ्जनले दुई हजारभन्दा बढी नेपाली गीतमा योगदान दिए। आधुनिक नेपाली संगीतमा अतुलनीय योगदान दिएका योञ्जन लगायतका विशिष्ट संगीतकर्मीको यस किसिमको अर्काइभ स्थापनाबारे नेपालमै पनि वेलावेला कुरा नउठेको होइन। तर, त्यो कुरैमा सीमित भयो।


रामबाबु समय

८ भदौमा घोषित चलचित्र समीक्षक अवार्डमा कबड्डी बाट दयाहाङ राईले उत्कृष्ट अभिनेताको पुरस्कार पाए। उत्कृष्ट चलचित्रको पुरस्कार पनि कबड्डी ले नै पायो। र, यही चलचित्रबाट निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले उत्कृष्ट पटकथाको पुरस्कार समेत हात पारे। यो जोडीले राष्ट्रिय चलचित्र अवार्डमा पनि पटकथामा उत्कृष्टता प्रमाणित गरेको थियो।

दयाहाङ र रामबाबुको यो घनिष्टताको पृष्ठभूमि भने धेरैलाई थाहा नहुन सक्छ। दयाहाङको पहिलो चलचित्र अनागरिक का निर्देशक यिनै रामबाबु नै थिए।
तर, दर्शकमा होइन, धेरै चलचित्रकर्मीका लागि समेत रामबाबु नयाँ लाग्दा रहेछन्। कतिपय अवार्डमा उनको नाम नवनिर्देशकका रुपमा मनोनीत भइरहेको छ। अनागरिक पछि र कबड्डी अघि उनले चलचित्र ब्लक लिभ, फेन्स आउट, र भेरी गुड लगायत सातवटा वृत्तचित्र पनि बनाइसकेका थिए।

रामबाबुलाई भने यो कुराप्रति खासै गुनासो छैन। उनी यसलाई दर्शक र चलचित्रकर्मीभन्दा आफ्नै कमजोरी ठान्छन्। “मेरा सबै काम आम दर्शकसामु पुर्‍याउन नसकेकै कारण यसो भएको हुन सक्छ” उनी भन्छन्, “नयाँ बन्नुको पनि आफ्नै आनन्द छ, अपेक्षा ठूलो राख्दैनन्।” कबड्डी कै सिक्वेल कबड्डी कबड्डी मंसीरमा प्रदर्शन हुँदैछ। स्वाभाविक हो, यसमा पनि दयाहाङ छुटेका छैनन्।


ऋचाका भावना

आजकल धेरैजसो रातहरू अनिंदोमै बित्ने गर्छन्, तिमीलाई सम्झिएर होइन, तिमीलाई बिर्सन नसकेको झोंकमा – एनिनोमस्। टि्वटरमा अभिनेत्री ऋचा शर्मा उति सक्रिय छैनन्। तर, जति टि्वट गर्छिन्, त्यसमा उनको सम्बन्धबारेका भावना झल्कन्छ।

'हो इजाजत तुम्हे तो एकबात पुछु? जो इश्क हम्से सिखा था, वो आजकल किससे करते हो?', 'अल्बेज रिमेम्बर द्याट द पर्सन, हु ब्रोक यु क्यान नेभर फिक्स्ड यु', 'कसैले मलाई सोध्यो कि चोटको मूल्य कति पर्छ, मैले भने मलाई थाहा छैन, कोही आफ्नोले सित्तैंमा दिएर गएको छ', एक महीनायता ऋचाले यस्ता अरु पनि टि्वट गरेकी छन्, जसले उनको हृदयको भाषा बोल्छ।

लूट, हाइवे, उमा, टलकजंग भर्सेज टुल्के जस्ता सफल र समीक्षकको नजरमा राम्रा चलचित्रकी नायिका उनले भर्खरै मात्र उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार समेत जितेकी छन्। लामो समय अभिनेता विनय श्रेष्ठसँगको सम्बन्धबाट अलग भएको सार्वजनिक रुपमै बताएकी उनको नाम निर्देशक निश्चल बस्नेतसँग पनि नजोडिएको होइन। तर, उनका टि्वटहरूले उनले माया बिर्सन नसके झै संकेत गर्छ।

comments powered by Disqus

रमझम