१३-१९ भदौ २०७२ | 30 Aug - 5 Sep 2015

ताकाशीको नेपाल सपना

Share:
  
जापानी नागरिकता त्यागेर नेपाली बनेका ताकाशी मियाहारासँग ८१ वर्षे उमेरमा पनि देश बनाउने अनेक योजना छन्।

“जापानमा एउटा उक्ति छ, अरुले नगरेको काम गर्न तपाईं जवान र मूर्ख हुनैपर्छ”, २८ वर्षको उमेरमा सन् १९६२ मा नेपाल आएपछि यतै भुलेका ताकाशी मियाहारा भन्छन्।

युद्धको विभीषिका भोगेपछि तीव्र गतिमा पुनःनिर्माण र औद्योगीकरणतर्फ बढेको त्यसवेलाको जापानभन्दा भिन्न नेपालको प्राकृतिक सौन्दर्य र हिमालको मोहमा लपक्कै भिजेका यी पर्वतारोहीले नेपाली युवतीसँग घरजम र पर्यटन व्यवसाय शुरु गरे। पढ्न चाहिं उनले रसायन र मेकानिकल इन्जिनियरिङ पढेका थिए।

'यहाँ केही हुँदैन' भन्दै नेपालीहरु पश्चिमा देशतर्फ लागिरहेका वेला सन् २००६ मा मियाहाराले जापानी नागरिकता त्यागे, नेपाली टोपी लगाए र नेपाल राष्ट्रिय विकास पार्टी खोले। जनताका आवश्यकताप्रति सरकारलाई उत्तरदायी बनाउने संस्कृतिको विकास गर्न चाहन्छन् उनी। 'के गर्ने' भन्दै केही नगर्ने नेपाली मानसिकता उनलाई पटक्कै मन पर्दैन।

मियाहाराको हरेक कामगराइ फरक छ। खुम्बू क्षेत्रको मौलिक आकर्षणबारे सबैले कुरा मात्रै गरिरहेका वेला उनले सन् १९७५ मा ३,८८० मीटर उँचाइमा होटल एभरेष्ट भ्यू खोले। स्याङबोचेमा विमानस्थल बनाउन सरकारलाई दबाब दिनेमा उनको सक्रियता उल्लेख्य थियो। विदेशी पर्यटकमाझ्ा नेपाली पर्यटन बजार विस्तार गरे। उनको होटल नेपालको पर्यटन व्यवसायमा वैदेशिक लगानीको नमूना बन्यो। त्यसपछि मियाहाराले ट्रान्स हिमालयन टुर्स सञ्चालन गरे। टुर्सले वर्षेनि एक हजारजति जापानी पर्यटक नेपाल भित्र्याउन थाल्यो।

मियाहाराले जहिल्यै ठूलो सपना देखे। पर्यटन, पूर्वाधार, ऊर्जा र प्रकृति संरक्षणमा नेपाली अधिकारीलाई जहिले पनि उत्साही बनाउने प्रयास गरिरहे। असफलता र सरकारी उदासीनताका बाबजूद उनले जापानी ट्रेडमार्क दृढताका साथ कायम राखे।

नेपालका ७५ वटै जिल्ला पैदल यात्रा गरिसकेका मियाहाराले नेपाललाई यहीं जन्मेका कतिपय नेपालीभन्दा बढी बुझेका छन्। नेपालको भविष्यका लागि उनको दृष्टिकोण नेपाली भूमि र यहाँका जनताको अन्तरंग ज्ञानमा आधारित छ।
मियाहारा काठमाडौंको तनाव कम गर्न नारायणगढलाई राजधानी बनाउने, पूर्वपश्चिम रेलमार्ग निर्माण, त्यससँग जोडिने उत्तरदक्षिण सडक मार्ग, जलविद्युत्, खानेपानी र पर्यटनको गुरुयोजना सुनाउँछन्। उनको दलको घोषणापत्रमा यी सबै योजना परेका छन्। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनको दलले एउटै सीट पनि जितेन। २०७० सालको निर्वाचनमा उम्मेदवारी नै दिएन। तर, मियाहारा परिवर्तनको अजेण्डाबाट थाकेका छैनन्।

आठ दशक लामो जीवन संघर्षबाट पनि मियाहारा थाकेका छैनन्। कामबाट अवकाश लिएका छैनन्। धेरैको अनुमान विपरीत उनी विभिन्न योजनामा सक्रिय छन्। एभरेष्ट भ्यू होटल र पाटनमा हिमालय होटलपछि अहिले उनी कास्कीको सराङकोटमा होटल अन्नपूर्ण भ्यू स्थापनामा जुटेका छन्। यो होटल अर्को वर्षदेखि सञ्चालन गर्ने उनको योजना छ।

“५० वर्षअघि म नेपाल आउँदा सिंगापुर, ब्यांकक् र काठमाडौंको विकास अवस्था उस्तै उस्तै थियो”, मियाहारा भन्छन्, “तर राजनीतिक असफलताले नेपालको यो हालत भयो।”

कर्मा गुरुङ

comments powered by Disqus

रमझम