वर्षायाममा बाटो हिंडिनसक्नु हुन्छ। घाम लाग्दा धूलोले, पानी पर्दा हिलोले धुरुक्कै रुवाउँछ। धेरै वर्षदेखि समस्या उस्तै रहे पनि सडक विभागले खासै चासो नदेखाएको देख्दा अचम्म लाग्थ्यो। तर, 'गाह्रो ग्राभेल बाटो' (१६–१९ भदौ) पढेपछि कुरा स्पष्ट भयो। चारैतिर भ्रष्टाचार मौलाएको छ। नेता र मन्त्री देख्दा रीस मात्रै उठ्छ। जनतालाई अरू केही दिन नसके पनि बाटोमा आरामले हिंड्ने सुविधा त दिनु नि! हिलाम्मे र धुलाम्मे भएर गन्तव्यमा पुग्ने दिनको अन्त्य होस्।
जितबहादुर मुखिया, इमेलबाट
'भाइ फुटे गवार लुटे'
'विवेक अब राजनीतिमा' (१६–१९ भदौ) ले सदियौंदेखि घुलमिल भइबसेका हामी नेपालीलाई जातीयता वा साम्प्रदायिकताको नाममा तोड्न/फोड्न गाह्रो छ भन्ने कुरा छर्लङ्ग पार्यो। तर, नेतृत्वतह यसरी नै कमजोर भइरहेमा मौका छोपेर बसेकाले कुनै न कुनै दिन नेपाली–नेपालीबीच फाटो ल्याइछाड्नेछन्। अघिको नेपालमा कहिल्यै जात वा धर्मको नाममा कलह मच्चिएन भन्दैमा भोलि नहोला भन्न सकिन्नँ। त्यसैले संकटको घडीमा हामी एकढिक्का हुन आवश्यक छ। गरीब र निमुखा जनतालाई अनेकन् प्रलोभनमा पारी आपसी सद्भाव भाँड्ने र देश लुट्ने चलखेल शुरू भइसकेको छ। तर, यही वेला नेता, मन्त्री र सभासद् स्वार्थसिद्धिको ध्याउन्नमा लागेका छन्। 'भाइ फुटे गवार लुटे' भन्ने उखान बिर्सनुहुन्न। १२ वैशाखको भूकम्पका वेला जसरी हामी एकजूट भएका थियौं, संविधान जारी हुन लागेको यो ऐतिहासिक अवसरमा पनि त्यसरी नै जुट्नु आवश्यक छ।
केशव क्षेत्री, इमेलबाट
नियोजित र निन्दनीय
महाभूकम्पको झ्स्का भुल्न नपाउँदै टीकापुरको घटनाले पुनः सिरिङ्ग पार्यो। 'अप्रेशन टीकापुर' (१६–१९ भदौ) मा भनिए झैं घटना आकस्मिक वा परिस्थितिवश थिएन भन्ने स्पष्ट छ। सुरक्षाकर्मीको नियोजित हत्याले गृह मन्त्रालयको तागत र नेतृत्वमाथि प्रश्नचिह्न लगाएको छ। सुरक्षा निकायमा प्रवेश गर्न चाहनेहरू पनि यस घटनाले निरुत्साहित हुने सम्भावना छ।
मेरै छिमेकी भाइ 'टीकापुर घटनाका कारण प्रहरीमा भर्ना हुन आमाले दिइरहनुभएको छैन' भन्दै गुनासो गरिरहेका छन्। सुरक्षाकर्मी आफैं असुरक्षित हुनु राज्य निरीह भएको प्रमाण हो। यस्तो देशमा जनता कसरी निर्धक्क हुनसक्छन्?
शर्मिला श्रेष्ठ, इमेलबाट
थारूको काँधमा बन्दूक राखेर पड्काउनेहरू गौर घटनामा जसरी उम्किन नपाऊन्। यो घटना राजनीतिक मुद्दाको आडमा २०६४ सालमा गरिएको गौर नरसंहारकै पछिल्लो रूप हो। मुलुकमा मौलाएको दण्डहीनता नै यसको कारक रहेको जगजाहेर छ।
रामराजा अधिकारी, इमेलबाट
कुनै पनि बहानामा हत्यारा उम्किन नपाऊन्। उनीहरूलाई हदैसम्मको सजाय हुनुपर्छ। राजनीतिको नाममा अपराधीहरूलाई यत्तिकै छोडियो भने सरकारप्रति जनविश्वास हट्नेछ। पीडितमा बदलाको भावना जाग्न सक्छ।
कृष्ण आचार्य, इमेलबाट
जति दोषी हत्यारा छन्, त्यति दोषी सशस्त्र प्रहरी छ कि छैन? यस विषयमा छानबिन भएको छ कि छैन? मान्छे मार्ने आदेश त सशस्त्रले पाउँछ होला, तर मान्छे बचाउन कुन आदेशले छेक्यो?
रोमराज शर्मा, इमेलबाट
कैलाली घटनाको जति निन्दा गरे पनि कम हुन्छ। तर यसमा सिंगो थारू समुदायलाई मुछ्नु गलत हुन्छ। दोषी कारबाहीको भागीदार होस्। तर शान्तिपूर्ण आन्दोलन गर्दा बेवास्ता गर्ने सरकार र नेताहरू पनि कम जिम्मेवार छैनन्। प्रहरी र आन्दोलनकारी दुवै जनता हुन्। उनीहरूले नेताको स्वार्थका लागि ज्यान लिने र दिने गर्नु गलत हो।
अनिरुद्ध थापा, इमेलबाट
कैलाली र तराईतिर भइरहेका क्रूर घटनालाई राजनीतिक जामा पहिर्याएर छोप्ने दुष्प्रयास नगरियोस्। थारूका जायज माग छन् भने समाधान गर्नुपर्छ। वार्ता र समस्या सुल्झाउने नाममा नाजायज मागसँग झुक्न हुँदैन। हिमाल, पहाड, तराई एकअर्काका परिपूरक हुन्। संघीयतामा जाँदा हरेक प्रान्तले उत्तर–दक्षिण छुने गरी, विज्ञहरूसँग सल्लाह गरेर आर्थिक रूपले समृद्धिमा लैजाने प्रदेश बनाउनुपर्दछ।
दिनेश क्षेत्री, इमेलबाट
बधाई प्रियंका!
'समीक्षक प्रिय' (१६–१९ भदौ) बनेकोमा अभिनेत्री प्रियंका कार्कीलाई बधाई। प्रियंकाको अभिनयका आधारमा भन्ने हो भने उनी वास्तवमै यस पुरस्कारको लागि लायक थिइन्। यसले कलाकारलाई प्रोत्साहित गर्छ। योग्यले पुरस्कार पाउँदा नेपाली चलचित्रका हामीजस्ता शुभचिन्तक निकै खुशी हुन्छौं।
तारा तामाङ, इमेलबाट