२०-२६ भदौ २०७२ | 6-12 September 2015

...चोरी बन्नू प्राडा एक!

Share:
  
- महेश थापा

आदरणीय ड्याड हजुर,

भर्चुअल दण्डवत्!

भानु भट्टराई
विदेशी विश्वविद्यालयतिर टन्डेली नमारी भेजाको ढकनी नखुल्ने जिरह गर्दै फेरि छट्टुले घरखेत बन्धकी राख्ने गनगन थाल्यो भनेर इमेल डिलिट नहान्दिबक्सेला। त्यसो त हाम्रो सम्बन्ध 'स्पाम' गर्ने हदमा नपुगिसकेको विश्वास अटलै छ। लामो समयदेखि नेप्से झैं ढिकिच्याउँ खेलिरहेको मन झवाट्ट अडिंदा यो मोरो ज्याक्स उही जनकप्रसाद छोरोमा रूपान्तरित भएकोमा ढुक्क भैबक्सेला।

ड्याड, उल्टी गंगा कसरी बग्यो भनेर रिंगटा नछुटाइबक्सेला– म अब पढ्न विदेश नजाने नै भएँ। लन्ठुलाई कुन मसानले अँचेट्यो भन्दै मम् हजुर पनि जोखाना देखाउन नतम्सिबक्स्योस्। पल्लाघरे बैरागीदास अकेला अंकल हनुमान चालिसा पाठ गर्दा हुक्लान्, तर इम्पोर्टेड सर्टिफिकेटको महत्ता उजिल्याउन मैले भट्याइरहने प्रमुख तथा सहायक कारणहरूको फेहरिस्त मलाई अहिले'नि मुखाग्रै छ। पछिल्ला परिघटनाहरूले अकस्मात् छोराको आँखा उघारिदिएको मानिबक्सेला।

आधुनिक पढाइ प्रणालीको कडी भनेकै 'एनी हाउ, पद पड्काऊ, दाम कमाऊ' हो। नेपालको शैक्षिक क्षेत्रमा उकेरा लाउने भत्कोसेहरूको लहलहैमा लागेर कसो विदेशतिर अधमरिएनछु। प्रतिकूल वातावरणमा मिल्न जान्ने टाठो जीवले नै ज्यान धान्ने गुत्थी डार्विन बाजेले बतियाएका थिए। मैले पनि यही वातावरणमा श्रेष्ठता हासिल गर्ने अक्कल फुराएँ। तपाईंको छोरो ज्याक्सले विदेशी विश्वविद्यालयमा डलरमा फी तिर्न रातभरि ग्यास स्टेसनमा खडेबाबा भई पाङ्ग्री नदुखाउने र रिसर्च पेपरको भाउँतोमा नपर्ने निर्णय लिएको छ। स्वदेशका फोटोकपी सेन्टरहरूसँग विश्वविद्यालयबाट हाताहाती डिग्री झार्ने ल्याकत छ भनेपछि किन त्यो टन्टा गर्ने, ड्याड? ह्वाई?

मास्टरको आँखामा फुलो पर्‍या छ र तँ मोराले डिग्री पाउलास् भन्दै पड्किन खोजिबक्से हजुर नेपाल प्रहरीको एसएलआर माफिक होइसिनेछ। गुरुवरहरू आफूले कुन विषयमा अनुसन्धान गरेको वा नगरेको भन्ने पहेलीमा परेर पहेंलिनुभएको छ भने विद्यार्थीको शोधपत्र कसरी हेर्न सक्नुहुन्छ? त्यसमाथि, नवनियुक्त भाइस चान्सलर त अझ् आफैंमा जिउँदोजाग्दो चान्स हुनुहुन्छ, कुन्नि कसको लेख सारेर घनघोर चर्चा प्राप्त गरेका। चिनजानै नभएका चोरहरूबीच त 'मौसेरा भाइ' को साइनो हुन्छ भने गुरु–चेलाको गठबन्धनमा गडबडीको कौनो गुन्जाइस नाईं, ड्याड।

जथाभावी खर्चेर अक्कल घटाउन नहुनेमा सतर्क यो ज्याक्सले बुद्धिको भाँडोमा घच्चा नदिई परीक्षामा नक्कल गरेरै करारको उप–प्राध्यापक पड्काउनेछ। सह–प्राध्यापक हत्याउन हडताल, आगजनी, तोडफोड, कालोमोसो जे–जे गर्नुपर्छ गरम्ला। त्यसको लागि झ्ण्डा दिने दल कति छन्, कति। त्यसपछि कसैको शोधपत्रमा सुटुक्क सेंध मारेर आफ्नो नाम चिप्काउनेछु, नयाँ भीसीले जस्तो। अनि हेर्छु– कुन माइकालालले 'डा.' फुर्को धारण गर्नबाट रोक्दो रहेछ। त्यहाँपछि झ्ण्डा ओढेर डन्डा घुमाउँदै राजनीतिक घट्टहरूको जल आचमन गर्दै केही काल गुजारेपछि प्राध्यापकको कुर्सी क्याप्चर हुने देखल छ। कदाचित्, पार लागेनछ भने अध्ययन/अनुसन्धानमा घोत्लिएर जिन्दगीलाई रसरंगको दुस्मन बनाउने जुम्साहरूले तयार पारेका लेख/रचनामा भीसीले जस्तै आफ्नो नाम राखेर जर्नलमा छपाएर खुँखार अध्येतामा दरिन्छु।

ड्याड, तपाईं भन्नुहोला, दिनदहाडै लुटेराको भाका बोल्ने कुलंगार जन्माएछु। तर, यो कर्मको दार्शनिक पाटो नबुझी बौद्धिक चोरी भन्दै कसैले सिनाजोरी गर्न मिल्दैन। ज्ञान र विज्ञान भन्ने वस्तु संसारको साझा हुन्छ। फेरि, बौद्धिक सम्पत्तिमा छ्याकन हान्नु र बाटोमा हिंडिरहेको कुनै बुङ्गाको जेब काट्नु एउटै कलाबाट सम्पन्न हुनसक्ने काम होइन। नत्र, सरकारले बौद्धिक चोरीमा कहलिएकालाई विश्वविद्यालयको उपकुलपति आसनमा कसरी विराजमान गराउन सक्थ्यो?

डियर ड्याड, यो कर्ममा अनेकन् काण्ड रच्दै एक न एक दिन कालोसूचीमा सूचीकृत हुने सफलता यो मोरोले हासिल गर्नेमा ढुक्क होइस्योस्। त्यही योग्यताको बलमा यो ज्याक्सले कुनै विश्वविद्यालयको भीसीमा दागा धर्नेछ। त्यहाँसम्म पुगे'सि भीसी नै नपाए पनि रेक्टर, डीन वा सेवा आयोगको जिम्दारी त कतै नजा! यस्तो 'फूलप्रूफ प्लान' मा त ड्याडको पनि असहमति नहोला। शुभकार्जेमा विलम्ब किन? भन्दै अहिल्यै कसैको शोधपत्र चाहिं नपठाइबक्सेला।

सुर्ताउनु पर्दैन, ड्याड। ढिलोचाँडो अनुभवले खारिएर ख्याक भए'सि ढीठ्याइँमा महारथ हासिल गरिन्छ। नाथे दाम्लो जति लामो बाटे पनि पस्यौटो र गाँठो उही हुन्छ भने'सि अहिलेलाई अध्ययनका लागि विदेश नजाने निर्णय गरेको दोहोर्‍याउँदै कुराको बिट मार्छु। त्यसअघिको लास्टाँ भन्छु– उद्देश्य के लिनु, चोरी बन्नू प्रा.डा. एक!

comments powered by Disqus

रमझम