मजलिसको आँखा– २१सानो टुँडिखेल

Share:
  
- क.दी.
आज हामी उपत्यकाको एउटा 'नाम मात्र बाँकी भएको' ठाउँको चर्चा गरौं।

सानो टुँडिखेल र त्यससँगैको सैनिक गट्ठाघर अब छैनन्, ती मासिइसके। अब तिनको ठाउँ 'दशरथ रङ्गशाला' र खेलकुद परिषद्को 'कम्प्लेक्स' ले लिएका छन्। हुन त 'सानो टुँडिखेल' भन्ने यसै पनि एउटा अस्थायी नाम थियो स्थानीयवासीले दिएको। त्यो सानो टुँडिखेल हुने नै थिएन, धीरशमशेर या महाराज रणोद्दीप सिंह केही वर्ष अरू बाँच्न पाएका भए। धीरशमशेरले महाँकालथानदेखि भर्दै पुर्दै ल्याएको टुँडिखेल त्यहीं आएर रोकिएको थियो १९३८ सालमा धीरशमशेरको मृत्यु भएपछि। त्यो टुँडिखेल बनाउन हुकुम दिने महाराज रणोद्दीपले पनि त्यस कार्यलाई त्यत्तिकै अलपत्र र अपूरो रहन दिने थिएनन् होला १९४२ सालमा उनको हत्या नभएको भए। टुँडिखेल त्यहाँ रोकिन्नथ्यो, दक्षिणतिर अझ् अघि बढ्दै जानेथियो त्रिपुरेश्वरसम्म नै। र त्यो स्थल 'सानो' विशेषण नलागेको सिङ्गो 'टुँडिखेल' नै हुनेथियो। गणितज्ञ पं. गोपालदत्त पाण्डेले टुँडिखेल पुर्न लाग्ने माटोको हिसाब गर्दा त्रिपुरेश्वरसम्म नै ल्याउने गणना गरेका थिए, (ऐलेको) रङ्गशालाको पर्खालसम्म मात्रको होइन।

पहिलेको सानो टुँडिखेल।

बिक्रम राई
अहिलेको दशरथ रंगशाला।

नभएका कुरा मात्र नगरी, भएका र मैले देखेका कुरा सम्झिऔं एकै छिन। त्यो सानो टुँडिखेलको उपयोग मैले पनि गरेको छु, क्रिकेट खेल्न। ठूलो टुँडिखेल भित्र पस्न पाइन्नथ्यो राणाकालमा। तर सानो टुँडिखेल खुला थियो जे जसो गर्न पनि। दरबार स्कूल अथवा त्रिचन्द्र कलेजबाट बेलुका घर फर्कंदा हामी पाटनतिर फर्किनेहरू त्यही सानो टुँडिखेल भएर फर्कन्थ्यौं। माथि ठूलो टुँडिखेलको डिलैडिल आएर त्यतैबाट तल झ्री सानो टुँडिखेलको आग्नेय (दक्षिणपूर्व) मा रहेको सानो गल्लीबाट त्रिपुरेश्वर निस्कन्थ्यौं हामी। माथ्लोबाट तल्लो टुँडिखेलमा र्झ्दा हामी साथीहरू कतिपटक चिप्लेर 'पुल्टुङबाजी' पनि खाएका छौं। हिजोआजका कसैलाई पनि थाहा होओइन राणाकालमा उपत्यकावासीलाई समयको बोध गराउन हरेक दिन दिउँसो १२ बजे तोप पड्काइन्थ्यो। त्यो प्रथा महाराज देवशमशेरले प्रारम्भ गरेका थिए क्यारे, उपत्यकामा तराईतिरका नेपालीहरूले तोप पड्केपछि 'देवशमशेर बोलतानी' भनेको मैले पनि सुनेको छु।

तोप त्यहीं टुँडिखेलको डिलमै राखेर पड्काइन्थ्यो। त्यो तोपलाई तल गट्ठाघरबाट गुडाएर, तानेर ल्याउँथे तीन–चार जना सिपाहीले। तोपलाई मिलाएर राखिसकेपछि सिपाहीहरू घन्टाघरमा १२ नबजुन्जेल पर्खन्थे। घन्टाघरमा बाह्र हान्न थालेपछि दुई जनाले 'एक दुई ...' भन्दै कराएरै गन्थे। एक जना चाहिं तोपको बारुदमा आगो झोस्न तयार हुन्थ्यो। आगो एउटा लामो बम्बाको टुप्पामा राखेको हुन्थ्यो। गन्नेहरूले 'बाह्र' भन्नासाथ आगो लिने सिपाहीले बम्बाको टुप्पाले तोपको पछिल्तिरको 'छुसी' मा छुवाइदिनासाथ मुस्लो धुवाँ निकाल्दै 'डुङ्ग' पड्किन्थ्यो। तोप पड्कने क्रियाको यस्तो नखशीख वर्णन मैले कसरी गर्न सकें भने यो प्रक्रिया मैले त्यही डिलको कुनामा उभिएर कति पटक देखेको छु। असाध्यै रमाइलो लाग्थ्यो हामी केटाकेटीलाई त्यो हेरिरहन।

यस प्रकरणमा आज वस्तुको भन्दा मेरो संस्मरण पो बढी भयो! उसो भए, संस्मरण–सँगालो नै बनाऊँ यसलाई अब। १२ बजेको तोपको सम्झ्ना अझ् अलिकति छन् मेरा। त्यो पनि भनिहालूँ, किनभने त्यस्ता पुराना कुरा सम्झ्ने मान्छे पनि अब धेरै पाइँदैनन्। घन्टाघरको घडीले बाह्र हान्ने कुरा गरें माथि मैले। त्यो १९९६ सालमा हामी गैह्रीधाराबाट पुल्चोक सरेपछिको मेरो संस्मरण हो, घर र स्कूल आवतजावत गर्दाको। अब त्यसअघिको यही १२ बज्दाको कुरा अलिकति सम्झ्ँ, घन्टाघर बन्दै गर्दाको। त्यस वेला पनि १२ बजेको तोप त चल्थ्यो नै।कसरी त? म सम्झ्न्छु। पुरानो ढलेको घन्टाघरको एउटा घन्टलाई काठका सत्तरीको धरालो बनाई झुन्ड्याएको थियो त्रिचन्द्र कलेजको परिसरमा उत्तरपट्टि।त्यसमा घन्टी हान्ने काम एक जनाले गर्थ्यो डोरीको सहायताले। घडीको हरेक घन्टा बजाइन्थ्यो कि बजाइन्नथ्यो म सम्झ्न्नँ तर दिउँसो १२ बजेको घन्टा पक्का बजाइन्थ्यो। मैले देखेको समेत छु घन्टा बजाएको। त्यसै घन्टको भरमा टुँडिखेलको डिलमा बसेका सिपाहीहरूले तोप पड्काउँथे। त्यो तोप पड्केको पनि हेर्थ्यौं हामी दरबार स्कूलका विद्यार्थी रानीपोखरीको डिलबाट! त्यहाँबाट तोप नदेखिए पनि धुवाँ देखिन्थ्यो बुङ्ग उडेको। दुई सेकेन्डपछि 'डुङ्ग' आवाज आउँथ्यो। त्यही हेर्न रमाइलो लाग्थ्यो हामीलाई।

घन्टाघर बनिसकेकै थिएन भने १२ बजेको कसरी भेउ पाउँथे त्यो घन्ट बजाउनेले? कसले भनिदिन्थ्यो उनीहरूलाई 'बाह्र बज्यो' भनेर? त्रिचन्द्र कलेजको 'फिजिक्स' विभागको जिम्मा रहेछ त्यो काम। त्यो मैले पछि कलेज गएपछि थाहा पाएको हुँ। 'घाम–घडी' (सन–डायल) बाट ठेगान गरिंदोरहेछ बाह्र बजेको चाहिं। त्यो सन–डायल त्रिचन्द्र कलेजको उत्तरपट्टि बगैंचामा जडिएको थियो दुई हात अग्लो वेदी बनाएर। मैले पनि देखेको हुँ त्यो घडी त्यहाँ। म पढ्न भनी त्रिचन्द्र कलेजमा छिर्दा भने त्यो 'घाम–घडी' झ्िकिसकिएको रहेछ।

आजको यो प्रकरण त 'दृश्य सम्पदा' नबनेर 'कार्य सम्पदा' अथवा 'कृत सम्पदा' पो बन्यो क्यारे!

comments powered by Disqus

रमझम