टीकापुर घटना: फरक आँसु उस्तै पीडा

Share:
  
- बच्चु विक
७ भदौमा कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा मारिने र मार्ने भनिएकाका परिवारजन समान पीडामा छट्पटाइरहेका छन्।

तस्वीरहरुः बच्चु विक
पति सुन्दर टीकापुर घटनामा पक्राउ परेपछि भावविह्वल पत्नी सीता कठरिया।
थरुहट/थारूवान आन्दोलनको क्रममा टीकापुरमा मारिएका एसएसपीसहित ८ प्रहरी र १८ महीने बालकका परिवारको जस्तै छ, त्यस घटनाका घाइते तथा आक्रमणमा संलग्नताको आशंकामा पक्राउ परेकाहरूको परिवारका आँसु पनि। दुवैतर्फ आँसु थामिएको छैन। एकातिर प्रियजन गुमेको पीडा र अर्कोतिर त्रासका आँसु बगिरहेका छन्।

थरुहट आन्दोलनकारीको आक्रमणमा घाइते भएर १० भदौको बिहान उपचारका क्रममा काठमाडौंमा मृत्यु भएका प्रहरी हवल्दार जनक नेगीकी श्रीमती नरमादेवीले १४ महीने छोरा हरिले बाबुलाई राम्रोसँग चिन्न पनि नपाएको बताइनसक्दै डाँको छाडिन्। छेउमै उभिएकी १० वर्षीया दिदी देवकी पनि रुन थालेपछि हरि पनि चिच्याए। कञ्चनपुरको झ्लारी पिपलाडी नगरपालिका–६ कसरौलस्थित घरमा आइरहेका आफन्तहरू पनि नेगी परिवारसँगै अझै आँसु बगाइरहेका छन्। आर्थिक अवस्था कमजोर रहेका वीरसिंह नेगी जेठो छोरो जनकको मृत्युपछि परिवारको 'आशा भरोसा सकिएको' बताउँछन्।

टीकापुरमा झ्डप हुनुअघि श्रीमती सृजनालाई फोन गरेर 'समय ठीक छैन, छोरीहरूसँग होशियार भएर बस्नू' भनेका सशस्त्र प्रहरी हवल्दार रामबिहारी चौधरीको त्यही नै अन्तिम बोली भयो। त्यसपछिको केही घन्टामै परिवारले समाचार सुन्नुपर्‍यो– 'सशस्त्र प्रहरी हवल्दार रामबिहारी चौधरीलाई ज्यूँदै जलाएर मारे।' त्यसयता ३५ वर्षीया सृजना घरी–घरी बेहोस भइरहेको रामबिहारीका दाजु घनश्याम बताउँछन्। बर्दियाको सोरहवा–९ दौलतपुरस्थित घरमा चौधरी परिवारको रुवाबासी रोकिएको छैन, जहाँ श्रीमती सृजना, १० र ७ वर्षकी छोरी तथा रामबिहारीका आमाबुबा छन्।

त्यही घटनामा मारिएका इन्स्पेक्टर बलराम बिष्टको झ्लारी पिपलाडी नपा–११ कलुवापुरस्थित परिवारको अवस्था पनि त्यस्तै छ। १६ भदौ बिहान इन्स्पेक्टर बिष्टको घरमा पुग्दा नातेदारहरू आउने क्रम यथावत् थियो। बैतडीको पुर्ख्यौली गाउँघर रौलेश्वरबाट उनका आफन्तहरू लगातारको बन्दका कारण ढिलो गरी आइपुग्दै छन्। तीन महीनाअघि दार्चुलाबाट धनगढी सरुवा भएका बिष्टले सेवाबाट अवकाश लिन ६/७ महीना मात्र बाँकी थियो। यी प्रहरी परिवारको अवस्थाबाट टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार ललितबहादुर साउद, प्रहरी हवल्दार श्यामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्दको परिवारको दुर्दशाको सहजै अनुमान लगाउन सकिन्छ।

त्यो घटनामा परेका अर्का इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदाले आफ्नो सबथोक सकिएको बताउन मात्र सकिन्। १५ भदौको दिउँसो कञ्चनपुरको बेलौरी नगरपालिका–३ स्थित घरमा आफन्त र छरछिमेकीले घेरिएकी उनी धेरै बोल्न सक्ने अवस्थामा थिइनन्। इन्स्पेक्टर केशवका बुबा प्रेमसिंह बोहरा सशस्त्र द्वन्द्वकालमा बेलौरीकै महाकाली बहुमुखी क्याम्पसको प्रमुख हुँदा माओवादीको अपहरणमा परेका थिए। दोस्रो संविधानसभा निर्वाचनताका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले माला पहिर्‍याएर पार्टी प्रवेश गराएका उनी अहिले उही माओवादीले उठाएको थरुहट/थारूवान प्रदेशको मागको आन्दोलनमा छोरो गुमाउनु परेकोमा अक्कनबक्क छन्। “बुढेसकालमा छोराछोरी गुमाउनु जत्तिको पीडा अरू कुनै दुःखमा हुँदैन”, प्रेमसिंह भन्छन्।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक बलराम बिष्टका छोराछोरी बसन्ती र गोविन्द तथा परिवारजन ।

टीकापुर घटनामा मारिएका १८ महीने टेकु साउदका आफन्तजन त लगातारको बन्द र कर्फ्यूका कारण आँसु बगाउन पनि एकठाउँ जम्मा हुन पाएका छैनन्। टेकुकी आमा यशोदा राम्ररी बोलचाल गर्न सकिरहेकी छैनन्। मौका छोपेर उनको घरमा आउने छरछिमेकीहरू कर्फ्यूको समय नजिकिएपछि आँखा पुछ्दै फर्किने गरेका छन्।

त्रासको आँसु

प्रहरीले टीकापुर र आसपासका गाउँबाट पक्राउ गरेका १९ मध्ये तीन जनालाई छाडेको छ। ९ भदौमा पक्राउ गरेर कर्तव्यज्यान मुद्दा चलाउने तयारी गरिएका ७ जनामध्ये मुनुवा–१ का सुन्दरलाल कठरिया (३७), दिलबहादुर चौधरी (२०), मुनुवा–५ का हरिनारायण चौधरी (२१) र दरख–६ नारायणपुरका रामजनम चौधरी (१७) आन्दोलनका घाइते हुन्। उनीहरूलाई टीकापुर अस्पतालबाट नियन्त्रणमा लिइएपछि अरू १२ जना घाइतेले पनि उपचार नपाएको थरुहट/थारूवान आन्दोलनका नेताहरू बताउँछन्।

घाइते भएका, आक्रमणमा संलग्न भनेर पक्राउ परेका, एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने डरले आन्दोलनमा सहभागी भएका सबैको परिवार अहिले त्रासमा छन्। घाइते छोरो हरिनारायण अस्पतालबाटै पक्राउ परेको खबर पाएपछि मूर्छा परेकी मुनुवा–५ शिवशक्ति मुक्त कमैया शिविरकी सोनिया डगौराले कमैया आन्दोलन जस्तै होला भनेर छोरो आन्दोलनमा गएको बताइन्। छिमेकीहरूका अनुसार, ग्यारेजमा काम गरेर परिवार पालिरहेका हरिनारायण साह्रै सोझा मानिस हुन्। प्रत्येक घरबाट कम्तीमा एक जना आन्दोलनमा जानुपर्ने नत्र एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उर्दी आएपछि आमा र बहिनी सीतालाई रोकेर उनी गएका थिए।
हरिनारायणको दाहिने खुट्टामा गोली लागेको छ। घाइते भएर साँझ्मा फर्केका उनलाई उपचार गर्न टीकापुर लग्दा कुटपिट गर्लान् भनेर आमा सोनियाले घरमै जडीबुटी लगाइदिंदै थिइन्। त्यही वेला एम्बुलेन्स लिएर आएका रेडक्रसकर्मीहरूले केही तलमाथि नहुने आश्वासन दिएर टीकापुर अस्पताल लगेका थिए। प्रहरीले धनगढी लगेर छोरालाई कुटपिट गरिरहेको, खान पनि नदिएको, उपचार नगरेको हल्ला आमा सोनियाको कानमा परेको छ। “त्यो वेलै उसको घाउ धेरै दुखिरहेको थियो”, यति भन्दै सोनिया रुन थालिन्।

मारिएका बालक टेकुकी फुपू दुर्गा साउद रुँदै ।

आमा नरमादेवी मूर्छा परेपछि रुँदै गरेकी प्रहरी हवल्दार जनक नेगीकी १० वर्षीया छोरी देवकी र १४ महिने छोरा हरि।

मुनुवा–१ कञ्चनपुरकी सीता कठरियाले पक्राउ परेका आफ्ना श्रीमान् सुन्दरले छोराछोरीसँग समेत कहिल्यै उच्च स्वरले नबोलेको बताइन्। त्यस्तो मान्छेले त्यत्रो प्रहरी मार्‍यो भन्नु नै पाप हुने उनको भनाइ छ। दुई सन्तानकी आमा सीतालाई १२ वर्षको छोरो सागरको उपचार गर्न नसकेको पीडामाथि कमाइ गर्ने श्रीमान् समातिएको पीर थपिएको छ। श्रीमान्सँग ९ भदौबाट उनको केही कुराकानी हुन पाएको छैन। छरछिमेकीले घरी–घरी सुनाउने नयाँ–नयाँ हल्लाले उनको मुटु हल्लाइरहेको छ। उनले सुने अनुसार, सुन्दरलाई प्रहरीले बेस्सरी कुटपिट गरेको छ, भगत (साधु) भएकोले अरूको हातको नखाने उनी यतिका दिनसम्म भोकै छन्। “मैले त के गर्ने, के नगर्ने”, सकी नसकी यति भनेर सीताले धर्धरी आँसु झारिन्।

पक्राउ परेका घाइतेका परिवारमा यो खालको पीडासँगै प्रहरीले परिवारका अरूलाई पनि समात्ने हुन् कि भन्ने त्रास व्याप्त छ। उनीहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गाउँ पसेको देख्दा भरसक भाग्ने ताकमा हुन्छन्। टीकापुर आसपासका धेरै थारू युवक भारत पसिसकेका छन्।

comments powered by Disqus

रमझम