२०-२६ भदौ २०७२ | 6-12 September 2015

सवारी निल्ने सडक: पहिरोमा प्रविधि

Share:
  
बुटवल―पाल्पा सडकको सिद्धबाबा खण्डमा पर्ने तीन किलोमीटर 'मृत्युमार्ग' छल्ने पाँच विकल्पमध्ये अहिलेलाई प्रविधि रोजिएको छ।

दीपक ज्ञवाली
सिद्धबाबास्थित पहिरो : अतिजोखिम क्षेत्रमा पहिरो रोक्न अष्ट्रियन प्रविधिको परीक्षण प्रयोगका लागि निरीक्षण गर्दै अष्ट्रियन तथा नेपाली भूगर्भविद्।
गुडिरहेका सवारी साधनलाई पहिरोले छोप्ने गरेको सिद्धबाबा सडक खण्डको 'मृत्युमार्ग' को रूपमा बद्नाम कुहिरेभीर क्षेत्रमा वर्षौंदेखि दिनहुँ कुनै नै कुनै क्षति हुँदैआएको छ। अन्यत्र भन्दा फरक प्रकृतिको यो खण्डको पहिरो रोक्ने संभाव्य प्रविधि खोज्ने क्रममा सडक विभागले अष्ट्रियन विशेषज्ञहरूलाई बोलाएको थियो। उनीहरूको अध्ययनपछि अष्ट्रियाको इन्जिनियरिङ सम्बन्धी संस्था टर्मरसँग प्रविधि प्रयोग सहमति भएको सडक विभागका उप–महानिर्देशक केशव शर्मा बताउँछन्। “टर्मरले आफ्नै खर्चमा पाइलट परीक्षण शुरू गर्दैछ”, शर्मा भन्छन्, “त्यो सफल भए नेपाल सरकारले लगानी गर्नेछ।”

एक वर्षअघि सिद्धबाबा क्षेत्रको अध्ययन गरेका भूगर्भविद् डा. रञ्जनकुमार दाहालले पहिरो रोक्न अष्ट्रियन प्रविधि उपयुक्त हुने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएका थिए। उनका अनुसार, अब अष्ट्रियन इन्जिनियरले नेपालीलाई मर्मतसम्भारको सीप पनि सिकाउनेछन्। यो प्रविधि सफल हुनेमा आफू ढुक्क रहेको डा. दाहालले बताए। “यूरोप, जापान, चीन र अरू केही देशले अपनाएको यो प्रविधि हामीकहाँ पनि सफल हुनेछ”, डा. दाहालले भने।

दाहालका अनुसार, यो प्रविधिले तीन किसिमबाट पहिरो नियन्त्रण गर्छ। पहिलो– रकफल बेरियर्स विधिले पहाडबाट ढुंगा खस्न दिंदैन भने दोस्रो हाई पर्फर्मेन्स रकनेट अन्तर्गत भीरलाई नै तारजालीले ढाकेर पहिरो रोकिन्छ। तेस्रो– डेब्री प्रो बेरियर्स विधिले भीरबाट र्झ्ने लेदो रोकिन्छ। सिद्धबाबा सडक खण्डको समस्या यही तीन खालको छ। यहाँ यो प्रविधि विल्कुलै उपयुक्त हुने देखिएको बताउँदै अष्ट्रियन विशेषज्ञ मार्कस हेडनले हिमाल सँग भने, “हामी यसलाई सफल पारेर देखाउन लागेका छौं।”

३१ साउन–५ भदौ २०७२ हिमाल मा प्रकाशित रिपोर्ट 'सवारी निल्ने सडक'।
१५ भदौमा सिद्धबाबा आएको हेडनसहितको अष्ट्रियन र नेपाली विशेषज्ञ टोलीले परीक्षणका लागि अति जोखिम क्षेत्रको एक भाग छनोट गरेको छ। टोलीमा रहेका डा. दाहालले अर्को साताबाट परीक्षण शुरू हुने बताए। उनका अनुसार, परीक्षण निर्माण दुई महीनामा सकिने भए पनि प्रविधि सफल वा असफल भएको पुष्टि हुन अर्को दुई महीना लाग्नेछ। यो परीक्षण परियोजनामा करीब एक करोड रुपैयाँ लाग्नेछ। यो प्रविधिको पूरा प्रयोग गर्न रु.२० करोड लाग्ने अनुमान छ।

बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा घाम वा पानी, हिउँद वा वर्षा जुनसुकै वेला ढुंगे पहिरो खस्छ। विशेषज्ञहरूका अनुसार, भीरमा घाम लाग्दा र पानी पर्दा पनि माटोले छाड्दा ढुंगाको पहिरो खस्छ। सिद्धबाबा क्षेत्रको यस्तो भीर भएको तीन किलोमीटर खण्ड छल्ने पाँच वटा विकल्पहरू बहसमा छन्– तीन वटा वैकल्पिक बाटा, सुरुङमार्ग र नयाँ प्रविधि। यी सबै विकल्पलाई अति महँगा र महत्वाकांक्षी मानिएको छ। सरकारले यस वर्षको नीति तथा कार्यक्रममा सुरुङमार्गको अध्ययन गर्ने भनेको छ। तीन किमी सुरुङमार्ग बनाउन रु.१५ अर्ब लाग्ने अनुमान छ।

तीन वटा वैकल्पिक बाटामा रूपन्देहीको खैरेनीबाट गोठादी, झ्डेवाहुँदै पाल्पाको बाँसटारी जोड्ने सडक, बुटवलबाट नुवाकोट (रूपन्देही) हुँदै पाल्पाको झुम्सा निस्कने सडक र चरङ्गेबाट ज्यामिरेहुँदै झुम्सा जोड्ने सडक। यी सबै लामा दूरीका विकल्प हुनेछन्। खैरेनी–बाँसटारी खण्डमा सामान्य ट्रयाक खुल्न लागेको छ, तर यो रुट ५० किमी लामो छ। दुई वटा पुल चाहिने नुवाकोट–झुम्सा सडक १९ किमी लामो हुनेछ भने चरङ्गे–बाँसटारी सडक १६ किमीको।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम