२०-२६ भदौ २०७२ | 6-12 September 2015

भविष्यको तस्वीर

Share:
  
- शेखर खरेल
दक्षिणएशियाली यू–१९ फूटबल प्रतियोगिता विजेता नेपाली टोलीका खेलाडी हेर्दा लाग्छ, उनीहरू मुलुकको जातीय एवं भौगोलिक बहुलताका इन्द्रेणी हुन्।

भानु भट्टराई
प्राकृतिक विपत् र मानवसिर्जित विग्रहको महासागरमाझ् खुशी स–साना टापु जस्ता हुँदारहेछन्। सुर्खेत, कैलाली, बारा, पर्सा, नवलपरासीका हिंसाबीच वियोगान्त चलचित्रको विज्ञापनिक विश्राम झैं नेपालीले एउटा खुशी साटासाट गर्ने मौका पाए– 'अन्डर–१९, सार्क फूटबल च्याम्पियनसिप' को उपाधिका रूपमा। शक्तिशाली भारतीय टोलीलाई हराउँदै नेपाली किशोरले कप उचालेसँगै क्षणभरकै लागि सही नेपालीमा खुशी छचल्कियो। नेपाली फूटबललाई २२ वर्षपछि यस्तो सफलता हात लागेको थियो। यसैबीच, मलेशियामा भएको 'एसीसी अन्डर–१९ प्रिमियर लीग' मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टोली 'एसीसी अन्डर–१९ एशिया कप' मा छनोट भयो। खुशीमा खुशी थपियो।

१२ वैशाखको महाभूकम्पपछिको यो समय पुनःनिर्माणमा खर्चिनुपर्ने हो। तर, मुलुकलाई मानवसिर्जित डढेलोले लपेटेको छ। हताहतीका खबर आइरहेका छन्। मारिनेमा कि 'अधिकार' को माग गर्दै प्रदर्शनमा उत्रिनेहरू छन् या त प्रदर्शनलाई 'नियन्त्रण' लिन खोज्ने सुरक्षाकर्मी। यी तिनै सुरक्षाकर्मी हुन्, जसले महाभूकम्पपछि उद्धारका वेला प्रदर्शन गरेको अदम्य साहस, मानवीयता र कर्तव्यपरायणताका लागि वाह्–वाही कमाएका थिए। संघीयताका लागि भनिएको आन्दोलन हिंसात्मक छ। मधेशीका लागि राजनीति गर्छौ भन्ने एउटा स्वार्थी समूह निर्बोध थारू र मधेशी उकासिरहेको छ। उनीहरू संभावित 'शहीद' का लागि ५० लाखको उधारो चेक बाँडिरहेका छन्। शताब्दीयौंदेखि सद्भाव र सह–अस्तित्वमा बसेका नेपालीबीच फूटको खाडल खनिएको छ। साम्प्रदायिक सद्भाव खलबलिएको छ।

१९ वर्षभन्दा मुनिका फूटबल र क्रिकेट टोलीको सफलता आसन्न कालो बादलबीच चाँदीको घेरा हो। जीतले हामीलाई स्वाभाविक खुशी दिएको छ। तर, विजेता टोलीको बनावट स्वयंमा अर्थपूर्ण छ। लाग्छ, खेल टोलीहरू मुलुकको जातीय एवं भौगोलिक बहुलताका 'बोन्साइ' रूप हुन्। भारतविरुद्ध फाइनल खेलिरहेका विष्ट, घर्तीमगर, सुवेदी, थापा, तामाङ, गुरुङ, लिम्बू, लामा, रसाइली, राजवंशी आदिले समग्र जाति र भूगोल प्रतिनिधित्व गरेका थिए। त्यहाँ कुनै पर्खाल थियो भने त्यो विपक्षी टोली थियो, जसमाथि अन्ततोगत्वा उनीहरूले विजय हात पारे। जति कौशल र जोश मैदानभित्र थियो, त्यो भन्दा कैयौं बढी उत्साह र समर्थन मैदान बाहिर र टेलिभिजन पर्दाका दर्शकमा थियो। उनीहरूको समर्थनमा के तराई, पहाड, हिमाल, के खस, जनजाति, मधेशी र दलित सबै चन्द्र र सूर्य ध्वजामुन्तिर एकाकार भएका थिए।

बिर्सनै नहुने सत्य, यी खेलाडी आफ्नै सीप र बुताले मैदान छिरेका हुन्। राजनीतिक भागबण्डाले आक्रान्त नेपालमा यदि 'मेरिटोक्रेसी' को नमूना कतै देख्न पाइन्छ भने मात्र यस्ता खेलमैदानमा। यहाँ नेता वा मन्त्रीको सिफारिशमा गोल हान्न, छक्का–चौका बटुल्न र विकेट ढाल्न सकिंदैन। न त यहाँ नातावाद, कृपावाद, जातीयता वा क्षेत्रीयताका आधारमा अवसर बाँड्न सकिन्छ। सबैलाई 'खेलको समान अवसर' (लेभल प्लेइङ्ग ग्राउण्ड) दिइएको हुन्छ, जुन कुरा हाम्रो प्राज्ञिक, निजामती, न्यायिक, संवैधानिक र सार्वजनिक क्षेत्रमा एकादेशको कथा बनिसकेको छ।

एकपटकमा एघार जना मात्र उत्रने फूटबल वा क्रिकेट खेलमा नेपालका एकसय पच्चीस जातिलाई एकैपटक अपेक्षा गर्न संभव छैन। जातिभन्दा पनि भूगोल र त्यस निश्चित भूगोलभित्रको खेलको लोकप्रियताले प्रभाव पारेको हुन्छ। उदाहरणका लागि, राष्ट्रिय फूटबल टोलीमा तराईको प्रतिनिधित्व तुलनात्मक रूपमा कम छ। तर, क्रिकेट टोलीमा तराई र मुसलमान समुदायको राम्रो उपस्थिति छ। १९ वर्षमुनिका किशोरहरू आज राजनीति गर्नेहरूका छोरा वा नाति पुस्ता हुन्। यस अर्थमा उनीहरू देशका भविष्य हुन्। बीपी कोइरालाले राष्ट्रिय योजना आयोगमा हलो जोतिरहेको गरीब किसानको तस्वीर झ्ुन्ड्याउन सुझाए जस्तै 'सनसेट करिअर' (अस्ताचल) मा पुगिसकेका रोगग्रस्त, थकित र असन्तुलित नेताहरूले कुनै निर्णय लिनुपूर्व यी किशोरहरूको समूह तस्वीर हेरे मात्र पनि भविष्यको नेपालको खाका प्रष्ट हुनेथियो।

comments powered by Disqus

रमझम