२०-२६ भदौ २०७२ | 6-12 September 2015

फालाफाल स्रोत

Share:
  
- जीवनप्रसाद राई
आन्दोलनको मौसम जस्तो बन्न पुगेको यो वर्षामा सल्यानको कपुरकोटसहित दाङ, प्युठान र रोल्पाका विभिन्न गाविस पुग्दा खेर गइरहेको हरित समृद्धिको सम्भावना नियाल्न पाइयो।

तस्वीरहरुः जीवनप्रसाद राई
रिट्ठाको रूख।
साउन दोस्रो साता दाङ उपत्यकाका विभिन्न ठाउँमा फलले भरिएका रिट्ठाका रूख झुलिरहेका थिए। साबुन, स्याम्पू, कस्मेटिक सामग्री र आयुर्वेदिक औषधिको सबभन्दा उत्तम कच्चा पदार्थ रिट्ठा दाङमा जताततै देखिए, त्यो पनि प्राकृतिक रूपमा सप्रिएका। यसको बजार राम्रो भएकाले कतिपय पौरखीले नर्सरी खोलेका रहेछन्। उनीहरूले बिरुवा रोपेकै साल फल्ने बहुवर्षीय बाली प्रविधि अपनाएको देख्दा जो–कोहीको जाँगर चल्छ।

तुल्सीपुरको टरिगाउँमा ठूल्ठूला दालचिनीका रूख पनि देखिए। दाङमा दालचिनीको जंगलै रहेछ, तर अलि–अलि मसला बनाउने बाहेक अरू प्रयोगमा नआएर त्यसै खेर गइरहेका। पात, हाँगा, बोक्रा, जरा सबै उपयोगी हुने दालचिनीको व्यावसायिक उत्पादनको तयारीले नेपालमा गति लिनसकेको छैन। दालचिनीको मदिरा उत्पादन गरेर विदेशी मुद्रा कमाउनेमा चिनियाँ अग्रणी छन्।

दाङको अलि माथिल्लो भेग हापुर, सोइगा, सिजा, काभ्रे र लोहारपानी लगायतका ठाउँमा टिमुरको भने व्यावसायिक रूपमा खेती हुँदैछ। यो क्षेत्रको टिमुरमा फ्रान्सेली र जर्मनहरूको रुचिले राम्रो काम गरेको छ। दाङको टिमुर जर्मनी र फ्रान्स निर्यात हुन थालेपछि देशी–विदेशी गैससहरूले उत्पादनमा किसानको व्यावसायिक ज्ञान–सीप बढाउन थाल्नु आफैंमा सुखद् हो। त्यसो त, एक लीटर टिमुरको तेललाई नेपालमै पनि रु.१५ हजारसम्म पर्छ। नेपाली अचार र परिकारमा टिमुरले राजा मसलाको रूपमा राज गरिआएको छ। दाङका वनहरूमा काउलो पनि प्रशस्त पाइँदोरहेछ। पूर्वी पहाडको किरात संस्कारमा पवित्र वनस्पति मानिने काउलो अगरबत्तीको कच्चा पदार्थ हो। यसबाट आयुर्वेदिक औषधि र सौन्दर्य प्रसाधन पनि बनाइन्छ।

यात्राको क्रममा दाङको सीमानामा पर्ने सल्यानको कपुरकोटमा टिमुर, रिट्ठा, काउलो, दालचिनी लगायतका हजारौं बिरुवा हुर्काउँदै गरेको हेर्न पाइयो। सरकारले वनस्पति कार्यालय मार्फत कपुरकोटमा स्थापना गरेको बिरुवा उत्पादन केन्द्रले नेपालको हरित संभावना उजागर गरेको छ। यस्तै, तुल्सीपुरमा पहिलो पटक मौरीपालनलाई नयाँपन दिइएको पाइयो, यूरोप–अमेरिकामा जस्तो रानो उत्पादन गरेर। यूरोपमा एउटा रानोलाई १५०० पाउण्डसम्म पर्ने बताइन्छ, तुल्सीपुरमा भने रु.११०० तोकिएको रहेछ। विश्वमा विविध कारणले मौरीको संख्यामा अत्यधिक कमी आएर खाद्य सुरक्षा र पर्यावरण सन्तुलनमा चुनौती बढेको वेला तुल्सीपुरका मदन केसीले थालेको यो काम निकै प्रशंसनीय छ।

दालचिनी।

चिउरीको साबुन।

दाङ सदरमुकाम घोराहीमा अर्को 'इन्नोभेटिभ आइडिया' मा काम भएको देखियो– अक्वारियममा रैथाने माछा पाल्ने। विदेशबाट आयातीत रंगीचंगी माछाका अक्वारियमले कोठा सजाउने चलन रहेकोमा घोराहीका युवक दीपक केसीले सौखिनहरूलाई ठूलो भएपछि खान पनि मिल्ने गरिको नेपाली माछाको सुलभ विकल्प दिएका छन्।

प्यूठाने श्रीखण्ड, रोल्पामा ट्रोफल

रातो मूलाको लागि नामी प्यूठान पुग्दा यो जिल्ला चिउरीको साबुनमा पनि चर्चित भएको पाइयो। मरन्ठानाको झिमरुक हर्बल साबुन उद्योगले उत्पादन गरेको साबुन जापान निर्यात भइरहेको रहेछ। चिउरीबाट कस्मेटिक सामग्री, जैविक विषादी, आयुर्वेदिक औषधि, वनस्पतिक घ्यू, वाइन आदि समेत बनाउन सकिन्छ। चिउरी खेतीलाई अगौटे र पछौटेमा विकास गर्न सक्दा वर्षको करीब आठ महीना मौरी चरण बन्छ। प्यूठान उद्योग वाणिज्य संघले रातो मूलाको पनि व्यावसायिक खेती र बीउ उत्पादनका लागि नयाँ पहल थालेको रहेछ।

प्यूठानकै दाखा क्वाडीमा श्रीखण्डको लोभलाग्दो जंगल हेर्न पाइयो। जिल्ला वन कार्यालय र स्थानीय वन उपभोक्ता समूहले श्रीखण्डको वनलाई तारबार गरेर सुरक्षित बनाएका छन्। स्थानीयले श्रीखण्डबारे थाहा नपाउँदा झ्न्डै सिद्धिएको यो वन अहिले हराभरा बनेको छ। पहिले यो वनको श्रीखण्ड गोठको घोचो, भैंसीको किलो, खुर्पाको बींड सबै बनेको गाउँलेले रमाइलो गरी बताए। अहिले त यहाँको श्रीखण्डको तेल प्रतिलीटर रु.३ लाखसम्ममा चीन निकासी हुन थालेको छ। यो व्यावसायिकतासँगै श्रीखण्डका निजी नर्सरी खुल्न थालेका रहेछन्।

कुनै समयमा १० वर्षे लडाइँको राजधानी बनेको रोल्पा अहिले ट्रोफल जस्ता नयाँ खेतीबाट नाम कमाउँदैछ। जिल्ला सदरमुकाम लिवाङ बजारबाट तीन घन्टा हिंडेर पुगिने गुरुङ गाउँ होम स्टे र मनकामना–३ मकैको बीउ उत्पादनबाट नामूद बनेको छ भने धवाङ, ह्वामा, मिरुल, घर्तीगाउँ लगायतका गाविसहरूमा भाँगो र अल्लोको व्यावसायिक खेती बढेको छ।

रानो मौरी।

ट्रोफल र काउलो (तल)।

रोल्पाली अल्लोको कपडा, जुत्ता, टोपी लगायतका सामग्री विदेश निर्यात भइरहेका छन्। थप अनुसन्धान र लगानी हुनसके यसले देशकै अर्थतन्त्रमा टेवा पुर्‍याउनेछ। विभिन्न खाले औषधिमा प्रयोग हुने भाँगोको तेल अति महँगो छ। तर, प्रविधि नहुँदा रोल्पाको भाँगो अचार बनाएर खाँदैमा सकिने गरेको छ। भाँगोको धागो उत्पादन पनि परम्परागत सीपमा सीमित छ। र पनि, यसको धागोबाट बनेका चकटी, झोला, कोट लगायतका वस्तु विदेश निर्यात हुने गरेका छन्।

थवाङमा नेपालको लागि विल्कुलै नयाँ ट्रोफलको खेती भइरहेको छ। त्रिभुवन विश्वविद्यालय र अजम्बरी जनकम्युनको सहकार्यमा शुरू भएको यो परीक्षण खेतीको अन्तिम नतीजा आउन अरू तीन वर्ष पर्खनुपर्नेछ, तर अहिलेसम्मको अवस्था सफलता उन्मुख छ। फ्रान्स, स्पेन र बेलायतमा मात्र हुने गरेको ट्रोफल अमेरिका, फिनल्याण्ड र चीनपछि नेपाल आइपुगेको हो, परीक्षण खेतीको रूपमा।
ट्रोफललाई धनाढ्यहरूले भाउ बढाबढमा किनेर खाने कृषि उत्पादन मानिन्छ। अन्तर्राष्ट्रिय बजारमा ट्रोफलको एक किलो ढुसीलाई पाँच हजार अमेरिकी डलरसम्म पर्ने जानकारी पाइन्छ। यसको जरामा जम्मा हुने ढुसी मात्र नभएर हाँगामा लाग्ने फल पनि महँगोमा बिक्री हुन्छ। परीक्षणमा रहेको ट्रोफल बाहेक उल्लिखित अरू सबै खेती नेपालमा उच्च व्यावसायिक सम्भावना भएका रैथाने रूख बिरुवाका हुन्। स्थानीय सम्भावनाको रूपमा रहेका यी वनस्पतिको गुणस्तरीय उत्पादन र प्रशोधनले नेपालको आर्थिक भविष्यमा गतिलो परिवर्तन ल्याउन सक्छ। खाँचो छ त केवल यी स्रोतसाधनलाई देशको सम्बल बनाउने दृष्टिकोण र जाँगरको। यसमा नीतिनिर्माताको तत्काल ध्यान जानुपर्छ। ल

comments powered by Disqus

रमझम