हामीले खाएको खाना पच्नको लागि मुखमा विभिन्न खाले र्याल (स्राव), पेटमा अम्ल (हाइड्रोक्लोरिक एसिड), कलेजोबाट पित्त, प्यान्त्रि्कयाज तथा सानो आन्द्राबाट विभिन्न ईन्जायम (पचाउन सघाउने रासायनिक पदार्थ) हरू उत्पादन हुन्छन्। यस्ता रसहरूमध्ये आमाशयबाट उत्पादन हुने हाइड्रोक्लोरिक एसिड जनित ग्यास्ट्राइटिस बढ्ता हानिकारक हुन्छ।
ब्रत वा अल्पाहार बस्दा वा लामो समयसम्म पेटमा खाना नहुँदा पनि आन्द्राबाट निक्लिने स्राव कम मात्रामा भए पनि निक्लिरहेको हुन्छ। ती अम्लीय पदार्थले खाली पेटको तहलाई असर गरी राताम्य बनाउने, चर्याउने, सुजन गराउने (सुन्निने) हुन्छ। यस्तो वेला स्वास्थ्यकर्मीलाई नजँचाइकन बु्रफेन, एस्पिरिन आदि खाइदियो भने ग्यास्ट्राइटिसको समस्या झ्न् बढ्छ। यो आगोमा घिउ थपे जस्तै हो। ब्रत बस्दा स्वास्थ्यलाई पनि ख्याल राख्नुपर्छ। ब्रत बस्दा विकल्पको रूपमा फलाहार, अल्पाहारका उपाय अपनाउन सकिन्छ।
कारण, रोकथाम र उपचार
ग्यास्ट्राइटिस हुनाको कारण विभिन्न हुन सक्छ, तर धेरैजसोमा लक्षण उस्तै हुन्छ। धेरैजसो ग्यास्ट्राइटिस हेलिकोव्याक्टर पाइलोरी नामको व्याक्टेरियाको कारण हुन्छ। यो व्याक्टेरियाले शुरूमा आमाशयको भित्री तहमा कडा खालको सुजन गराउँछ भने कालान्तरमा जीर्ण खालको ग्यास्ट्राइटिस बनाउँछ।
यस्तो वेला ब्रुफेन, बुसेट, एस्पिरिन, इन्डोमेथासिन, नेप्रोक्सिन, डिक्लोफेनेक लगायतका पीडा कम गर्ने औषधिको अधिक प्रयोग (दुरुपयोग) का कारणले ग्यास्ट्राइटिसको समस्या चर्काउँछ। यसका साथै फंगस, परजीवी, भाइरस लगायतका जीवाणु, एलर्जी, कतिपय औषधि, लागूपदार्थ (कोकेन), मद्यपान, पित्तको उल्टो बहाव, चिन्ता, विकिरण, विषाक्त खाना तथा घाउचोटका कारण पनि ग्यास्ट्राइटिस हुनसक्छ।
धेरै मानिसमा ग्यास्ट्राइटिस भइकन पनि झ्ट्टै लक्षण देखा परिहाल्दैन। बरु, अन्य कारणका लागि आमाशय (पेट) को भित्री तहको नमूना जाँच्न पठाउँदा ग्यास्ट्राइटिस भएको पत्ता लाग्छ। माथिल्लो पेट दुख्ने (निरन्तर वा पटक पटक पोल्ने, अँठ्याउने), वाक्वाकी लाग्ने, कहिलेकाहीं पखाला लाग्ने, खान मन नलाग्ने, पेट फुल्ने, डकार आउने, अपाच्य हुने आदि ग्यास्ट्राइटिसका लक्षण हुन्।
यस्ता लक्षण देखिएका बिरामीले पहिले उपचार गराइसकेको बताउन सक्छन्, तर इन्डोस्कोपीको माध्यमबाट आमाशयको भित्री तहको बायोप्सी गर्दा ग्यास्ट्राइटिस भएको पक्का हुन हुन्छ। धेरैजसोलाई हेलिकोव्याक्टर पाइलोरीकै कारण ग्यास्ट्राइटिस हुने भएकोले प्रभावित व्यक्तिको सास, रगत, दिसा, इम्युनोलोजी एवं पेटको भित्री तहको बायोप्सी गर्नुपर्छ। इन्डोस्कोपी गर्दा आमाशयको भित्री तह राताम्य भएको, घाउ (अल्सर) नै भइसकेको, रक्तस्राव भैरहेको छर्लङ्गै देख्न सकिन्छ।
ग्यास्ट्राइटिसको उपचार समयमै गरिएन भने यो समस्या जीर्ण बन्छ। समस्या जीर्ण बन्दा पेटभित्र घाउ बन्ने, अल्सर हुने, रक्तस्राव हुने, रक्त अल्पता हुने, खत बस्ने, आमाशय साँघुरिने, पाचन नलीमा अवरोध आउने (थुनिने), जल वियोजन हुने र आमाशयको क्यान्सर हुनसक्ने सम्भावना बढ्छ। मद्यपान वा पीडानाशक औषधि बन्द गर्नु भनेको आफैंमा रोकथामको रोकथाम हो। ग्यास्ट्राइटिस र संक्रमणबीच नजिकको सम्बन्ध भएकोले व्यक्तिगत सरसफाइ र सफा खानेकुराले ग्यास्ट्राइटिसलाई टाढै राख्छ।
हेलिकोव्याक्टर पाइलोरीको लागि उपयुक्त एन्टीबायोटिक औषधि नै चाहिन्छ। पीडानाशक औषधि र मद्यपानले यसमा विषको काम गर्छ। औषधोपचारले ग्यास्ट्राइटिसका लक्षणचिह्न कम वा निर्मूल गर्ने र आमाशयको भित्री तह पलाउने बनाउँछ। यसका लागि आमाशयबाट उत्पादित अम्ल (एसिड) लाई सामान्यीकरण गर्ने एन्टासिडर अम्लको उत्पादन नै बन्द गर्ने औषधि चलाउनुपर्छ। धेरैजसो व्यक्तिमा थोरै समय मात्र ग्यास्ट्राइटिसको लक्षण रहन्छ। सही उपचारले यसलाई पूर्ण निर्मूल गर्छ।