२०-२६ भदौ २०७२ | 6-12 September 2015

सिमेन्ट चिन्ने सूत्र

Share:
  
संरचनाको प्रकृति अनुसार सिमेन्टको छनोट र प्रयोग गर्न जान्ने हो भने जनधनको क्षतिबाट बँच्न सकिन्छ।

इन्टरनेट तस्वीर
आधुनिक पूर्वाधार निर्माणका लागि सिमेन्ट अनिवार्य भइसकेको छ। तर, सिमेन्टको गुणस्तरका साथै कस्तो निर्माणमा कुन सिमेन्ट प्रयोग गर्ने भन्ने ज्ञान नहुँदा संरचना कमजोर हुने र अनावश्यक खर्च बढिरहेको छ।

नेपालमा सबैभन्दा बढी ओपीसी (अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट) प्रयोग भइरहेको छ। ओपीसीपछि पीपीसी (पोर्टल्याण्ड पोजोलाना सिमेन्ट) को खपत बढी हुन्छ। त्यस्तै पीएलसी (पोर्टल्याण्ड लाइमस्टोन सिमेन्ट), आरएचपीसी (र्‍यापिड हार्डनिङ पोर्टल्याण्ड सिमेन्ट) र पीएससी (पोर्टल्याण्ड स्ल्याग सिमेन्ट) पनि बजारमा देखिन्छन्।

ओपीसी सिमेन्ट ठूला र चाँडै निर्माण सम्पन्न गर्नुपर्ने संरचनाका लागि प्रयोग गरिन्छ। छिट्टै जम्ने विशेषता भएको यो सिमेन्ट लामो समय फर्मामा राखिरहनु पर्दैन। अन्य सिमेन्टको तुलनामा ओपीसीको मूल्य केही बढी छ।

उत्पादकका अनुसार ओपीसीभन्दा आरएचपीसी चाँडै जम्ने मात्र नभई गुणस्तरीय समेत छ। यो सिमेन्ट ठूला बाँध, पुल, पानीभित्रको संरचनाका लागि उपयुक्त मानिन्छ।

पीपीसी राम्रोसँग जम्न कम्तीमा १४ दिन जति लाग्छ, ओपीसीलाई भने ७ दिन। पीपीसी र ओपीसीको क्षमता उस्तै भए पनि चाँडै जम्ने हुँदा ओपीसीको खपत बढी छ। घर र सामान्य संरचनाका लागि भने पीपीसी नै गतिलो मानिन्छ। कतिपयले बीम, पिलर, ढलान निर्माणमा ओपीसी र प्लास्टर, गारो जस्ता काममा पीपीसी प्रयोग गर्छन्।

कुनै वेला धेरै प्रयोग गरिने पीएससी भने अहिले कमै रुचाइएको देखिन्छ। पीएलसीमा चुनको मात्रा बढी हुन्छ। निर्माण प्रक्रियामा कार्बन उत्सर्जन कम हुने भएकाले ओपीसी र पीपीसी भन्दा पीएलसी वातावरण अनुकूल मानिन्छ। नेपालमै पीएलसी उत्पादन हुन थालेको भने भर्खरै हो।

ओपीसी र पीपीसीसँग 'एक्जोथर्मिक रेसियो' फरक भएकाले विशेषज्ञहरू पीएलसी प्रयोग भएको निर्माणमा अन्य सिमेन्ट प्रयोग नगर्न सल्लाह दिन्छन्। निर्माण भइसकेपछि भने ओपीसी, पीपीसी र पीएलसीको क्षमता उस्तै हुने उनीहरूको भनाइ छ।

सिमेन्टको गुणस्तर बुझन प्रयोगशाला परीक्षण नै उत्तम विधि हो। परीक्षण गर्न नसकेमा विशेषज्ञको सल्लाह भने लिनैपर्छ। त्यसो त हामीले प्रयोग गर्ने सिमेन्टको गुणस्तरको सामान्य परीक्षण घरमै पनि गर्न सकिन्छ।

सञ्जीव शर्मा

ध्यान दिनुपर्ने ११ कुरा

  • सबैभन्दा पहिले सिमेन्टको उत्पादन मिति हेर्नुपर्छ। उत्पादनको ६ महीनाभन्दा बढी भएको सिमेन्ट उपयोगका लागि राम्रो मानिंदैन।

  • डल्ला परेको वा गिर्खा भएको सिमेन्ट प्रयोग गर्नुहँुदैन।

  • सिमेन्ट हातमा लिएर चलाउँदा आपसमा जोडिने अर्थात् लेसिने हुनुपर्छ।

  • एक मुठी सिमेन्टलाई सानो भाँडोमा डुबाउँदा पानीमाथि खरानी तैरिए जस्तो हुनुहुँदैन।

  • सिमेन्टको रंग सामान्य भन्दा गाढा हुनुहुँदैन।

  • आधा किलो सिमेन्टलाई पीठो चाल्नीमा चाल्दा ९८ देखि ९९ प्रतिशत धूलो र्झ्नुपर्छ।

  • सिमेन्ट एकभाग, बालुवा दुई भाग र गिट्टी तीन भाग पानीमा मुछ्ने। मिश्रणलाई मगमा राख्ने र मग घोप्ट्याइदिने। ८ देखि १० मिनेटभित्र घोप्ट्याइएको मग झिक्दा ६० प्रतिशत मिश्रण ठाडै रह्योे भने उक्त सिमेन्ट गुणस्तरीय रहेको बुझनुपर्छ।

  • सुक्खा ठाउँमा सिमेन्ट भण्डारण गर्नुपर्छ। धेरै समयसम्म भण्डारण गर्नु उपयुक्त नभएकाले आवश्यकता अनुसार मात्रै खरीद गर्नुपर्छ।

  • वर्षायाममा सिमेन्ट ढुवानी गर्दा त्रिपालले छोपेर मात्रै गर्नुपर्छ। भिजेसँगै सिमेन्टको गुणस्तर नष्ट हुन्छ।

  • प्लास्टिक लेमिनेटेड बोरामा प्याक गरिएको सिमेन्ट किन्नुपर्छ। यस्तो बोरालाई हावापानीले खासै असर पुर्‍याउँदैन। किन्नुअघि बोराको तौल जाँच्नु जरूरी हुन्छ।

  • सिमेन्ट खरीद गर्दा नेपाल गुणस्तर चिह्न छ/छैन हेर्नुपर्छ। सरकारले गुणस्तर चिह्न नलिएका सिमेन्ट बिक्रीमा रोक लगाएको छ।

comments powered by Disqus

रमझम