२०-२६ भदौ २०७२ | 6-12 September 2015

मिडिया रुम

Share:
  
म्युजिक प्लेयर, होम थिएटर र मनोरञ्जनका अन्य साधन राखेर घरमा 'मिडिया रुम' बनाउन सकिन्छ।

इन्टरनेट तस्वीर
जीवनशैली फेरिंदो छ। तनाव पनि बढ्दो छ। यस्तोमा मनोरञ्जनका उपाय राम्रो साथी हुनसक्छन्। र, मानिसले यसबाट लाभसमेत लिइरहेका छन्। त्यसो त मनोरञ्जन स्वस्थ जीवनकै एक अंग हो, जसको अर्थ र परिधि व्यापक छ।

घरमै बसेर प्राप्त गर्न सकिने मनोरञ्जनमा गीत सुन्ने/गाउने, नाच्ने, खेल खेल्नेलगायत छन्। कतिका लागि पुस्तक पढ्नु पनि मनोरञ्जनकै साधन हो। यसका लागि घरमै 'मिडिया रुम' बनाउनु उपयुक्त हुने सुझाव भुक्तभोगीको छ।

डिस्कोथेक

पर्व, बिहे–ब्रतबन्ध वा पारिवारिक भेटघाट सबैमा नाचगान गर्ने त हाम्रो संस्कारमै छ। तर, पछिल्लो समय यस्ता अवसर विशेषमा मात्रै होइन, मन लागेमा जुनसुकै वेला नाचगान प्राथमिकतामा पर्न थालेको छ। अर्थात्, रमाइलोका लागि कुनै चाड वा उत्सव कुर्न छाडिएको छ। फुर्सदमा साथी, आफन्त भेला पारी घरमै 'पार्टी' आयोजना गर्ने चलन बाक्लिंदो छ। कतिपयका लागि पार्टी संस्कृति नै बनिसकेको छ। यस्ता सौखिनले घरमै डिस्कोथेक बनाएका पनि छन्।

“डिस्कोथेक बनाउँदा लिभिङ वा बेडरुमसँग नजोडिएको कोठा रोज्नुपर्छ”, इन्टेरियर डिजाइनर कल्पना भट्टचन भन्छिन्, “कोठा अलि अँध्यारै भए पनि फरक पर्दैन।” उनका अनुसार पार्टी गरिने कोठा अलि फराकिलो हुनुपर्छ। कोठालाई 'साउन्ड प्रुफ' गर्न सके अन्य कोठाका सदस्य वा छिमेकीलाई अवरोध पनि पुर्‍याउँदैन।

डिस्को बल, झिलिमिली बत्ती, म्युजिक प्लेयर, साउन्ड र ठूल्ठूला ऐना राखेपछि कोठा डिस्कोथेक बन्छ। “आजकल धेरैले घरमै डिस्कोथेक बनाउन थालेका छन्”, ठमेलस्थित फेसेज लाउञ्जका डिजे गणेश भन्छन्, “के, के सामग्री कसरी राख्ने भन्नेबारे हामीसँग सल्लाह पनि लिन्छन्।”

होम थिएटर

सामाखुसी, काठमाडौंका संजोग र सुस्मिता थापा दम्पतीले रु.२५ हजारमा फिलिप्सको वायरलेस एयरप्ले एण्ड ब्लुटुथ स्पिकर किनेका छन्। संगीतका पारखी उनीहरू थरीथरीका अडियो प्लेयर किन्ने गरेको बताउँछन्। “राम्रो स्पिकरबाट ठूलो आवाजमा गीत सुन्दा साह्रै मज्जा आउँछ”, सुस्मिता (२६) भन्छिन्।

'होम थिएटर' वा 'होल होम अडियो सिस्टम' ले पनि घरमा मनोरञ्जन दिलाउँछ। होम थिएटर राखेपछि फिल्म हेर्न हल धाइरहनु पर्दैन। चाहेकै फिल्म, चाहेकै समयमा हेर्न सकिन्छ। थिएटर रुममा साउन्ड प्रुफ प्यानल जडान गर्नुपर्छ। ध्वनि र प्रकाशको मात्रा पनि मिलाउनुपर्छ। भित्तामा झुण्ड्याउन मिल्ने टीभी, स्पिकर र प्रोजेक्टर भए होम थिएटर तयार हुन्छ। “खर्च गर्न सक्नेले थिएटर रुममा आधुनिक टेबल–कुर्सी पनि राख्न सक्छन्”, भट्टचन भन्छिन्।

गेम रुम

पुल टेबल, टेबल टेनिस, फूटबल टेबलदेखि भिडियो आर्केड गेम, पिनबल मेशिन आदि राखेर गेम रुम निर्माण गर्न सकिन्छ। कोठाको फ्लोरिङ र भित्ताको रङ भने गेम खेल्ने मेशिन वा टेबलको भन्दा अलग हुनुपर्छ। एउटै रङको भएमा अँध्यारो हुँदा ठोक्किने सम्भावना हुन्छ। साथै, भुईंमा मार्बल वा टायल ओछ्याउँदा गेम खेल्दा चिप्लिने सम्भावना हुन्छ। गेम रुममा जुकबक्स, एयर हकी, सफल बोर्ड आदि राख्न सकिन्छ।

प्रस्तुतिः सजना बराल

comments powered by Disqus

रमझम