२०-२६ भदौ २०७२ | 6-12 September 2015

पाप पखाल्ने वर्ष!

Share:
  
- सविता श्रेष्ठ/राजु मियाँ

सल्यानकोट, धादिङकी उमादेवी सिंखडा यतिवेला ललितपुरको गोदावरीमा भइरहेको सिंहस्थ मेला आइपुगेकी छन्। “१२ वर्षमा एकपटक लाग्छ”, उनी भन्छिन्, “भाग्यले आउन पाइएको छ, ठूलो पुण्य पाइन्छ।”

प्रत्येक १२ वर्षमा सिंह राशिमा सूर्य प्रवेश गरेसँगै शुरू हुने १२ वर्षे गोदावरी सिंहस्थ मेलामा हजारौं संख्यामा श्रद्धालु आइरहेका छन्। गोदावरीस्थित हरिसिद्धि भवानी मन्दिरका पुजारीले मध्यरातमा मूल (गोदावरी) कुण्डमा स्नान गरी सिद्धेश्वर महादेव मन्दिरको मूल ढोका खोलेपछि मेला प्रारम्भ हुन्छ। पुजारीले मन्दिरको ढोका बन्द गरेसँगै मेलाको समापन हुन्छ। महास्नान, महाध्यान र महाज्ञानको नाराका साथ सञ्चालन भइरहेको यो मेला भदौभरि चल्नेछ।

तस्वीरः बिक्रम राई

स्कन्द पुराणमा उल्लेख भए अनुसार वैदिककालमा महर्षि गौतमले गौ (गाई) हत्याको पापबाट मुक्ति पाउन १२ वर्षसम्म गोदावरीस्थित सिद्धेश्वर महादेवको तपस्या गरेका थिए। त्यही वेला गोदावरीमा उत्पन्न गंगा (जल) मा स्नान गरेपछि महर्षिको पाप मोचन भएको किम्बदन्ती छ। पाँचौं शताब्दीदेखि नै यही आस्थाका आधारमा गोदावरीमा मेला लाग्न शुरु भएको मेला व्यवस्थापन समितिका प्रचारप्रसार संयोजक श्याम घिमिरे बताउँछन्।

मेलामा आउने दर्शनार्थीले गोदावरी कुण्डमा स्नानपछि सिद्धेश्वर महादेव मन्दिरमा पूजा गर्छन्। यसो गर्नाले जानी/नजानी गरेको पाप नष्ट हुनुका साथै रोगव्याधी समेत नाश हुने जनविश्वास रहेको मन्दिरका पुजारी शम्भु पुरी बताउँछन्। स्नानका लागि कुण्डलाई महिला र पुरुषका लागि दुई भागमा विभाजन गरिएको छ।

गोदावरी नगर क्षेत्रमा गोदावरी कुण्ड, गौरी कुण्ड, सिद्धेश्वर महादेव मन्दिर, हरिसिद्धि भवानी मन्दिर, फुल्चोकी माई, नौधारा, पञ्चदेवल, अघोरनाथ गुफा, विशंखुनारायण मन्दिर, षड्क्षरी लोकेश्वर बुद्ध मन्दिर रहेका छन्। जैविक विविधतामा पनि गोदावरी क्षेत्र धनी रहेकोले धार्मिकसँगै पर्यावरणीय पर्यटनलाई महत्व दिइएको प्रचारप्रसार संयोजक घिमिरे बताउँछन्। “गोदावरीलाई पर्यावरणीय पर्यटनको गन्तव्य बनाउन सकिन्छ”, उनी भन्छन्। मेलाका निम्ति ललितपुरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ।

comments powered by Disqus

रमझम