नेपाली गीत–संगीतको क्षेत्रमा बुलु मुकारुङ जानिएको–मानिएको नाम हो। गीत लेख्ने, संगीत भर्ने, गाउने र रेडियो नेपालमा काम गर्ने बाहेक नेपाली लोक–संस्कृति तथा सांगीतिक परम्पराको क्षेत्रमा देखाइआएको प्राज्ञिक सक्रियताले पनि मुकारुङलाई मजाले चिनाएको छ। नेपाली गीत–संगीत र यसको विकासक्रमबारे गहिरो ज्ञान राख्ने उनले यो क्षेत्रको लागि एउटा महत्वपूर्ण प्रकाशन गरेका छन्, नेपाली संगीतको अभिलेख को रुपमा। उनको चौधौं कृतिको रुपमा आएको यो ग्रन्थले नेपाली गीत–संगीतको विकासक्रमबारे सपाट व्याख्या–विश्लेषण नगरेर यसका साधकहरूको अभिलेखको माध्यमबाट हिजो, आज र भोलिको स्थिति बताएको छ।
सुरुआतदेखि अहिलेसम्मका गीतकार, संगीतकार, गायक, संगीत समूह र वाद्य–वादकहरूको परिचयात्मक विवरण समेटिएको यो अभिलेखग्रन्थले ती साधकहरूको सिर्जना प्रवृत्तिमार्फत नेपाली गीत–संगीतको विकास र परम्परा बताउँछ। झ्ाट्ट हेर्दा गीताङ्गेहरूको सूचीकरण जस्तो लाग्ने ग्रन्थमा अभय मल्ल, अमर मल्ल र पृथ्वीनारायण शाह जस्ता नाटक तथा संगीत अनुरागी राजादेखि अगिमान बैजू, तीर्थराज मानन्धर र अमृतचन्द्रसम्मका बिर्सिएका वाद्यवादकसम्म समेटिएका छन्। उतिवेलादेखि शुरु भएको नेपाली सांगीतिक अभ्यास–परम्परामा भर्खरै जोडिन आइपुगेका नवकलाकारको जानकारी पनि छुटेको छैन। यसरी नेपाली गीत–संगीतको बृहत् इतिहास बन्न पुगेको छ, यो ग्रन्थ। यसअघि यो किसिमको अभिलेख सार्वजनिक नभएको कारण पनि मुकारुङको यो कृति विशेष महत्वको बन्न पुगेको छ।
पाँच खण्डमा विभाजित ग्रन्थमा लेखकले पाएसम्मका कलाकारहरूको तस्वीर पनि राखेका छन्। खण्डहरूभित्र पनि इतिहास–अभिलेखभित्रका संगीतकर्मी, आरम्भकालीन सुरकर्मी, २००० सालपछिका संगीतकर्मी, २०४० पछिका सुरकर्मी, २०४० पछिका अन्य सुर–संगीतकर्मी, नेपाल बाहिरका नेपाली संगीतकर्मी, शास्त्रीय गायन/वादन, लोक गायन/संकलन, भक्ति संगीत, बाँसुरी/तबला/सारंगी वादक, गिटार लगायतका आधुनिक बाजा वादक, हास्यव्यंग्य गायन/अभिनय, नेपाली गायनका विदेशी आदि अनेक उप–खण्डहरू छन्। उप–खण्डभित्रै समेटिएका छन्, राजनीतिक परिवर्तनका नेपाली संगीतकर्मीहरू। यसले ग्रन्थमा परेको मुकारुङको लगन र मिहिनेत देखाउँछ।
आफैं सांगीतिक व्यक्तित्व भएकोले मुकारुङमा आफ्नो क्षेत्रको बढी जानकारी र सार्वजनिक हितको लागि त्यसको अभिलेख राख्ने इच्छा हुनु स्वाभाविक हो। ग्रन्थ पल्टाउँदै जाँदा त्यसनिम्ति उनको मिहिनेत पनि खुल्दै जान्छ। यसमा उनले आफ्नो र समकालीन संगीतकर्मीहरूको ज्ञान–स्रोतदेखि प्राचीन काल र मध्यकालका इतिहास–अभिलेखसम्मको उपयोग गरेका छन्। लेखकले भोलिका अनुसन्धानकर्ताहरूको लागि भरपर्दो स्रोत तयार गरिदिएका छन्, ताम्रपत्र जस्तो। त्यसो त पाँचौं खण्डको अन्तिम उप–खण्डमा परेको 'थपिंदै गएका संगीतकर्मी' ले यो नै अन्तिम ग्रन्थ नभएको संकेत गर्छ।
ग्रन्थको कमजोरी भनेको विधागत गुणवत्ताबाट आफूलाई कलाकार सावित गरेका अविस्मरणीय सुरकर्मी र एकादुई गीत लेखेका, गाएका वा संगीत भरेकाहरूलाई लगभग समान स्थान दिनु हो। यसले मुकारुङलाई सबैको 'प्रिय' बनाएको हुनुपर्छ, तर पहिलो कोटिका कलाकारबारे पाठकको जिज्ञासाप्रति भने लेखकले न्याय दिनसकेका छैनन्।
आनन्द पी. राई
पुस्तक चिनारी
झन्डै १५ वर्षसम्म कमल दीक्षितले पाटन रोटरी क्लबको साप्ताहिक बुलेटिन ललितधारामा 'एउटा ठट्टा' स्तम्भ लेखेका थिए। 'कमल दीक्षितका लघुकथा' त्यहीं छापिएका ठट्टाहरुको संग्रह हो। संग्रहमा ६१ वटा लघुकथा समाविष्ट छन्।
'विश्व दृष्टि' नेपाल चिनाउन विश्व भ्रमण अभियानमा लागेका नवराज भट्टराई 'कोहम' र नारायणप्रसाद भट्टराई 'सोहम' को विचार संग्रह हो। लेखकद्वयले पुस्तकलाई 'विश्व दर्शन अनुभवमा आधारित जीवन र जगत्प्रतिको दृष्टि' भनेका छन्।
वान्तवा भाषामा नियामाबुङको अर्थ हुन्छ, बेमौसमी फूल। इलामका दिलेन्द्र मुकारुङ राई (दिलेन) ले यही शीर्षकमा गीति संग्रह निकालेका छन्। ५८ वटा गीत समावेश रचनामा राईले गाउँ, प्रकृति, भूगोल र बुबाआमालाई पटकपटक स्मरण गरेका छन्।
'आफैंभित्र' गजल संग्रहको भूमिकामा गजलकार बूँद रानाले लेखेका छन्– मान्छेले सबैभन्दा पहिले हेर्ने त आफैंभित्र हो। ६१ वटा गजल संग्रहित ढुंगानाको पुस्तकले उनलाई गजलमा आश गर्न सकिने स्रष्टाका रुपमा उभ्याएको छ ।