२०-२६ भदौ २०७२ | 6-12 September 2015

जितको जिम्मेवारी

Share:
  
- सन्त गाहा मगर
दक्षिणएशियाको फूटबल महारथी भारतलाई पराजित गर्दै साफ च्याम्पियन बनेको नेपाली युवा टोलीलाई एएफसी छनोटमा उत्कृष्ट प्रदर्शन कायम राख्ने चुनौती छ।

रासस
साफ च्याम्पियन बनेपछि खुशी हुँदै यू–१९ का खेलाडी रंगशालामा।
१२ वैशाखको महाभूकम्पयता '१२ गते, शनिबार' लाई 'अशुभ' मान्नेहरू पनि नदेखिएका होइनन्। तर, महाभूकम्पको चार महीनापछिको चौथो '१२ गते, शनिबार' भने नेपाली फूटबलप्रेमीका लागि शुभ दिन सावित भयो। यसको कारक बन्यो, युवा फूटबल टोली।

१२ भदौमा काठमाडौंमा भएको यू–१९ साफ च्याम्पियनसिपमा दक्षिणएशियाको फूटबल महारथी भारतलाई 'सडन डेथ' मा पराजित गर्दै नेपाली यू–१९ टोली उपाधि चुम्न सफल भयो। र, यो उपाधि नेपाली फूटबलमा पछिल्लो दुई दशकयताकै सर्वाधिक ठूलो उपलब्धिसमेत बन्यो। राष्ट्रिय टोलीले साउथ एशियन गेम्स अन्तर्गत सन् १९९३ मा भारत र त्यसअघि १९८४ मा बंगलादेशलाई फाइनलमा हराएर जितेको स्वर्ण पदक नै नेपाली फूटबल इतिहासको आजसम्मकै महत्वपूर्ण उपाधि हो। २७ असोज २०२९ मा बेइजिङमा चीनसँग पहिलो अन्तर्राष्ट्रिय फूटबल खेलेयता नेपालका लागि यो तेस्रो ठूलो सफलता हो।

सफलताको सूत्र

समग्र नेपाली फूटबल नै ओरालो लाग्यो भनेर सर्वत्र आलोचना भइरहेका वेला एकाएक युवा टोली कसरी दक्षिणएशिया च्याम्पियन बन्यो? के यो संयोग मात्र हो वा आशातित सफलता? जिज्ञासा स्वाभाविक छ। ललितपुर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा साढे बाह्र हजार दर्शकले अवलोकन गरेको भारतविरुद्धको फाइनल जित्नु नेपालका लागि कठिन अवश्य थियो, तर असम्भव थिएन।

फूटबल विश्लेषक संजीव मिश्र यो जितलाई 'निरन्तर कडा मिहिनेतको प्रतिफल' ठान्छन्। उनी एकै प्रशिक्षकले टोलीलाई लामो समयदेखि प्रशिक्षण दिइरहेको कारण पनि नतीजा नेपालको पक्षमा आएको विश्लेषण गर्छन्।

सुखद् घटना चाहिं, यू–१९ प्रतियोगिता शुरु हुनुअघिको केही महीनाअघि मात्र प्रशिक्षक तोक्ने अखिल नेपाल फूटबल संघ (एन्फा) को प्रवृत्तिले यसपटक निरन्तरता पाएन। अहिलेको च्याम्पियन टोलीलाई चार वर्षदेखि बालगोपाल महर्जनले प्रशिक्षण दिइरहेका थिए। १७ पुस २०६८ मा यू–१४ टोलीका लागि प्रशिक्षकमा नियुक्त पूर्व राष्ट्रिय खेलाडी महर्जनका लागि यू–१९ का ९० प्रतिशत खेलाडी नौला थिएनन्। उनीहरू यू–१४ र यू–१६ टोलीमा रहँदा नै महर्जनकै मातहत खेलेका थिए।

बंगलादेशको ढाकामा सन् १९९३ मा भएको दक्षिण एशियाली खेलकुदमा भारतलाई पराजित गर्दै उपाधि जित्दा महर्जन टीम नेपालका महत्वपूर्ण खेलाडी थिए। यू–१९ टोलीले भारतलाई नै हराउँदै दक्षिणएशियाली विजेता बन्दा उनै महर्जन प्रशिक्षकको भूमिकामा देखिएका हुन्।

महर्जन भन्छन्, “हामी भारतलाई नै हराएर उपाधि जित्न चाहन्थ्यौं।” उनका अनुसार खेलाडीहरूमा पनि भारतलाई हराउने रुचि बढी देखिएको थियो।

महर्जनको प्रशिक्षणको आधारभूत मन्त्र नै कडा अनुशासन हो। उनी बन्द सेसनका वेला भने खेलाडीलाई मनोरञ्जनको अवसर दिन्छन्। स्वीमिङ, हाइकिङदेखि सिनेमा हल समेत लिएर जान्छन्। उनी भन्छन्, “अरु सबै ठीक छ, खेलाडी पोषण र व्यक्तिगत खेल सुधारमा ध्यान दिनु जरुरी छ।”

“प्रत्येक खेलाडीको सशक्त र कमजोर पक्ष मात्रै होइन सुधारका पक्षसँग समेत परिचित हुँदा प्रशिक्षण प्रभावकारी हुँदोरहेछ”, महर्जन भन्छन्। राष्ट्रिय टोलीबाट लामो समय खेलेका महर्जनको बुझाइमा छोटो समयको तयारीमा भिड्न जानु भनेको हतियार नलिई शिकार गर्न जानु जस्तै हो।

यो टोलीलाई यू–१४ देखि हेर्दै आएको छु। सबैको सशक्त र कमजोर पक्ष मात्रै होइन सुधारका पक्षसँग समेत परिचित हुँदा प्रशिक्षण प्रभावकारी हुँदोरहेछ।

बालगोपाल महर्जन प्रशिक्षक

विजेता युवा टोलीको अर्को सबल पक्ष भनेको सशक्त प्रतिद्वन्द्वीसँग खेलेको अनुभव पनि हो। यो टोलीका अधिकांश सदस्य यू–१६ टोलीमा हुँदा नै बहराइन, इराक, तुर्कमेनिस्तान, उज्वेकिस्तान, कुवेत, उत्तरकोरिया जस्ता देशहरूसँग खेलिसकेका थिए। यू–१६ का प्रशिक्षक तथा राष्ट्रिय टीमका पूर्व कप्तान उपेन्द्रमान सिंह यो अनुभवले पनि युवा टोलीलाई उपाधि जित्न मनोबल बढाएको तर्क गर्छन्। सिंह भन्छन्, “एक्स्पोजर पाउने हो भने नेपाली खेलाडी कोही भन्दा कम छैनन् भन्ने उदाहरण पनि हो, यो।” फाइनलमा भारतीय खेलाडी मोइनुद्दीन खानको पेनाल्टी रोकेर टोलीलाई जित नजिक पुर्‍याएका गोलरक्षक सोजित गुरुङलाई यू–१६ मा रहँदा सिंहले नै प्रशिक्षित गरेका थिए। गुरुङ प्रतियोगिताको एक महीनाअघि मात्रै यू–१९ मा छानिएका थिए।

नेपाली राष्ट्रिय टोलीमा गोलको खडेरी लागिरहेको वेला प्रतियोगितामा युवा टोलीका कप्तान विमल घर्ती मगर र अन्जन विष्टले सर्वाधिक तीन–तीन गोल गरे। फाइनलमा भारतविरुद्ध गोल गरेका तेज तामाङ, सेमिफाइनलमा अफगानिस्तानको पोष्टमा गोल गरेका सुनील बल, अनन्त तामाङ, डोना थापा, विश्वास श्रेष्ठ, छिरिङ गुरुङ लगायतको खेल प्रशंसा नगर्ने कमै थिए। पूर्व कप्तान सिंह भन्छन्, “खेल परिवर्तन गर्न सक्ने खेलाडी भएपछि जस्तोसुकै प्रतिद्वन्द्वीलाई पनि हराउन सकिन्छ।”

प्रतियोगितामा यू–१९ नेपालको प्रदर्शन समूह चरणमा भन्दा सेमिफाइनल र फाइनलमा सुदृढ देखियो। प्रतियोगितामा नेपालबाहेक कुनै टीमसँग पनि गोल नखाएको भारतसँग समेत यू–१९ नेपालको बलमाथिको नियन्त्रण राम्रो थियो। विश्लेषक मिश्र भन्छन्, “बलियो प्रतिद्वन्द्वीसँग खेल्न रक्षापंक्ति सुधार्न आवश्यक छ।” हुन पनि फाइनलको अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा निर्णय 'सडन डेथ' मा पुगेको थियो। स्ट्राइकरद्वय विमल र अन्जनलाई निकालेपछि टीम दबाबमा आएको थियो।

एएफसी छनोटको चुनौती

दक्षिण एशियाली फूटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको यू–१९ साफ च्याम्पियनसिपलाई एशियन फूटबल महासंघ (एएफसी) यू–१९ च्याम्पियनसिप छनोट तयारीको रुपमा समेत हेरिन्छ। १३ अक्टुबर २०१६ मा बहराइनमा हुने एएफसी यू–१९ च्याम्पियनसिपका लागि नेपालले एक महीनापछि इरानमा छनोट चरण खेल्दैछ।

कुल ४३ टीम सहभागी छनोट चरणमा नेपाल कठिन मानिएको समूह 'ई' मा परेको छ। नेपालले २ अक्टोबरमा आयोजक इरान, ४ अक्टोबरमा कुवेत र ६ अक्टोबरमा जोर्डनको सामना गर्दैछ। पछिल्लो फिफा वरियता अनुसार इरान ४०, जोर्डन ९१, कुवेत १२७ औं स्थानमा छन् भने नेपाल १८५ औं स्थानमा।
राष्ट्रिय टीमका पूर्व प्रशिक्षक राजुकाजी शाक्य सशक्त टीमसँग खेल्न त्यही अनुसारको तयारी चाहिने बताउँछन्। सन् १९८४ र १९९३ मा नेपालले स्वर्ण पदक जित्दाका खेलाडी शाक्य भन्छन्, “जित्दा ताली र हार्दा गाली गरेर मात्रै फूटबल विकास सम्भव छैन।” वर्षौंदेखि ठूलो लगानीमा तयारी गरिरहेका टीमसँग हार्नै हुँदैन भन्ने सोच नै यथार्थपरक नभएको उनको बुझाइ छ।

एएफसी छनोटका लागि नेपालसँग तीन हप्ता मात्रै बाँकी छ। यू–१९ का प्रशिक्षक महर्जन २० भदौबाट मात्रै बन्द प्रशिक्षण शुरु हुने बताउँछन्। उनका अनुसार सेप्टेम्बर अन्तिम साता कतारको दोहामा दुई मैत्रीपूर्ण खेलको तयारी पनि भइरहेको छ।

प्रतिद्वन्द्वी बलियो भए पनि कमजोरी सच्याउँदै इरान भ्रमण स्मरणीय बनाउने दायित्व युवा टोलीमा छ। राष्ट्रिय टीमका कप्तान सागर थापा प्रशिक्षकका कुरा कार्यान्वयन गर्न सके टीमको प्रदर्शनमा उल्लेख्य सुधार आउने दाबी गर्छन्। युवा टोली बलियो भएमा आगामी दिनमा राष्ट्रिय टीमसमेत बलियो हुने बताउँदै उनी भन्छन्, “युवा टोलीले सामूहिक भावना बढाउँदै जितको भोक जगाउनुपर्छ।”

comments powered by Disqus

रमझम