२०-२६ भदौ २०७२ | 6-12 September 2015

बदलिंदो गाईजात्रा

Share:
  
- बसन्त महर्जन
हरेक दुई–चार दशकमा कोल्टे फेर्ने सदियौं पुरानो काठमाडौं उपत्यकाको परम्परागत सांस्कृतिक पर्व गाईजात्राले चार–पाँच वर्षमै बदलिने रफ्तार देखाएको छ।

गाईजात्रामा सहभागी एक तामाङ परिवार।
एक वर्षभित्र दिवंगत भएका परिवारका सदस्यको सम्झनामा जनैपूर्णिमाको भोलिपल्ट गाई वा जोगीको भेषमा कसैलाई ल्याई निश्चित बाटोको परिक्रमा गराउने प्रचलन उपत्यकाभित्र र बाहिरका नेवार बस्तीहरुमा छ। यो सदियौंदेखि प्रचलित सांस्कृतिक पर्व हो। नेवार समुदायले 'गुँपुन्हि' वा 'सापारु' भन्ने यो पर्वमा पछिल्ला केही वर्षमा निकै फेरबदल आएको छ। यो सांस्कृतिक गतिशीलताको स्थिति बुझाउन समाजशास्त्रीहरु अंग्रेजी शब्द 'एसिमिलेशन' प्रयोग गर्छन्।

'एसिमिलेशन' को खुशी

गाईजात्रामा हिन्दू र बौद्ध धर्मावलम्बी यसरी सहभागी हुन्छन् कि यी दुई धर्मबीचको भिन्नता बुझ्न बडो मिहिनेत गर्नुपर्छ। चारपाँच वर्षअघिसम्म उपत्यकाको गाईजात्रामा गाई वा जोगीको भेषमा सरिक हुनेहरु नेवार समुदायकै हुन्थे। अहिले भने यसमा गैर–नेवार समुदायका पनि प्रशस्त देखिन थालेका छन्। यसलाई उपत्यकाको सांस्कृतिक विकासको रुपमा लिनुपर्छ।

आफ्नो थातथलोबाट बसाइँ सरेर कुनै नयाँ सभ्यतामा भिज्ने (एसिमिलेशन) क्रममा नयाँ चालचलन तथा मान्यताबाट प्रभावित हुने मात्रै नभएर आफ्नो विरासतको केही कुरा घुसाउने उपक्रम पनि हुन्छ। काठमाडौं उपत्यकाको सामाजिक–सांस्कृतिक विकास यही प्रकृति अनुसार हुँदै आएको छ। केही दशकयता काठमाडौं उपत्यकाको जनसांख्यिक स्थिति (डेमोग्राफी) मा आएको तीव्र परिवर्तनको क्रममा नवआगन्तुकहरु स्थानीय सांस्कृतिक परम्परामा प्रवेश गर्न थाले। स्थानीय संस्कृति अनुसार पनि 'पुण्य कमाउने' मनसाय आगन्तुकहरुमा देखिन्छ। यस क्रममा बाहुन, क्षेत्री र तामाड समुदायबाट गाईजात्रामा बढी सहभागिता देखिएको छ।

गाई वा जोगीको भेषमा आउनेलाई भिक्षा दिने पुरानै परम्परा हो। गाईजात्रामा भिक्षा दिने काम प्रायः मृतकका आफन्तले गर्छन्। पहिले भिक्षा दिन आउनेहरुमा नेवार समुदायकै हुने गरेकोमा यस वर्ष ब्राह्मण महिलाहरु पनि देखिए। उनीहरु निसन्देह रुपमा उपत्यकाको रैथाने जस्तै घुलमिल भइसकेकाहरु नै हुन्। यो 'एसिमिलेशन' हेरेर छक्क पर्ने गरेका यहाँका रैथाने नेवारहरु नवआगन्तुकहरुले आफ्नो संस्कृति अपनाएकोमा खुशी पनि छन्।

गाईजात्रामा आएको अर्को परिवर्तन हो, महिला सहभागिता। अघि छोरामान्छे मात्र गाई वा जोगीको भेषमा आउने चलन थियो, अब महिलाहरु त्यो रुपमा आउन थालेका छन्। गाई वा जोगीको भेषमा आउनेको सहयोगी मात्र रहने महिलाहरुले नै गाई वा जोगी भेष पनि धारण गर्न थाल्नु भनेको उल्लेख्य परिवर्तन हो। भक्तपुरमा भने गाईजात्राको घिन्ताडघिसी नाचमा पहिल्यैबाट महिला सहभागिता थियो।

विकृति पनि आयो

गाईजात्राको सांस्कृतिक जीवनमा विकृतिहरु पनि देखिन थालेको छ। गाई वा जोगीलाई भिक्षामा दिइने खानेकुरा बटुल्न आउनेहरुले हैरान पार्न थालेका छन्। अरु वेला हनुमानढोका दरबार परिसरमा बटुवाहरुसँग माग्नेहरु यस दिन अनुहारमा रंग दलेर गाईजात्रामा सहभागी हुन थालेको देखिएको छ। मागेर जीवन निर्वाह गर्नु नपर्नेहरुले पनि केटाकेटीलाई गाई वा जोगी बनाएर माग्न पठाएको देखियो। त्यस्ता नक्कली गाई, जोगी र तिनका सहयोगीहरुलाई बसन्तपुर परिसरबाट हटाउन स्वयंसेवकहरुलाई हम्मे परेको थियो यसपटक।

साधु, सन्न्यासी र जोगीहरु पनि गाईजात्राका गाई वा जोगी भएर सहभागी भइदिंदा अर्को विकृति थपिएको छ। गाईजात्राका वेला निस्कने परम्परागत झाँकीहरु नितान्त मनोरञ्जनात्मक र व्यड्ग्यात्मक हुन्छन्, जसलाई संवेदनशील भएर हेरिंदैन। अरु वेला भन्न नहुने, नसकिने कुराहरु यस अवसरमा व्यक्त गरिन्छ, तर केही वर्षदेखि काठमाडौंका समलिंगीहरुले यही दिन अधिकार जुलूस निकाल्न थालेका छन्। यसलाई गाईजात्राको मर्म नै नबुझी सहभागी हुन आएको अर्थमा लिनुपर्छ।

उपत्यकाको मुख्य गाईजात्रास्थल हनुमानढोका परिसर भएकोले विकृति पनि यहीं देखिएका छन्। यही क्रम रहे अरु ठाउँका गाईजात्रामा पनि यसखाले विकृति भित्रिन धेरै समय लाग्ने छैन।

comments powered by Disqus

रमझम