परदेशमा देश सम्झाउँदै

Share:
  

नेपथ्य

“सात समुद्रपारि हामी छौं, अहिले हाम्रो देश अशान्त छ। आफूआफूमै लडिरहेका छौं, मारामार गरिरहेका छौं। आऊँ सबै मिलेर देशमा शान्तिको कामना गरौं।” १२ भदौमा न्यूयोर्कको म्यानह्याटनस्थित कन्सर्टमा नेपथ्यका गायक अमृत गुरुङले यसो भनिरहँदा दर्शकले एकाएक देश सम्झिए। नेपथ्यका गीतहरूसँगै उनले 'गाउँ गाउँबाट उठ', 'रातो र चन्द्र सूर्य' जस्ता गीत गाउँदा दर्शकहरू नेपाली झ्ाण्डा हल्लाउँदै स्वरमा स्वर मिलाइरहेका हुन्थे।

तस्वीरः ङिमा पाखि्रन

गुरुङ भनिरहेका थिए, “हामीले ओत पाएका थुप्रै घरहरू अस्तिको भुईंचालोपछि बचेका छैनन्। त्यस्ता गाउँ जीवित पार्न हामी सबै ती स्थानहरूमा घुम्न जाऔं।” जता गए पनि नेपाली विभाजित भएको देखिरहेको बताउने उनले यसपटकको अमेरिकाको प्रदर्शनलाई 'म्यूजिक फर युनिटी' नाम दिइएको पनि बताए।
अष्ट्रेलिया, जापान, दुबई, बेलायतहुँदै अमेरिका आइपुगेको नेपथ्य टोलीले दुई घन्टासम्म संगीत र स्वदेश जोडेको थियो।

“आफ्नै घरमा हुर्केका नेपथ्य जस्तो प्रतिभालाई म्यानह्याटनमा सुन्नु भनेको गर्व, प्रेरणा र सुख तिनै कुरा एकसाथ अनुभूत गर्नु हो”, नेपथ्यलाई सुन्न आइपुगेका विश्वकै चर्चित फेसन डिजाइनर प्रबल गुरुङले भने।

अमृतसँगै ध्रुव लामा, सुरज थापा, सुविन शाक्य, निरज गुरुङ र शान्ति रायमाझी सहितको नेपथ्य टोलीको यसपटकको अमेरिका भ्रमणले ऊर्जा थपेको नेपालयका किरणकृष्ण श्रेष्ठले बताए।

घुम्ती किम्फ

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) अमेरिकामा प्रदर्शन भएको छ। १२ भदौमा न्यूयोर्कस्थित शेर्पा किदुग हलमा भएको 'घुम्ती किम्फ' मा देशी–विदेशी दर्शकहरूको सहभागिता थियो।

हङकङ र मकाउसहित नेपालका ४७ जिल्लामा प्रदर्शन भइसकेको 'घुम्ती किम्फ' पहिलोपटक अमेरिका पुगेको हो। हिमाल एसोसिएसनको आयोजना तथा न्यूयोर्कस्थित एभरेष्ट टाइम्स को सहआयोजनामा भएको उक्त प्रदर्शनीमा नेपाली पानोरोमा उत्कृष्ट भोजराज भाटद्वारा निर्देशित 'सुनाकली', लक्छा बान्तवाको 'पवन', सचिन घिमिरेको 'पुन्टेको पांग्रो' र दिनेश पाल्पालीको 'बालकृष्ण सम' देखाइएको थियो।

न्यूयोर्कमा पहिलोपटक भएको 'घुम्ती किम्फ' मा उल्लेख्य दर्शकको सहभागिताले उत्साहित बनाएको सहआयोजक एभरेष्ट टाइम्स का प्रधानसम्पादक आङछिरिड शेर्पाले बताए। न्यूयोर्क प्रदर्शनमा संकलित रकम भूकम्पले क्षतिग्रस्त सोलुखुम्बुको केरुङस्थित चाँगेस्थान माध्यमिक विद्यालयको पुनःनिर्माणमा खर्च गरिने पनि उनले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र विकास बोर्डका सदस्य सुरेशदर्पण पोखरेलले नेपाली वृत्तचित्र र छोटा फिल्महरू मार्फत नेपाली समाज, संस्कार र पर्यटनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए। महोत्सवमा 'सुनाकली' हेरेका ग्लोबल फिल्म फेस्टिभल सानफ्रान्सिस्कोका टीम लीडर प्रकाश थापाले मुगुका किशोरीलाई फूटबल सामग्री सहयोग गर्ने घोषणा पनि गरे।

उक्त अवसरमा न्यूयोर्कस्थित कार्यवाहक महावाणिज्य दूत नारायणप्रसाद मैनालीले महोत्सवको माध्यमबाट लामो समयदेखि अमेरिका बस्दै आएका नेपालीलाई गाउँघर सम्झाएको बताए।

अनुशील, न्यूयोर्कमा

comments powered by Disqus

रमझम