२०-२६ भदौ २०७२ | 6-12 September 2015

स्वस्तिमा सन्तुष्टि

Share:
  

होस्टेल रिटर्न्स ले व्यापारिक सफलता हात पारेपछि चलचित्रकी नायिका स्वस्तिमा खड्का (२२) को चर्चा भइरहेको छ। आफ्नो पहिलो चलचित्र नै 'हिट' भएकोमा स्वस्तिमा खुशीले अग्लिएकी छन्। “धेरैले प्रशंसा गर्नुभएको छ, मलाई पनि आत्मविश्वास बढेको छ”, उनी भन्छिन्।

सुरज भुषाल निर्देशित यो चलचित्रकै कारण उनलाई थुप्रै चलचित्रको प्रस्ताव आइरहेको छ। तर, उनी अहिल्यै यसका लागि तयार छैनन्। “चलचित्र होइन, अहिले पढाइतिरै जोड दिइरहेकी छु”, इन्जिनियरिङमा स्नातकोत्तरको तयारी गरिरहेकी उनी भन्छिन्।

'मिस टिन–२०१३' मा भाग लिएयता चलचित्र क्षेत्रमा प्रवेश गरेकी स्वस्तिमाले 'बेबी कुची कुची', 'मधुरो रात' जस्ता म्युजिक भिडियोमा अभिनय गरेकी छन्।


मूभी क्लब

अरु वेला नाटक प्रस्तुत गरिने थिएटर भिलेजमा प्रत्येक बुधबार विश्वविख्यात चलचित्र र वृत्तचित्र देखाइन थालिएको छ। गत हप्ता अमेरिकी साहित्यकार एफ. स्कट फिट्जराल्डको उपन्यासमा आधारित चलचित्र 'द ग्रेट ग्याट्स्बे' देखाइएको थियो भने यसपालि 'ओलिभर ट्वीस्ट' प्रदर्शन गर्ने थिएटर भिलेजका विप्लव प्रतीक बताउँछन्। उनका अनुसार 'मूभी क्लब' नाम दिइएको यस प्रदर्शनीमा विश्वका 'क्लासिक' चलचित्र देखाइनेछन्। “फिल्म हेर्ने संस्कृतिको विकास होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेका हौं”, प्रतीक भन्छन्, “हामीले देखाउने फिल्म हलमा हेर्न नपाइने भएकाले दर्शक संख्या बढ्दो छ।”


भारतीय पर्दामा संयुक्ता

'मिस इन्टरनेशनल नेपाल–२०१०' की विजेता संयुक्ता तिम्सिनालाई यतिवेला भारतीय च्यानल सोनीबाट प्रसारण हुने टेलिश्रृंखलामा '२०२५ जाने क्या होगा आगे' मा देख्न थालिएको छ। सोमबारदेखि शुक्रबारसम्म आउने श्रृंखलामा संयुक्ता, जोशी परिवारकी कान्छी छोरी नैसाको भूमिकामा छन्।

भारतमै पढेकी संयुक्ता केही समयअघिदेखि मुम्बईमा संघर्षरत थिइन्। यसक्रममा उनले बलिउड चलचित्र 'बद्मासिया' मा पनि छोटो भूमिका गरेकी थिइन्। भारतमै पढेको हुनाले हिन्दी टेलिश्रृंखलामा काम गर्न निकै सजिलो भएको उनी बताउँछिन्।

comments powered by Disqus

रमझम