२७ भदौ - २ असोज २०७२ | 13-19 September 2015

मूढाग्रह कबूल होस्!

Share:
  
- महेश थापा
निजी मेडिकल कलेजहरूले गर्ने भनेको हड्तालमा मेरो घनघोर समर्थन छ।

भानु भट्टराई
“आयोग–सायोग जान्दैनौं, धतुरे प्रतिवेदन मान्दैनौं”, खाइलाग्दा बाबुसा'बहरूले सामूहिक भाका सुसेले, “पतरे गफमा लागेर धन्दामा बन्टाधार लाउनु पनि नपाई छ!”

“प्रतिवेदन लागू गर्ने पाइनवालाले मेडिकल कलेज चलाएर देखाऊ, हामी तालाचाबी जिम्मा दिन्छौं”, अर्का भद्रले अलग डुक्रान दिए।

उपरवालाले दिए'सि छप्परै फारेर दिन्छन् भन्थे, हो रै'छ, भैरे! आज तेरो दिन फिर्‍यो– गधैया फेर्ने लालसाका साथ तालाचाबी बुझने मनसुवाले भीड भएतिर छड्किएँ। माथेमा आयोगको प्रतिवेदनलाई पेन्डिङ्गमा चढाउनुपर्ने जिकिरसहित मेडिकल कलेज एवं अस्पतालको हडताल घोषणा गर्न श्वेत गाउनधारी कन्डक्टरहरू जमाखडा भए। मण्डलीका मुखियाहरू हडतालको अँध्यारो औचित्यमाथि सय वाटको प्रकाश डाल्न धूवाँधार तर्क पेसिरहेका थिए। तदनुसार– आर्थिक उन्नतिमा उपभोगको महिमा अघोरै ठूलो छ। उपभोग भनेकै मागको सृष्टिकर्ता हो। हुतीवाल हाब्रोधारीलाई लुँड्याउन छेकबार लगाउँदा लगानीको वातावरण धमिलिन्छ र व्यापार चौपट हुन्छ।

अझ्– डक्टर भएर'नि डस्टर माफिक खस्ता हालतमा बाँच्ने तन्नम मतिका अनशनीको पिछलग्गु हुनु भनेको समाजलाई उन्नत हुनबाट बञ्चित गर्नु हो। फेरि, खान नजानेर आँत सुकाउने बज्रस्वाँठहरूको अनशनको के भ्यालु? ढाडिएकाहरू अनशन बसे न कोई बात हुन्छ! अतः उँधो मतिका दुई/चार थान डक्टरको सुझ्ाव माने दबाब भन्दै मेडिकल कलेजहरूको सुनको लंकामा डढेलो झ्ोस्ने बन्दरकर्म नगरौं।

बडाहरूले दाँत तिखारेर आँ पारेको मुखमा विद्यार्थीजन हाम्फाल्न तयार छन् भने'सि सीट संख्या र भर्ना शुल्कको अडङ्गा लगाउनुको छु मतलब? जसको कलेज र विद्यार्थी दुवै होइन, उसको मर्जी चल्ने विर्ता अन्तै सिर्जना गरम्। यो त जसको कलेज र विद्यार्थी हो, उसको अर्ति लाग्नुपर्छ। आफ्ना विद्यार्थीलाई कलेजमा राखेर पढाम् कि काखमा, कटेरोमा राखेर पढाम् कि घरमै, त्यो हाम्रो मर्जीको बात हो। किनकि, उनीहरूलाई एमबीबीएसको एक थान सर्टिफिकेट धराउने बाचा हामीले गरेका हुम्। यसमा अरूलाई बाल हुन्छ? मूल थोक त के भने, सबै कुरा किन जानिरहनुपर्‍यो? हाम्रो कलेजमा भटाभट 'लर्निङ बाई डूइङ' हुन्छ। हाम्रा एमबीबीएसहरू ताक परे रोग निको पार्छन्, नत्र रोगीलाई टिकट कटाएर टन्टै खलास गर्छन्।

खुलाबजारमा उही माललाई ज्यादा रोकडा तिर्ने ग्राहक छँदाछँदै सस्तोमा बेच्न पगलाएको छ, कोही। मेरिटमा आउने तिर्तालेहरूसँग इन्जिनियर, पाइलट, वकील, प्राध्यापक, लेखक, वैज्ञानिक आदि नानाभाँती बन्ने विकल्प बाँकी हुन्छ। पढ्न नसक्ने लल्लुरामहरू डक्टर धरि बन्न सकेनन् बरा कहाँ जाउन्! यो सत्यलाई मनन् गर्दा, मेरिट लिस्टको भाँजो हालेर फक्कडहरूलाई अवसर नदिई सामाजिक न्यायको हर्नासो भाँच्ने मन कसैको हुँदैन। निःशुल्क एमडी पढाउनुपर्ने नारा त सरासर पहिचान मारा नै छ। बँधुवा मजदूर, कम्लरी प्रथा कानूनतः बर्जित भई इतिहास बन्ने तरखरमा रहेको समयमा कसैलाई गोरु झैं जोतेर उल्टै पैसो हड्याउने सशुल्क एमडी कार्यक्रममार्फत त्यस्ता प्रथाहरूको अपग्रेडेड भर्सनको रूपमा भावी सन्ततिका लागि जोगाउन सकिन्छ।

त्यस्तै, विदेशी विद्यार्थीसँग मोटी रकम ऐंठन नदिनेहरू नेपालको भुक्तानी सन्तुलन उनार भएको हेर्न खोज्ने आरिसे हुन्। थैली भिरेर छिरेका विदेशी घैमलहरू डक्टर बनी फिर्दा नेपाली माटोको उर्वराशक्तिको कीर्ति दुनियाँभर फैलिने सत्यप्रति आँखा चिम्लनु भनेको 'मेरो कम्मरको खुकुरी कुन हुस्सुले झिक्यो' भन्दै उफ्रनु बराबर हो। यस्तै बेसुराहरूको हुजूम बढ्दा मेडिकल कलेजका साहूजीहरूले मार खाएको मात्र नभई खप्पराँ ह्यामरकै ड्याम भेटेको स्थिति छ।

उल्लिखित प्रकार ज्ञान वितरण भइरहेको माहोलमा म भने एउटा मेडिकल कलेजको तालाचाबी सुमर्न लास्टै औंताइरहेको थिएँ। मेरो यस्तो औंताई बुझेका एक साहूजीले 'गफै त हो, सम्धी! लेऊ तालाचाबी' भन्दै झ्न्डै कन्पारोमा बजाएनन्। सरकारका तीनै अङ्ग र पूरक प्रत्यङ्ग समेतको सेटिङ्ग मिलाई आर्जेको टक्सारलाई सडक ठेकेदारले सिमेन्ट–अलकत्रा झवाम पारे जसरी ग्वाम पार्न तम्सिने आफ्नो बेवकूफी सम्झेर एकाध मिनेट टिठिएपछि प्रसङ्ग बटारें, “यो हडतालको नामकरण के हो?”

“काउन्टर सत्याग्रह!” साहूजी बोले।

राष्ट्रवादको बर्खिलाप राष्ट्रघातले सिना तन्काएको देशमा मिथ्याग्रहले सत्याग्रहको भाउ किन नपाउने? सत्याग्रहबाट अजीर्ण भएको सरकारले साहूजीहरूको मूढाग्रहलाई झ्टपट कबुल्दै कर्तव्यको दियो निभाओस् भन्ने थपुवा माग पनि 'अट्याच' गर्दछु!

comments powered by Disqus

रमझम