२७ भदौ - २ असोज २०७२ | 13-19 September 2015

चौंरी पठाउने सकस

Share:
  
- ज्ञानमणि नेपाल
चन्द्रशमशेरको पालामा रेजिडेन्टको मानमनितो र खामाजुङ्गमा चौंरी पठाउन गर्नुपरेको खिप्ती कप्तान अष्टमानको दौडधूपबाट प्रष्टिन्छ।

रेजिडेन्ट पहिले आफ्ना छोरी लिन बम्बई जाने–आउने दिनको तय गर्छन्। त्यसका लागि सवारीसाधनको जोहो गरिदिन भन्छन्। गौचरमा तारो हान्न र सैर गर्न जाने दिन पनि तय गर्छन्। त्यसवेला तारो हान्ने ठाउँ गौचर (हालको एअरपोर्ट) र सैर–शिकार जाने ठाउँ नगरकोट, टोखा, नुवाकोट, ककनी आदि थिए। तारो हान्न गौचर जाँदा बस्ने तीन चार वटा टहरा बनाउन रेजिडेन्सीको एउटा हवलदारले रु.१० हजार लाग्ने इस्टमेट गरेर ल्याएछ। त्यो कुरा कप्तानले जाहेर गरेपछि बुझदा पच्चीस जना कुल्लीलाई तीन दिन लाग्ने ठहर्‍यो।

त्यसवेला टुँडिखेलमा हुने सैनिक परेड र फूलपाती, शिवरात्रि जस्ता पर्वको बढाइँ हेर्न रेजिडेन्सीमा निम्तो जान्थ्यो। घोडा–बग्गीको बन्दोबस्त पनि गरिदिएपछि बडो सजधजसँग सपरिवार आउँथे, रेजिडेन्ट। व्यक्तिगत केही माग्नु छ वा विशेष सरकारी कुरा गर्नुछ भने रेजिडेन्ट महाराजलाई भेट्न जान्थे। यङ्ग हज्वेन्डको भोट अभियानमा रसदपानी तथा युद्धसामग्री बोक्न १६ हजार चौंरी बन्दोबस्त गरिदिने वचन चन्द्रशमशेर महाराजले दिएका थिए। पाँच सय चौंरीको खेप खामाजुङ्ग पठाउन दुई–तीन वटा बाटाको विकल्प सोचिएको थियो। इलामबाट जाने बाटो राम्रो नहुँदा पहिले दोर्जेलिङ्गबाट र पछि गोर्खे जगातबाट तय भयो।

इलामबाट गोर्खे जगात, रम्फू, गान्धुकहुँदै खामाजुङ्ग पुग्न दिनको ७ देखि १४ माइल हिंडेर, १४ बास बसेर १६३ माइल पार गर्नुपर्थ्यो। सो बाटो लेक–बेंसी गर्दा धेरै चौंरी मर्ने भएपछि ओलाङचुङ गोलाबाट तिप्तलाहुँदै लैजाने र यङ्ग हज्वेन्डका मान्छेले त्यहीं आएर बुझिलिने निधो भयो। यसरी खेप खेप गरेर चौंरीका बथान पठाइन लागे। यङ्ग हज्वेन्डले खामाजुङ्गमा तार पुर्‍याएकाले ३६ घन्टामा खबर ओहोरदोहोर हुन्थ्यो।


कप्तान अष्टमान–रेजिडेन्ट संवाद

(१९०३ सेप्टेम्बर १५–२४ को दैनिकी)

रेजिडेन्ट– मेरो छोरी लिनलाई अक्टोबरको १३ तारिखमा यहाँबाट बंबै जानेछु. नोभेम्बर ७ तारिखतिर फर्कि यही आइपुग्नेछु. औ अक्टोबरको २ तारिखमा १५ दिन वहि बस्ने गरि तारा हान्न गौचर जानेछु.

कप्तान– भोली अढाइबजे रिभ्यू हुनेछ. बगी कतिवटा ल्याउं परेडमा चढनलाई तपाईलाई र कप्तान किलकेलिलाई. घोडा बन्दोबस्त गरु कि तपायींहरूकै घोडा पठाइ दिनु हुन्छ.

रे–यहाँ बगी २ ल्याउनु मलाई मेरै घोडा छ. किलकेलिलाई यौटा घोडा मेहर्वानी गरि बन्दोबस्त गरि दिनुहोला. रिभ्यु कस्तो हुन्छ.

क– मार्चपास हुन्छ. अघि बंगालको लेफटिनेन्ट गभर्नर यहां आएमा रिभ्यू भएथ्यो सोही हिसाबको हुनेछ.

रे–रावर्ट कम्याण्डर इन चिफ पनि यहां आयो किचनर पनि आउला कि क–हेर्न लायकको के छ र आउलान्.

१६ सेप्टेम्बर, वेनस्डे (रिभ्यु अफ १२,००० ट्रुप्स)

आज लेडि मिस रामेशाम मिसन किलकेली औ रेजिडेन्ट डाक्टर २।। बजे टुडीखेलमा रिभ्यु हेर्न गए अनेक फोटो खिचे परेडदेखि बहुत खुशी भै ५।। बजे रेजीडेन्सी फर्के।

१७ सेप्टेम्बर थस्डे

रेजिडेन्ट वेण्ट टु साइट सुटिङ्ग शट सेकेन्ड लोड एण्ड फेल फ्रम दिस हाउस्.

१८ सेप्टेम्बर फ्राइडे

रे–भोलि महाराजसंग मुलाकात हुन सक्छ कि सक्दैन फुर्सत होला.

क– भोली शनिश्चरवार हो महाराजसंग विन्ती चढाई तपाईसंग भनुला.

रे– भोलि फुर्सत नभए सोमबार भए पनि हुन्छ. मेरो दोस्तले ४ ठूलो २ सानु खुकुरी मागि पठायो मेहेरवानी गरि तपाई बन्दोबस्त गरिदिनुहोला कि.

क–हुन्छ.

१९ सेप्टेम्बर सटर्डे

(रेजिडेन्ट टु महाराज)

क–५०० चौरी गाई खामाजुं पठाई दिनु भन्ने सनद तयार छ. यो चिठी महाराजबाट तपाईलाई पठाई बक्सेको छ. केही बाधा छ कि केही फेर्नु नपर्ने भए चिठी चलाउन लाई दिन्छ.

रे–हुन्छ केही बाधा छैन. चौरी दार्जिलिङ्बाट जान्छ भन्ने लेखिएको छ. इलामबाट उत्तरपुर्व बाटो छैन.

क–खामाजुं यहां छ भन्ने हामीलाई थाहा छैन. बाटो त हुंदो हो तर कस्तो छ कता पर्ने केही नबुझिएको हुनाले दार्जिलिङ्बाट पठाईबक्सन लागेको हो. रे–हुन्छ भरे कुरा गरुला.

(आज रेजीडेन्ट ५ बजे थापाथली उतरी १ घंटा कुरा गरी फर्के)

२० सेप्टेम्बर सन्डे

२१ सेप्टेम्बर मन्डे

फ्रम हिज हाइनेस् महाराज विथ हिज् हाइनेस् कम्लीमेन्ट टु रेजिडेन्ट. कल हर्खजङ्ग इन्फर्मस् द्याट द कन्साइन्मेन्ट अफ् राइफल एन्ड कर्टिज रिच्ड इलाम अन वेन्स्डे द १६ सेप्ट हि इन्क्लुड्स. ए लिष्ट अफ द मार्च फ्रम् इलाम टु खामाजुङ्ग एज् गिवेन् अन्डर. हिज् हाइनेस् दियरफोर् ह्याज् रिटेन टु कल टु सेन्ड याक्स बाई दिस् रुट् इन्स्टेड् अफ गोइङ्ग टु दार्जीलिङ्. नेम् अफ द रुट् मेन्सन्ड इज् नट् फर्मेड इन् आवर म्याप् एन्ड हिज् हाइनेस् डिजायर्स मि टु सी इन् योर्स.

पहिले तय भएको इलामबाट दोर्जेलिङ्ग हुँदै जाने बाटो छाडेर गोर्खे जगातको बाटो रोजिएको थियो। गोर्खे जगातबाट जोरवङ्गला, योसक, मल्ली घाट, पाकिमङ्ग, गान्टोक, डिक्पानी, सिङ्गताम, चुङ्गथाङ्ग, लामतोल, तुङ्गो, गेघमी हुँदै याक र चौरीहरूलाई खामाजुङ्ग पुर्‍याउनु थियो।

कप्तान–हर्षजङ्ग इलाममा सेप्तेम्बरको १६ तारीखमा खजाना बन्दूक समेत पुगे. खामाजुं जाने वास लेखिपठायेको छ. अब दर्जिलिङ्ग नगै सोही बाटो चौरी लैजानु भन्ने आडर जानेछ. सोही बमोजिम तपायींबाट पनि लेखि दिनुहोला.

रेजिडेन्ट– यो जगाहरू नक्सामा कहिं देखिन्न. दार्जिलिङ्गको बाटो चौरी जानेछ भनि मैले गभर्मेंटलाई औ कर्णेल यङ्ग हज्व्याण्डलाई लेखी सकेको छु. हुन्छ गोर्खे जगातबाट लैजानु भनि लेखिदीन्छु तर इ जगाहरू कहांपर्छ नक्साबाट खुल्दैन. दार्जिलिङ्गबाट लगे चौरी हामी तरफबाट बुझिलीने वित्तिकै तिमीहरू तरफबाट जवाफदेही छुट्छ. इ जगाहरू डाक्टर वाडेल्सको किताबमा लेखेको हुनुपर्छ हेर्नु.

क– उसोभए चौरी गोर्खे जगातबाट जान्छ भनि केही लेखि पठाउनु पर्दैन. महाराजसंग विन्ति चढाइ तपायींलाई जवाफ दिएपछि मात्र जे गर्नुपर्छ गर्नुहोला. रे–हुन्छ.

क– यो टिवेटको खवर अखवार वाले दियेको. तपाईलाई देखाउनु महाराजबाट पठाईबक्सेको छ. खामाजुं १७ हजार फीट अग्लो पहाड उस्पार रहेछ. बरफ गिरेपछि बरफले थुनी जाइनसक्नु हुनेरहेछ. महाराजबाट १ बाजी तपायींसंग कुरा हुंदा भन्नु भयेबमोजिम यो अखवारले पनि दियो.

रे– महाराजबाट ठिक भन्नुभयो. हिजो कर्णेल यांङ् हज्वेंण्डबाट यौटा चिठी आयो. वहासम्म तार पुगेको हुनाले लेखापढिलाई सजिलो भयो.

२२ सेप्टेम्बर ट्युज्डे

रे– कर्णेल याङ् हज्वेंडले यौटा तार पठायेको थियो. सबैलाई संचो रहेछ. तारको खबर अब खामाजुंसंगै पुग्ने हुनाले यंहाबाट ताहा तार ३६ घंटामा पुग्छ. क–तेसो भए लेखापढिलाई बहुत सजिलो भयो.

रे–गौचरमा तारो हान्नलाई अक्टोवरको २ तारिखमा हामी वहां बस्ने गरी जान्छौ. चवतारा एउटा तयार भयो अर्को २–३ बनाउनु बांकी रहेछ. माहाराजसंग विन्ती चढाइदिनु भये बढिया होला.

क–अस्ति नै महाराजबाट बनाउनु भन्ने हुकुम भएको हो. तपायींको हवल्दार वाहा गै काम गर्ने बनाउदा १०,००० कुलीको काम बतायेको हुनाले तेसै रहेको छ. अब विन्ति चढाई दिउंला. कति कुली जति लाग्ला.

रे–५०–६० कुली जम्मा लाग्ला धेरै लागने छैन. तेतिको कुली लाग्ने काम बताउने हवल्दार उल्लु रहेछ अथवा तिम्रो मानिसले बुझ्न सकेन. टेलरको छोरा अक्टोवरको १ तारिखमा गढिबाट यहां आउंछ. कुलीखानीलाई यौटा घोडा महाराजसंग विन्ति चढाइ दिनु होला.

क–हुन्छ

रे– यौटा सइस मेरो छोडेर गयो. उसले यौटा बन्दोबस्त गरिदिनु भये हुन्छ

क– हुन्छ

२३ सेप्टेम्बर वेडनस्डे

रे–मलाई सिम्लाबाट यौटा इन्फर्मेसन आयो कि सेक्रेटरी फर इण्डियाको पोष्टलाई लार्ड कर्जनलाई तुरुन्त आउनु भन्ने आयो भनि महाराजसंग भनिदिनु. रंगेलीको लेफटेनले इन्कार गर्‍या भनि म्याजिष्टेटले लेखेको छ.

क– सुपुर्द गरिदिनु भनि सनद गर्दा पुग्या होवैन र तेस्ता भयो हो.

रे–छोरी लिनलाई २३ अक्टोवरमा बंबै जान्छु नभेंवरको ७ तारिखमा यंहि आइपुग्छु. टोखानिर जाने बाटो केही बिगारेको रहेछ. मेमसाहेबको हावा खान जाने बाटो हुनाले बनाउन लाईदिनु भये हुंदो हो. क–महाराजसंग रिपोर्ट गरि बनाउन लाइदिउला.

२४ सेप्टेम्वर थस्डे

अर्जेन्ट टेलीग्राम फ्रम हिज हाइनेस् महाराज एण्ड कल.

हर्खजङ्ग फ्रम हिज हाइनेस् महाराज एण्ड कल.

हर्खजङ्ग थापा इलाम

के.हरिदास प्रधानस् कर्टेज

दार्जीलिङ्ग

सेन्ड याक बाई वलाङ्गचुङ्ग एण्ड तोप्तला पास एट दि फुट अफ विच कल. यङ्ग हज्वैण्ड ओरेज टु मीट देम् इन्सटेड अफ भाया दार्जीलिङ्ग एण्ड सिक्किम एज् डिजार्ड इन् मे लास्ट इन्फर्म बोथ बाई टेलीग्राम एण्ड लेटर टु कल. यङ्ग हज्वेण्ड दि डेट अफ याक एरिबल एट् तोप्तला.

मरिचमेसिङ्ग फर महाराज

रेजिडेन्ट– चौरी दार्जलिङ्ग बाटो लगे भने धेरै मर्नेछ बलानचोक तिपताला वासको गरि आये वाहासम्म कर्णेल याङ्ग हज्वांडको मानिस लिन आउनेछ भनि निजले तार पठाएको हुनाले यो चिठी लेखेको छु. महाराजलाई नजर गराउनु. कप्तान–हुन्छ.

क–वलानचोक तिपतालाबाट चौरी ५०० लगि तिप्ताला पासमा कर्णेल यङ्ग हजवेण्डको मानिसले लिन आइ वाहाबाट लैजाने चिठी महाराजबाट लेखिबक्सेको छ. यो तपाईलाई पसन्द छ कि सोच्नु भनि महाराजबाट हुकुम भयेको छ. कसो भन्नुहुन्छ.

रे– यो ठिक छ यहिबमोजिम कर्णेल यङ्ग हज्वेण्डलाई लेखिदिन्छु.

क– टेलरसाहेबलाई सेप्टेम्वरको ३० तारिखमा घोडा १ तावाखानी पठाई दिन्छु. तपाईले भन्नु भयेबमोजिमको १ सइस पठाई दिएको छु. असलि बलियो छ. टोखानिर बाटो बनाउनलाइ गाउँलेहरूले बनाईदिनु भन्ने हुकुम गयो. गौचरमा चवुतरा बनाउनलाई ३ दिनलाई रोजको २५ कुलि दिनु भन्ने हुकुम पठाइदिए. पर्सि सोमबारको दिन फूलपाती हुन्छ. तपाईहरू मेमसाहेबहरू जानुहुन्छ कि.

रे– थांकु छ. परेडमा जाने कुरा भोलि भनुंला.

comments powered by Disqus

रमझम