२७ भदौ - २ असोज २०७२ | 13-19 September 2015

स्वपीडा

Share:
  
- जीवेश झा
आन्दोलन हिंसात्मक र साम्प्रदायिक बनाउनु मधेशीका लागि आत्महत्यासरह हो।

श्याम गुप्ता
काठमाडौंको सत्तालाई दबाब दिने निहुँमा मधेशी भूमिमा जारी हिंसात्मक प्रदर्शनले स्वयं मधेशी जनता नै सबैभन्दा बढी पीडित छन्। सदियौंदेखि काठमाडौंको बेवास्ता र हेपाइजस्ता परम्परागत अनुभूतिबाहेक जारी आन्दोलनबारे मधेशी नेताहरू नै स्पष्ट छैनन्।

अचेल तराईका शहर–बजारमा हामी अनाम र अपरिचित अनुहारले हिंसा मच्चाइरहेको देखिरहेका छौं। ती को हुन्? कुन शक्तिबाट परिचालित छन्? मधेशी नेताहरूले आन्दोलन आफ्नो नियन्त्रणमा नरहेको पटकपटक दोहोर्‍याइसकेका छन्। उसो भए आन्दोलन कसको नियन्त्रणमा छ? कसरी साम्य हुन्छ? वीरगञ्ज, गौर, जनकपुर र टीकापुरका सडकमा देखिएकाहरू को हुन्? २०७० को निर्वाचनमा पराजित मधेशी नेताहरूद्वारा आयोजित प्रदर्शनमै किन हिंसा भड्किरहेको छ? अहिलेसम्म विश्वास भएर पनि नभनिएको कुरा के हो भने दक्षिणी सीमापारबाट आएका भाडाका गुण्डाहरूले हिंसा बढाइरहेका छन्। सीमावर्ती नेपाली बजारमा पुग्ने हो भने यसलाई सबैले सहजै स्वीकार्छन्। दक्षिणी मैदानमा पहाड विरुद्ध साम्प्रदायिक द्वेषलाई हावा दिएपछि कसलाई फाइदा पुग्छ? के नेपाली संस्थापनलाई दबाब दिन नै यस्तो भइरहेको हो? यदि यसो हो भने मधेशी जनताले नै धेरै कुरा गुमाउनुपर्नेछ।

मधेशको उर्वर भूमि सभ्यताको जन्मभूमि र हाम्रा देवी देवता– राम, राजा जनक, सीता, गौतम बुद्ध र दार्शनिक कुमारी भट्टलगायतको मातृभूमि पनि हो। संस्कृतका ६ दर्शनमध्ये पाँच वटाको उद्गमस्थल मध्यतराईको मिथिला क्षेत्र हो। देवी सीताको जन्मस्थल पवित्र शहर जनकपुर अहिले मधेश संघर्षको केन्द्र भएको छ, महीना दिनदेखिको बन्दले सकसमा छ। मधेशी अधिकारका लागि भइरहेका प्रदर्शनको नेतृत्व ढुंगा हान्ने अपरिचित अनुहारको हातमा पुगेको छ। उग्रताबाट आयोजक समेत चकित छन्।

स्वार्थ बुझौ

मधेशमा मधेशी नेताहरूको छवि अन्य मूलधारका दलका नेताको जस्तै छ। सत्तामा छँदा मधेशी नेताहरूले केही गर्न सकेनन्। लघुताभासग्रस्त बद्नाम मधेशी नेतृत्व फेरि सत्ता प्राप्तिको चाहले व्यग्र छ। यो खेलको सार यही हो– मधेशको स्वतन्त्रताका नाममा आफ्नो राजनीतिक सौदाबाजीको शक्ति बढाउनु। त्यसैका लागि उनीहरू सीमापारबाट प्रायोजित भीड तराईका बजारमा उराल्दैछन्। त्यसो त मधेशमा हिंसालाई बढावा दिनेमा राजनीतिक अस्तित्वका लागि संघर्षरत नेताहरू मात्रै छैनन्, गैरसरकारी संस्था र 'एक्टिभिष्ट' हरू पनि जानाजान आगोमा घ्यू थप्ने काम गरिरहेका छन्– 'सताइएका मधेशी जनता' का नाममा दान/दातव्य प्राप्तिका लागि।

पूर्व–पश्चिम फैलिएको नेपालको मैदानी भाग स्वायत्त प्रदेश बनाइयो भने 'इकोनोमिक ड्रिमल्याण्ड' मा रूपान्तरण हुनेछ भन्दै गैससका नेताहरूले 'युटोपियन' सपना बेचिरहेका छन्। त्यसका लागि उनीहरू तराईमा राज्य असफल भएको बढाइचढाइँ गर्छन्। र, मधेशीमाथि पहाडमा विभेद छ भन्दै साम्प्रदायिक द्वेषलाई बढावा दिन्छन्। यस्तो आरोपमा केही सत्यता भए पनि खासै दम किन देखिंदैन भने, मुलुकका राष्ट्रपति, उपराष्ट्रपति लगायत धेरै राष्ट्रियस्तरका नेता मधेशी नै भएको यथार्थ हामीसामु छ।

अधिकांश मधेशीहरूले यो कुरा बुझेका छन्। तर, बेरोजगारी र गरीबीले ग्रस्त मधेशी युवालाई 'युटोपियन' सपना देखाउँदै उत्तेजित बनाउन नेता, गैसस र 'एक्टिभिष्ट' हरूलाई अप्ठ्यारो छैन। मधेशका वास्तविक छोरा–छोरीले वर्षौंदेखि यहींको माटोमा हाड घोटिरहेका छन्। फसल उत्पादन गरिरहेका छन्। जहाँसम्म उत्तरप्रदेश र बिहारबाट भइरहेको बसाइँसराइको कुरा हो, त्यसप्रति काठमाडौंवासीभन्दा मधेशीहरू नै बढी चिन्तित छन्। राजनीतिज्ञले निर्वाचनमा मत पाउन यस्ता कुरालाई बढावा दिन्छन्। वास्तवमा मधेश आन्दोलन त मधेशका विकृति र विसंगति विरुद्ध हुनुपर्थ्यो।

आन्दोलन हिंसात्मक बनाउनु र पहाडी समुदाय लखेट्नु मधेशीका लागि आत्महत्यासरह हो। आउनुहोस्, एकपटक होइन दुईपटक गम्भीर भएर सोचौं– हामी कता गइरहेका छौं, हाम्रा वास्तविक शत्रु को हुन्? नेपालीबीच एकता कायम गरौं। मधेशमा भइरहेको हिंसाले पहाडमा मधेशी विरुद्ध अर्को हिंसाको सुरुआत नहोस् भन्ने कुराको सुनिश्चित गरौं, किनभने मधेशमा हिंसा गराउनेहरूको चाहना नै यही हो।

मधेशी नेता र प्रशासन दुवैले समुदायबीचको पुल भत्काउने होइन, बनाउने पहल गर्नुपर्छ। आफैंलाई पीडा दिने सनक रोकौं। अहिलेको हिंसात्मक आन्दोलनले कसैको पनि हित गर्दैन, मधेशीलाई त गर्दै गर्दैन।

(काठमाडौं विश्वविद्यालयका स्नातक झा भारतको देहरादुनमा कानून अध्ययन गरिरहेका छन्।)

comments powered by Disqus

रमझम