'सद्भाव भन्ने चिज बाघको दूध होइन'

Share:
  

नयाँ संविधानमा अधिकार र पहिचानका कतिपय आवाज दबाउन खोजिएको भन्दै आन्दोलन जारी छ। यसक्रममा हिंसा भड्किएको छ, सदियौंको सद्भावमा तुष पलाएको छ। यो वेला काठमाडौंको थबहीमा जन्मेहुर्केका नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठ (८०) हरेकको 'चित्त शुद्ध र बोली बुद्ध होस्' भन्ने कामना गरिरहेका छन्। वर्तमानको देशबारे उनै श्रेष्ठसँग गरिएको कुराकानीको अंश :

विक्रम राई
दुर्गालाल श्रेष्ठ, कवि
'फूलको आँखामा फूलै संसार...' जस्तो कालजयी गीतका सर्जक तपाईंले 'फूल मात्र भएर हुँदैन, काँडा पनि फूललाई हेर्दै फूल बन्नुपर्छ' भन्नुभएको छ। यसको अर्थ के हो?

फूलको आँखामा फूलै संसार त हो, तर त्यो फूलको हाँसो राम्ररी देखियोस् भनेर काँडा नै अलि ओझेल परिदिन्छ कि जस्तो लाग्छ मलाई। मान्छेको नजरमा काँडा भन्नेवित्तिकै अलि बिझाउने जस्तो लाग्छ। तर, मलाई लाग्छ, फूलको पहरा काँडा पनि फूल हो।

त्यो हिसाबले अहिलेको नेपाली समाजमा को फूल को काँडा?

हुनुपर्ने के हो भने काँडाले पनि फूलसँग बस्दा आफूलाई फूलै पाओस्। खराब हाम्रै आँखा हो, हामी फूल र काँडा भन्छौं। अहिलेको राजनीतिले पनि कसैलाई फूल त कसैलाई काँडा देखिरहेको छ। यो वेलालाई हामी किन बिहान, दिउँसो र रात भन्छौं? त्यो सब समय होइन र?

तपाईंले गीतमा 'वस्तु अनुसार' भन्नुभएको छ, तर भइरहेको छ– जाति, वर्ग र धर्म अनुसार। किन यस्तो?

हेर्ने आँखा नै हो, तर देख्ने मन हुन्छ। फूलजस्तो शुद्ध मनले हरेक वस्तु सग्लो–सुन्दर देख्छ। यतिवेला भने तपाईंले भनेजस्तै भइरहेको छ। एउटा संविधान बनाउँदा मन होइन, अनेक आँखा हावी भइराखेको छ। ती आँखाहरू आफ्नो जाति, धर्मप्रति आग्रही र अरुप्रति संकीर्ण छन्। उसलाई मैले आफूजस्तै हेर्न सके के बिगार हुन्छ र? को पराइ हुन्छ र? यस्तो कुरा किन नबुझ्ोको? मलाई लाग्छ, संसार बांगो हुँदै गइरहेको कारण हाम्रो आँखा नै टेढो भएर हो। टेढो आँखा सोझ्याउने अस्पताल चाहिएको छ।

उसो भए संविधान निर्माणमा बाधा भइरहनुको कारण राजनीति गर्नेहरूको स्वार्थ नै हो त?

आफूलाई कत्ति, के के जस्तो किन ठान्छु म, जबकि अनायास आएर, अनायासै जान्छु म। कुरा यही अहंमा छ। हामी भन्छौं– ओहो कस्तो चहकिलो, झ्ालमल्ल हिमाल। तर, हिमाल चम्केको, कसैले उसलाई झलल्ल देखुन् भनेर होइन। उसलाई त्यसै झलल देखियो। उसको विनम्रता हो, झल्किनु। त्यसैले कसैको आँखामा राम्रो छाउन विनम्रता भए पुग्छ। यही विनम्रता नै हो, अहिले नेताहरूबाट जनताले खोजेको। उनीहरूले आफ्नो छाती हिमालै भएर देखाउनुपर्छ। तर, त्यस्तो छाती अहिलेका नेताहरूमा देखिंदैन।

तपाईं दशकौंबाट नेपालभाषा संरक्षणमा लागिरहनुभएको छ। पहिचानको समर्थक र विरोधीका नाममा अहिले भइरहेको आन्दोलनप्रति के टिप्पणी छ?

पहिले त हामीले बुझ्नुपर्छ कि, नेपालीले संसारमै नभएको संघीयता मागेका होइनन्। अर्को कुरा, पहिचानको आधार जातीय मात्रै हुँदैन। एउटै जातिभित्र पनि शोषण, विभेद भइरहेको हुन्छ। जातीयतालाई मात्र लिएर जाँदा देश बन्दैन। फेरि वर्गका कुरा गरेर मात्र पनि हुँदैन। बहुजातीय नेपालमा सम्पूर्ण जातिले समान रुपमा फस्टाउन पाउनुपर्छ। जातजाति फस्टाउँदा नै नेपाल बन्छ। नेताहरूले संख्याका आधारमा जातिहरूलाई सानोठूलो मान्न मिल्दैन। अल्पसंख्यक जातिलाई हेर्ने दृष्टि पनि उस्तै विशाल हुनुपर्छ। जातीय विविधता नै नेपालको राष्ट्रियता हो। जम्मैको आफ्नोपनलाई जोगाउँदा नै विविधताको इन्द्रेणी बन्छ, त्यही हो राष्ट्रियता र लोकतन्त्र।

तपाईंले कल्पेजस्तो समाज निर्माणमा नेताहरू कत्तिको गम्भीर देख्नुहुन्छ?

दुःखको कुरा नै यही हो। उहाँहरू अनुदार हुनुभएको छ। संविधानले सबैको समस्याको समाधान नगर्ला, तर धेरैको चित्त त बुझाउनुपर्छ नि! नेताहरूले यही कुरा नबुझ्दा आन्दोलन भइरहेको छ।

जातीय राजनीतिलाई सत्ताको भर्‍याङ बनाउनेहरू पनि त छन् नि, होइन?

पहिले मेरो झुकाव कम्युनिष्टप्रति थियो। अहिले आएर उनीहरूको टुपी कसैको भन्दा छोटो भएन। यिनीहरूको छुद्रता र स्वार्थले समस्या निम्तियो। माओवादीहरूले भूमिगत अवस्थाबाट पार पाउन लाग्दा उपत्यकामै भएको एउटा कार्यक्रममा म पनि पुगेको थिएँ। त्यहाँ प्रचण्ड, बाबुराम, हिसिला र अरु–अरु थिए। उनीहरूले जातीय मुक्ति माओवादीको प्रमुख उद्देश्य भएको बताए। त्यो सुनिरहेका नेवारहरू फुरुंग थिए। चुनावमा भोट पनि दिए, तर अहिले सबका आँखा खुलेको हुनुपर्छ। राजनीतिक दलहरूकै छलले मजस्ता धेरै जनता यतिवेला आस्थाको घायल भएका छन्। दुख्ने कुरा यही हो।

विदेशी शक्तिका कारण संविधान नबनेको ठान्नेहरू पनि छन्। तपाईं के देख्नुहुन्छ?

संविधान बनाउन तम्सेका हाम्रा सबै नेता आ–आफ्नै प्रकारका संघर्षबाट खारिएका छन्। यिनीहरूले देश नबुझ्ोको भन्ने कुरै होइन। र पनि, सरल कुरा बांगिन पुगेको छ। यसमा कुनै साम्प्रदायिक दुर्गन्ध पनि घुसेको हुनसक्छ, अनेकानेक स्वार्थ हुनसक्छन्। कसैलाई स्थिति यस्तै राखिदिऊँ भन्ने होला। नेपाललाई जहिल्यै भुईंचालोले हल्लाइरहेजस्तो होस्, हामी हिलोमा माछा समाउन सकौं भन्ने छिमेकी पनि छन्।

टीकापुरको हिंसात्मक आन्दोलनलाई यससँग जोडेर हेर्न मिल्ला?

टीकापुरको घटनामा घूसपैठ भएको कुरा आएको छ। यो घूसपैठी को हो? चिन्न मुश्किल पर्छ। हिलोमा माछा मार्नेहरू हाम्रो माटोलाई बेस्मारी चलाइराखेका छन्।

देश टुक्र्याउन हिंड्नेहरूबारे चाहिं तपाईं के भन्नुहुन्छ?

देशै छुट्याउनको निम्ति कसैलाई अघि सारेको पनि पढिएको छ। तर, त्यो व्यक्ति वा शक्तिले चाहेर नेपाल बनेको हैन र उनीहरूले चाहेर टुक्रिंदैन पनि। दुई वटा ढुंगाले बीचको तरुललाई सन्चोसँग बस्न नदिएको चाहिं सत्य हो। लिपुलेकमा उत्तरी छिमेकी पनि पीडक नै देखिएको छ।

तपाईंले गीत–कवितामा बुद्धवाणीहरू प्रयोग गर्नुभएको छ, तर कोही नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन अनशन बसिरहेका छन्। के भन्नुहुन्छ?

म कुनै खास धर्मको निमित्त लागेको छैन, लाग्दिनँ र लाग्न पनि नपरोस्। धेरै धर्म भएको देशमा राज्यले पनि गर्ने यस्तै हो। नेपाल त्यो देश हो, जहाँ बुद्ध नै जन्मे। अब बौद्ध धर्म नेपालको राजधर्म हुनुपर्छ भन्दै अनशन बस्ने? राज्यले सबै धर्मको सम्बर्द्धन गर्नुपर्छ, कुनै एकप्रति अपेक्षा, आग्रह वा पूर्वाग्रह झ्ाल्कन दिनुहुँदैन।

एउटा कविको नजरले हेर्दा देशको समग्र राजनीतिक–सामाजिक अवस्था कस्तो देख्नुहुन्छ?

अगति भन्ने हुन्छ एउटा– प्रेतात्मा जस्तो। त्यसले खुट्टा चालिराखेकै हुन्छ तर कहीं पुगिरहेको हुँदैन। अहिलेको शासकीय खुट्टा त्यस्तै भएको छ। जसले राजतन्त्रलाई घोक्र्यायो, उसैले राजतन्त्रका लागि दैलो खोलेको छ। म कुनवेला आऊँ भनेर राजा पर्खिबसे जस्ता लाग्छन्। आउनुपर्ने कुरा आइराखेको छैन। लोकतन्त्रको स्वाद चाख्न पाइएको छैन। कोही पनि कहीं पुगिराखेका छैनन्।

जातीय सद्भाव भड्किएला कि भन्ने त्रासलाई लिएर तपाईंको कवि हृदय के भन्छ?

मलाई यो सद्भाव भन्ने कुरा कुनै बाघको दूध हो भन्ने लाग्दैन। कसैको पहिचान नमरोस् भन्ने शासकीय शुद्ध मन भइदिए सद्भाव आफैं मौलाउँछ। शासक उदार भइदिए एउटा जातिको संस्कृति स्वतः अर्कोमा, अर्कोको आफ्नोमा सर्छ, जसरी हामी भाषाको अनुवाद गर्छौ। राज्यले यसरी एउटाको आत्माले अर्काको आत्मामा तादाम्यता पाउने वातावरण बनाए नेपालमा लाखौं आत्मा एक भएर रमाउँथ्यो।

त्यसमा कत्तिको आशावादी हुनुहुन्छ?

विश्वास यही हो है मेरो बाँच्ने मुख्य अडान, यो विध्वंशबाट उदाउँछ नौलो सृष्टि बिहान।

comments powered by Disqus

रमझम