२७ भदौ - २ असोज २०७२ | 13-19 September 2015

अक्वारियम आकर्षण

Share:
  
पहिले हुनेखानेका घरमा मात्रै सजिने अक्वारियम अहिले हुँदा खानेको घरमा पनि देखिन थालेको छ।

साथी र सुरक्षाका लागि घरमा कुकुर, बिरालो, सुगा आदि पाल्ने चलन पुरानै हो। तर, माछा पाल्नुमा सोखको भूमिका बढी देखिन्छ। अक्वारियममा रंगीचंगी माछा हालेर सजावट सामग्रीका रूपमा प्रयोग गर्नुले घरको शान बढाउने विश्वास गर्ने पनि धेरै छन्।

“मूल ढोकाको ठ्याक्कै अगाडिपट्टि अक्वारियम राखेकी छु”, गोंगबुकी कल्पना बस्नेत (२६) भन्छिन्, “पाहुना वा आफैंलाई पनि घरभित्र छिर्नुभन्दा पहिले माछा देखेर आनन्द आओस् भनेर यसो गरेकी हुँ।” उनीकहाँ ९*१८ इन्चको अक्वारियममा ८ वटा गोल्डफिस छन्। १० वर्षअघि पहिलोपटक अक्वारियम राख्न थालेकी कल्पनालाई यसले घरको आन्तरिक सौन्दर्यमा ओज थपेको महसूस हुन्छ। जोरपाटीस्थित ए.एस अक्वारियम फिस शपका सञ्चालक एवं पोन्ड एन्ड फिल्टरेशन विशेषज्ञ आकाश रेग्मीका अनुसार चार/पाँच वर्षयता घरमा अक्वारियम राख्नेको संख्या बढेको छ। उनी भन्छन्, “पहिले–पहिले अलि हुनेखानेले मात्रै अक्वारियम राख्थे भने अहिले एउटा कोठा भाडामा लिएर बस्नेले पनि राख्न थालेका छन्।”

बजारमा सानो बाउल (कचौरा आकारको भाँडो) देखि १० फिटसम्मका अक्वारियम पाइन्छन्। प्रायः अक्वारियम फिस पसलमै कस्टम ग्लास निर्माण गरिने भएकाले ग्राहकले आफूलाई उपयुक्त आकार–प्रकारको अक्वारियमको अर्डर गर्न सकिन्छ। त्यसो त बजारमा तयारी चिनियाँ अक्वारियम पनि उपलब्ध छन्।

अक्वारियममा हाल्नकै लागि भनेर माछालाई विशेष प्रविधिबाट हुर्काइन्छ। नेपालमा भारतीय र थाइल्यान्डका अक्वारियम फिस पाइन्छन्। विगत पाँच वर्षदेखि अक्वारियम फिसको व्यापार गर्दै आएका रेग्मी भन्छन्, “भारतीय माछा सस्ता र कमजोर हुन्छन्। थाई माछाहरू निकै बलिया हुन्छन् र यी महँगा पनि छन्।”

अक्वारियममा हुर्किने माछा खोला वा ठूला पोखरीमा बाँच्दैनन्। त्यसैले माछालाई अक्वारियममा राखेकोमा चित्त दुखाउनेहरूले यिनलाई खोलामा छाडिदिने भूल गर्नुहुँदैन।

सतर्कता

अक्वारियम राख्ने ठाउँबारे विचार पुर्‍याउनुपर्छ। सन्तुलन नमिलेको ठाउँमा राख्नुहुँदैन। अक्वारियम राख्ने ठाउँ अनुसारकै अक्वारियम किन्नुपर्छ। “त्यसभित्र सफा पानी हाल्नुपर्छ”, पोन्ड एन्ड फिल्टरेशन विशेषज्ञ रेग्मी भन्छन्, “र, वेला–वेला पानी फेरिदिनुपर्छ।” पानी फेर्दा अक्वारियमको सम्पूर्ण पानी एकैपटक निकाल्न नहुने उनको सुझाव छ।

अक्वारियम अड्याउन थर्मकोल वा म्याट प्रयोग गर्नुपर्छ भने फिल्टरेशनका लागि पनि अक्वारियमकै आकारको फिल्टर किन्नुपर्छ। अक्वारियममा माछा हालिसकेपछि त्यसभित्र बारम्बार हात हालिरहनुहुँदैन। चाहिनेभन्दा बढी आहारा पनि हाल्नुहुँदैन। अक्वारियम उज्यालो ठाउँमा राख्नु राम्रो मानिन्छ।

माछाहरू पनि फरक फरक स्वभावका हुन्छन्। कुनै माछा रिसाहा हुन्छन् र कुनै नरिसाउने। नेपालमा पाइने लगभग ५४ प्रजातिका गोल्डफिस नरिसाउने (नन–अग्रेसिभ) खालका छन्। ओस्कार, स्वर्डटेल माछा भने रिसाहा हुन्छन्। दुई थरीका माछा एउटै अक्वारियममा राख्नुहुँदैन।

अक्वारियम फिल्टर र पानीको पाइपको अवस्था परीक्षण गरिरहनुपर्छ। अक्वारियमलाई एयर–कन्डिसनर वा हीटरको छेउमा राख्दा यसभित्रको तापक्रम घटबढ हुनसक्छ, त्यहीकारण माछा मर्न सक्छन्। यसतर्फ पहिल्यै ध्यान दिनुपर्छ।
अक्वारियमलाई आकर्षक देखाउन यसभित्र थरी–थरीका बत्ती जडान गर्न सकिन्छ। बिजुलीका तार वा पानीका नालालाई तुर्लुङ्ग झुन्डिन नदिन भित्रपट्टि र्‍याक वा खण्ड भएको अक्वारियम–स्ट्यान्ड प्रयोग गर्दा राम्रो देखिन्छ।

प्रस्तुतिः सजना बराल

comments powered by Disqus

रमझम