२७ भदौ - २ असोज २०७२ | 13-19 September 2015

सबैका लागि तोत्तो–चान

Share:
  

तेच्चुको कुरोयानागी (तोत्तो–चान) युद्धको छेको पारेर १९३३ अगस्तमा टोकियोमा जन्मिइन्। उनले कखरा सिकेको तोमोए प्राथमिक विद्यालय जापानले चीनमाथि आक्रमण गरेकै साल सन् १९३७ मा खुल्यो र दोस्रो विश्वयुद्धको अन्तिम–अन्तिम बमबारीमा ध्वस्त भयो। युद्धको उन्माद र पीडासँगै हुर्किएकी तोत्तो–चानले पछि टोकियो संगीत कलेजबाट स्नातक गरिन् अनि न्यूयोर्कमा अभिनय तालीम लिइन्। जापानकी लोकप्रिय अभिनेत्री र टेलिभिजन कार्यक्रम प्रस्तोताहुँदै उनी कालान्तरमा चर्चित लेखिका एवं मानवसेवी बनिन्। उनको विराट व्यक्तित्वको जग भने तोमोए विद्यालयका सोसाकु कोबायाशी सरले नै बसाइदिएका थिए।

तोत्तो–चान झ्यालमा रमाउने त्यो सानी केटी
लेखक तेच्चुको कुरोयानागी

नेपाली अनुवाद डा. सरोज धिताल

प्रकाशक ज्ञान–विज्ञान शैक्षिक सहकारी संस्था लि.

पृष्ठ २००+२०,

मूल्य रु.२५०

कोबायाशी सरले खोलेको तोमोए प्राविमा बितेको बाल्यकाल सम्झेर १९८१ मा तेच्चुको कुरोयानागीले लेखेको तोत्तो–चानः झ्यालमा रमाउने त्यो सानी केटी किताबले उनलाई विश्वमै सर्वाधिक पढिने लेखिका र युनेस्कोको अविस्मरणीय राजदूत बनायो। जापानमा पहिलो वर्ष ४५ लाख प्रति र पहिलो चिनियाँ संस्करणमा तीन करोड प्रति बिक्री भएको यो किताब ३० देशका ६० भाषामा अनूदित छ। यसको नेपाली संस्करण भने हालै मात्र आएको छ, शिक्षक मासिकको प्रकाशक संस्था ज्ञान–विज्ञान शैक्षिक सहकारी संस्था लिमिटेडबाट।

चकचकेको आरोपमा पहिलो विद्यालयबाट निकालिएकी तोत्तो–चानलाई चिन्तित आमाले नयाँ विद्यालय लैजाँदै गरेको दृश्यबाट पुस्तक शुरु हुन्छ। बालबालिकाका लागि स्वतन्त्र वातावरण भएको विद्यालय खोजिरहेकी आमा प्रधानाध्यापक कोबायाशीको रेलका थोत्रा डिब्बाहरु मिलाएर बनाएको विद्यालय पुगेपछि राहत महसूस गर्छिन्। तोत्तो–चान भने खेल्ने गज्जबको ठाउँ पाएकोमा दंग पर्छिन्। जसरी सिक्दा पनि हुने विद्यालयमा कोबायाशी सरले बालबालिकालाई शिक्षाप्रति कसरी अभिप्रेरित गरे, गुरु–शिष्य सम्बन्ध कसरी विकसित भयो, पोलियो पीडित एउटा फुच्चे कसरी तोत्तो–चानको अभिन्न साथी बन्न पुग्यो जस्ता अनेक प्रसंग एउटी बालिकाले औपन्यासिक शैलीमा सम्झेकी छन्। कुरोयानागीले विश्वयुद्धका बीच पनि कोबायाशी सरले कसरी टोकियोको त्यो सानो स्वर्गमा आफूहरुलाई निष्पि्कक्री जीवनका लागि तयार गरे भनेर सम्झेकी छन्। तर, दोस्रो विश्वयुद्धको अन्त्यतिरको एक दिन विद्यालयमा बम खस्छ र उनीहरुको पढाइ सकिन्छ।

किताब पढिरहँदा कतै आँखा रसाउँछन्, कतै गला अवरुद्ध हुन्छ त कतै मुस्कान छुट्छ। कोबायाशी बितेको करीब २० वर्षपछि तोमोएका दिनहरु सम्झ्ाँदै गर्दा कुरोयानागीले आफ्नो बाल्यकाल त उनै सरको सुविचारित योजनामा पो बितेको रहेछ भन्ने थाहा पाउँछिन्। किताबको उपसंहार कुरोयानागीले तोमोएका सहपाठीहरुलाई खोजीखोजी भेटेको घटनाबाट हुन्छ, जो आ–आफ्नो क्षेत्रमा विशिष्ट भएका रहेछन्। तोत्तो–चानः झ्यालमा रमाउने त्यो सानी केटी को प्रकाशनपछि १९८४ बाट लामो समय युनिसेफकी सद्भावना दूत भएकी कुरोयानागी अहिले पनि 'तोत्तो–चान फाउण्डेसन' मार्फत मानवसेवा गरिरहेकी छन्।

डा. सरोज धितालले १९८४ मा डोरोथी ब्रिटोनले गरेको अंग्रेजी अनुवादबाट किताबलाई नेपालीकरण गरेका छन्। 'नेपालीकरण' मा पनि अनुवादकले स्रोतको मिठासलाई रत्तिभर मर्न दिएका छैनन्। यो किताब प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी सँगै सबैको लागि हो।

आनन्द पी राई


पुस्तक चिनारी

भागेर भूगोलभरि

विधा कविता

लेखक रमेश सायन

प्रकाशक शब्दहार क्रियशन्स

पृष्ठ ७२+१२,

मूल्य रु.२००

३२ वटा कविताको संग्रह 'भागेर भूगोलभरि' ले रमेश सायनलाई प्रतिभाशाली कविको लहरमा उभ्याएको छ। भागदौड र यात्रा मनपराउने यी कवि कविताले आफूलाई एक्लो हुनबाट जोगाएको दाबी गर्छन्।

गाउँघरका कथाव्यथा

विधा कथा

लेखक रुकु कार्की

प्रकाशक रत्न पुस्तक भण्डार

पृष्ठ १३६+१४ मूल्य रु.१९५

रुकु कार्कीले समाजबारे आफ्नो धारणा र कल्पनाशीलतालाई कथासंग्रह 'गाउँघरको कथाव्यथा' मार्फत प्रस्तुत गरेकी छन्। १३ वटा कथाको संग्रहमा महिला हिंसा, सामाजिक भेदभाव र महिलाका संवेदना समेटिएको छ।

विसङ्गति

विधा कविता

लेखक डीबी पालुङ्वा

प्रकाशक साहित्य प्रतिष्ठान, हङकङ

पृष्ठ ५८+२३,

मूल्य रु.१५०

ताप्लेजुङमा जन्मेका डीबी पालुङ्वा हङकङमा देश सम्झ्ान्छन् र कविता कोर्छन्। यिनै कविताको संग्रह हो, 'विसङ्गति'। १८ वटा कविताको यो संग्रहमा कवि वर्तमानका विकृतिमा प्रहार र मानवजातिप्रति आशा र सन्देह व्यक्त गर्छन्।

एकाग्र

विधा गजल

लेखक नवराज घिमिरे

प्रकाशक रिड मिडिया प्रालि

पृष्ठ १०८+८

मूल्य रु.१००

आफ्नो पहिलो गजल संग्रह 'एकाग्र' मा नवराज घिमिरे एकाक्षरी अक्षरको प्रयोग गरेको दाबी गर्छन्। संग्रहमा रहेका ८१ वटा गजललाई साहित्यकार देवी नेपालले गजलको दुनियाँमा प्रयोग मानेका छन्।

comments powered by Disqus

रमझम