२७ भदौ - २ असोज २०७२ | 13-19 September 2015

जात्राका बाधक

Share:
  

सविता श्रेष्ठ

पुरानो नेवार बस्ती रहेको उपत्यकामा ठूला जात्रा–पर्वको समय शुरू भएको छ, तर झ्ँकीका लागि भित्री गल्लीहरू पूरै अनुपयुक्त हुन पुगेका पाटनको मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधान बताउँछन्। जात्रा परिक्रमाको बाटै छेकिएको बताउँदै उनी भन्छन्, “अब यो वर्ष टेको लगाएका घर नभएका बाटोमा मात्र जात्रा निस्कन्छ।”

संघले गाईजात्राको दिन १३ भदौमा बाजागाजा र भजन मण्डल विना पूजामा सहभागी हुन टोलवासीलाई अनुरोध गरेको थियो। उपत्यकामा इन्द्रजात्रा, रातो मत्स्येन्द्रनाथ जात्रा र बिस्केट जात्रा धुमधामसँग मनाइन्छ। यससँगै गाईजात्रा, सेतो मत्स्येन्द्रनाथ, ता मच, कोलुकयात, घोडेजात्रा, बाघ भैरव, श्रीनरसिंह, पाँहा चह्रे, बाला चह्रे, पचली भैरव लगायतका जात्रा–पर्व मनाइन्छ। यस्ता जात्रामा रथ तान्ने, खट बोक्ने र बाजागाजा सहितका नाच गरिन्छ। तर, भूकम्पका कारण यस्ता जात्रा–पर्व सञ्चालनमा बाधा पर्नुका साथै आफन्त गुमाएका र घरविहीन भएकाको मन पनि चंगा नभएको संस्कृतिविद् डा. चुन्दा बज्राचार्य बताउँछिन्।

गाह्रो भयो प्रमुख जात्रा

काठमाडौंको हनुमानढोकामा पूजा गरी बिहान इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि ८ दिनसम्म मनाइने इन्द्र जात्रा (यें या पुन्ही) ८ असोजबाट शुरू हुँदैछ। राजा गुणकामदेवको पालाबाट शुरू भएको इन्द्र जात्रालाई काठमाडौं उपत्यकाको प्रमुख जात्रा मानिन्छ। यही अवसरमा हनुमानढोका अगाडिको श्वेत भैरव र इन्द्रचोकको भैरव मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ। जात्राको पहिलो तीन दिन जीवित कुमारी, गणेश र भैरवको रथलाई वसन्तपुर क्षेत्रमा परिक्रमा गराइन्छ। राष्ट्रप्रमुखले कुमारीको दर्शन गरेपछि रथयात्रा शुरू हुन्छ। जात्राको समयमा लाखे, आकाश भैरव, दश अवतार लगायतका नाच देखाइन्छ।

तर, इन्द्रजात्रा मनाइने वसन्तपुर दरबार क्षेत्रमा भूकम्पले बढी क्षति गरेको छ। कुमारीको दर्शन गर्न राष्ट्रप्रमुख बरण्डामा उभिने गद्दीबैठक घर भत्किएको छ। बसन्तपुर डबलीमा टेन्टको घर बनाएर राष्ट्रप्रमुखलाई दर्शनको व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्र पठाएको इन्द्रजात्रा व्यवस्थापन समितिका महासचिव बाबुराजा महर्जन बताउँछन्। हनुमानढोका दरबार क्षेत्र र त्यस वरिपरिका मरु, मखन, नरदेवी लगायतका पुरानो बस्तीमा धेरै घर अहिले टेकोले धानिएका छन्। इन्द्रजात्रा व्यवस्थापन समितिका महासचिव महर्जन भन्छन्, “महाभूकम्पको यो विनाशबाट उठ्न चानचुने तयारीले पुग्दैन।”

तस्वीरः एएफपी
जीवित देवीका रुपमा मानिने काठमाडौंकी कुमारीलाई इन्द्रजात्राका दिन रथमा राखेर परिक्रमा गराउने परम्परा छ।

तस्वीरहरुः गोपेन राई
बसन्तपुरस्थित कुमारी घर ।

उता, ललितपुरमा भूकम्पका कारण रोकिएको रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरू गर्न ४ असोजको साइत जुरेको छ। स्वस्ति–शान्ति र क्षमा पूजापछि रथारोहणको तयारी थालिएको गुठी संस्थान ललितपुर शाखाका प्रमुख रुद्रनाथ अधिकारी बताउँछन्। ६ वैशाखमा बुङ्मतीमा रथारोहण गरेर ९ वैशाखदेेखि शुरू भएको रातो मत्स्येन्द्रनाथको रथयात्रा ११ वैशाखमा छयासीकोट पुगेपछि रोकिएको थियो। उपत्यकाको सबभन्दा लामो दूरीमा चल्ने रातो मत्स्येन्द्रनाथको जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने परम्परा रहेकोमा यो वर्ष भूकम्पले बीचमै बिथोलिदियो।

३२ हात अग्लो, ३२ हात लामो र गुडाउने पाङ्ग्र्राको परिधि पनि ३२ हातकै हुने रातो मत्स्येन्द्रनाथको रथलाई हरियो धुपीले सजाएर घुमाइन्छ्र। रथ पल्टिए, भाँचिए वा रोकिए अनिष्ट हुन्छ भन्ने जनविश्वास छ। कदाचित दशैंअघि जात्रा नसकिए रथलाई भक्तपुर लगेर जात्रा गर्नुपर्ने पुरानो भनाइ सुनिन्छ। २०६६ सालमा रथ भाँचिंदा पुनः रथ निर्माण गरेर जात्रा गरिएको थियो। हरेक १२ वर्षमा बुङ्मतीमा मत्स्येन्द्रनाथको रथ बनाएर ललितपुर नगर परिक्रमा गराई पुनः बुङ्मतीमै लगेर समापन गरिन्छ। जावलाखेल र बुङ्मतीमा भोटो देखाइन्छ। मत्स्येन्द्रनाथको रथलाई बुङ्मतीबाट सोह्रखुट्टेहुँदै नख्खु खोलामा मेला भराएर युरिखेल, पुल्चोक, गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोलहुँदै जावलाखेल ल्याउने चलन छ। १२ वर्षे बाहेकको समयको जात्रामा भने मत्स्येन्द्रनाथको रथलाई पुल्चोकबाट जावलाखेल पुर्‍याएर भोटो देखाई समापन गरिन्छ। संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार, राजा नरेन्द्रदेवको पालाबाट मत्स्येन्द्रनाथको भोटो देखाउन थालिएको हो।

यो पटक बुङ्मतीबाट पुल्चोकसम्मको बाटो ठीकै भए पनि गाःबहाल, मंगलबजार, थपाहिटी, सुन्धारा, महाबौद्ध र पुल्चोक क्षेत्रका भित्री बाटाहरूमा टेकोको अवरोध छ। यसअघि यस्तो अप्ठ्यारो अवस्था आउँदा मत्स्येन्द्रनाथलाई रथबाट निकालेर खटमा बोक्ने गरिएको संस्कृतिविद् डा. चुन्दा बज्राचार्य बताउँछिन्। “प्राकृतिक विपत्ति वा रथमा क्षति भएमा त्यसको चार दिनपछि यो तरीका अपनाइन्छ। १९९० को भूकम्पपछि र २०४६ सालको आन्दोलनअघि काठमाडौंको सेतो मत्स्येन्द्रनाथको रथमा आगो लाग्दा पनि यस्तै तरीका अपनाइएको” डा. बज्राचार्य बताउँछन्।

comments powered by Disqus

रमझम