भेटिएन 'खसान', 'जडान'

Share:
  
- डा. रमेशकुमार ढुंगेल
इतिहासमा खसहरूको सीमा छेउका वा कथित जाड वा जाडेका सीमावस्ती जनाउन प्रयोग भएका “खसान” र “जडान” नाममा आधारित संघीय प्रदेश हास्यास्पद छन्।
p41
 
 

नेपालमा जातीय पहिचान र राज्य पुनःसंरचनाको सन्दर्भमा 'जडान' र 'खसान' को प्रसंग उठाइएपछि यिनको ऐतिहासिकता, भाषिक व्युत्पत्ति, कथित 'जड' वा 'जाड' को खस्खस् मेट्नुपर्ने भयो। तर, उपलब्ध ऐतिहासिक स्रोतहरू केलाउँदा बृहत्तर खस समुदाय र त्यस नामले चिनिने शासन तथा क्षेत्रमा न 'खसान' र 'जडान' राज्य वा प्रदेश पाइयो न त भाषा। इतिहासमा खसदेश, खसमण्डल, खसियाराज, खसप्रदेश, खसदेशाधिराज, खसियाराजा, खसदेशराजाधिराज र खसजाति वा समुदायको विषयमा भने प्रशस्तै वर्णन पाइन्छन्। यदाकदा 'जाडे', 'जाड' वा 'जड' शब्दको प्रयोग भेटिए पनि त्यो नाम भोट–हिमाल भेकका कन्दरामा बसोबास गर्ने, मादक पदार्थ उपभोग गर्ने, पुरातन शैलीको जीवनयापन गर्ने, आफ्नो समुदाय बाहिरका ज्ञानमूलक विषयमा चासो नराख्ने मानिसहरूलाई चिनाउन अन्य समुदायले चलाएको पाइन्छ।  
 
'खसान' र 'जडान'  
'खसान', 'जडान' वा 'भुटान' शब्द 'मुग्लाना', 'मुग्लान', लिम्बुवान, खम्बुवान जस्तो उर्दू–पर्शियनको 'आना' वा 'आन' जोडिएर नभई संस्कृतको 'अन्त' प्रत्यय लागेर बनेका हुन्। जस्तै, भोट्ट+अन्त–भोटान्त वा भोटाङ तथा भुटान र खस+अन्त वा जड+अन्त भएर 'खसान' र 'जडान'। त्यसैले, 'खसान्त' वा 'खसान' खस समुदायको बसोबास क्षेत्रको सीमान्त वा छेउको इलाका तथा 'जडान्त' वा 'जडान' शब्द 'जड', 'जाड' वा 'जाडे' समुदायका मानिसको सीमान्त वा छेउको इलाका बुझाउन प्रयोग भएको बुझनुपर्छ, राज्य जनाउन होइन। 

पर्वतका राजा शाहीबम मल्लको खस वा पर्वते र तिब्बती लिपिमा लेखिएको जोमसोम नजिकको ठिनी गाउँमा प्राप्त वि.सं. १७२४ (शाके सम्वत् १५८९) को एउटा आदेशपत्रमा मुस्ताङ दक्षिण र म्याग्दी उत्तरका थाक आदि इलाकालाई खसहरूले बसोबास गरेका ठाउँको उत्तरपूर्वी सीमा क्षेत्रको रूपमा चिनाउन 'खसान्त' भनिएको छ। त्यसैगरी, श्रीपालीबम ठकुरी वंशको पुरानोबाट सारिएको लेखोटमा खस साम्राज्यका संस्थापक नागराजले पश्चिम तिब्बतमा जितेका अनेक राजामध्ये जाडे राजाको उल्लेख छ। रावल, विष्ट, खरेल, साउदको रूपमा चिनिने नागराजकै वंशका खस मल्लका सन्तानहरू नै भोटान तथा करान आदि दराका जाड मानिन्छन् भन्ने समेत उल्लेख भएकोले 'जडान' र 'खसान' इलाका तथा समुदाय छुट्याउन कठिन छ। 

p42
 
खस देशका काजी साउना कार्कीले बुद्ध मूर्ति
स्थापना गरेर राखेको अभिलेख।

जुम्लातिरका 'पावै' खस (मतवाली क्षेत्री वा खस) हरूको अरू खसका जस्तै थरले श्रीपालीबम ठकुरीको वंशबारेको लेखोटलाई थप पुष्टि गर्छ। जुम्ला भेकको 'भोटान दरा' भोट सीमा क्षेत्रसँग सम्बन्धित भएको स्पष्टै छ। खस वंशका शक्तिशाली राजा क्राचल्ल (ढाग् पा दे) को समयताका जाहड (याहड) नामका खस सामन्त र तिनका नातेदारले राज्य गरेको क्षेत्रलाई जहाड वा जाड भनिएको हुनसक्छ। भोटमूलका मानिस मात्र जाडे खस नहुने स्पष्टै छ। इतिहासमा जाड, विजड, जीजड र जाजड भन्ने 'जड' वा 'जाड' नाम जोडिएका खस राजाको उल्लेख पनि पाइन्छ।

खस राजाहरूले आफूलाई खसान शासकको रूपमा नभएर 'खस देशको राजाधिराज' भनेर चिनाएका छन्। खस र भोटमूलका मानिसले बसोबास गरेका सिमा छेउछाउका ठाउँलाई मात्र 'खसान्त' अर्थात् 'खसान' भनिएको र खसभित्रै पनि जाड समेत हुने हुँदा 'जडान' र 'खसान' छुट्टै राज्य (प्रदेश)को अस्तित्व इतिहासमा नरहेको देखिन्छ। कहिलेकाहीं खसहरूको बसोबासको सीमान्त क्षेत्र र जाड वा जाडे भनिने भोटमूलका वा खस समुदायकै गाउँ वा इलाका छेउछाउ वा सीमान्त गाउँठाउँका सामान वा ती क्षेत्रका अधिकार प्राप्त व्यक्ति (प्रशासक) भनेर सम्बोधन वा उल्लेख गरिएका प्रसंगका आधारमा इतिहास बुझने प्रयासको क्रममा उत्पन्न भ्रमका कारण मात्र प्रदेश नै 'खसान' वा 'जडान' नामका थिए कि भन्ने बुझिएको मात्र हो। 

हिमाल वारिपारि फैलिएको खस साम्राज्यको राजनीतिक भूगोल उत्तर–पश्चिममा पश्चिम तिब्बतको ङरी इलाका हुँदै काश्मिर, पश्चिम गान्धार र वाल्हीक, दक्षिण–पश्चिममा सतलज नदी छेउछाउ, उत्तर–पूर्वमा तिब्बतको माङ्युल, जोङ्कार वा गुङ्थाङ् र दक्षिण–पूर्वतर्फ नुवाकोट र नेपालमण्डलको आसपाससम्म थियो। पश्चिम तिब्बतका कैलाश मानसरोवर इलाका (गुँगे–पुराङ भेक) त खसहरूको मुख्य राजकीय उद्भव इलाकै थियो। 'खसान' र 'जडान' छुट्टै अस्तित्वका नभएर खसहरूको सीमा छेउका वा कथित जाड वा जाडेका सीमावर्ती वस्ती भन्ने जनाउन मात्र प्रयोग भएका नाम वा शब्द हुन्।  
 
खसको नेपाल प्रवेश
आज 'खस' भनेर चिनिने समुदायको प्राचीनता र नेपालको सरहद प्रवेश, भाषिक व्युत्पत्ति र ऐतिहासिकताप्रति व्यापक कौतुहल छ। ऐतिहासिक स्रोतहरूबाट खसहरू लडाकू इतिहास बोकेको हजारौं वर्ष पुरानो घुमन्ते समुदाय हो भन्ने बुझ्िन्छ। यो समुदायको प्राचीनता केलाउँदा मध्यपूर्व एशियाको इरान र वेविलोनियाका 'कश' शासक र जातिको लगभग ३८०० वर्ष पुरानो इतिहाससम्म पुग्नुपर्छ। इरानको खसिस्तान, ककेसस पर्वत, कश्यप वा कश्पियन सागर, पश्चिम अफगानिस्तानको खस मरुभूमि र खस नदी, वाल्हीक प्रदेशको वडा खसान, काश्मिर (कश/खसमिर), काश्गर (कश/खसगृह) आदि नामलाई 'कश' वा 'खस' जातिको इतिहाससँग सम्बन्धित मानिन्छ। यो मान्यतालाई नेपालका खस शासकका वंशपरम्परा सम्बन्धी पुराना लेखोट र अभिलेखले पनि धेरथोर पुष्टि गरेका छन्। 

खस शासकका पुर्खाले जालन्धरको कुण्डली वनमा शासन गरेको र पछि खस साम्राज्यका संस्थापक नागराज (तिब्बती वंशावलीमा नागदेका छोरा चाप वा चप्पिल्ल वा चेन–छ्युग्दे) को राज्य विस्तार वाल्हीक र गान्धार इलाकासम्म पुगेको चर्चा श्रीपालीबम ठकुरीको लेखोटमा छ। खस शासकहरू 'जाव', 'जावेश्वर' जस्ता नाम र विशेषणले जालन्धरबाट पूर्व बढ्दै आएको संकेत गर्छ। अभय मल्लको अभिलेख वि.सं. १४३३ (शाके सम्वत् १२९८) मा पनि वाल्हीक खसिस्तान वा पर्सिया (फारस) सम्म खस प्रभावको चर्चा छ।

खसहरूले तुर्क–मंगोल इलाकाका क्वार्लोक र टारटार लडाकूहरूसँग लड्दैभिड्दै मध्यपूर्व एशियातर्फबाट कश्मिर, लद्दाख पश्चिम तिब्बतको ङरी प्रदेशको गुँगे–पुराङ् इलाकामा स्थानीय बौद्ध र वोन अनुयायीहरूसँग संलग्न हुँदै प्रवेश गरेर आफ्नै बलियो राज्य स्थापना गरेको देखिन्छ। खस समुदाय दशौं–एघारौं शताब्दीसम्ममा उक्त इलाकामा प्रवेश गर्दा मूल झुण्डबाट छुट्टिएका क्वार्लोक वा टारटार तुर्क (मंगोल) हरूले कर्णाली प्रदेशमा शक्ति फैलाइसकेका थिए। खसहरूले उनीहरूमाथि आफ्नो प्रभाव विस्तार गरेको तिब्बती, काश्मिरी तथा अन्य स्रोतहरूमा उल्लेख छ। कश्मिरको राज इतिहास राजतरङ्गिणी को कालीगण्डकी क्षेत्रका राजा अरमुडी र कश्मिरका राजा जयपीडका सैनिकको युद्ध वर्णन, तिब्बतको गुँगेतिर भएको क्वार्लोक तुर्क–मंगोल (सोग्पो) आक्रमण, विक्रमशील महाविहारका बौद्ध तान्त्रिक आचार्य दीपंकर अतीशको जीवनी, अन्य तिब्बती स्रोत, तल्लो मुस्ताङमा तुर्क सरदार भाराडनडुरसँगको युद्धमा स्थानीय बौद्धहरूलाई खस सैन्य सहयोगको प्रसंग र मानव भूगोलको अवस्थितिले खसहरु तुर्क–मंगोललाई परास्त गर्दै नेपाल पसेको देखाउँछ। 

खस राजाहरूले पुराङ् वा खार–री (ताग्ला खार समेत), गो–हा झुमकार आदि ठाउँका पाल शासकमार्फत चिनियाँ शोग्पोहरूलाई करद गरी तुर्की घोडा उठ्ती गरेको उल्लेख पाइन्छ। खस सम्राट अशोक चल्लका छोरा आनन्द मल्ल जालन्धर प्रदेश हेर्न खटिएकाले उनलाई कतिपय स्रोतमा जालन्धरी मल्ल र त्यसपछिका खस राजाहरूलाई जालन्धरी समूहवंशी सिंजापति भनिएको देखिन्छ। यसबाट गण्डकी–कर्णाली भेकका मगर (पुराना सामग्रीमा मंग्वर वा मंगर) समुदाय क्वार्लोक र टारटार तुर्कका मूल झुण्डबाट छुट्टिएका स–साना सरदार अन्तर्गतका समूह भएको अनुमान हुन्छ। मंगोल वा तुर्क आक्रमणकारीको पछिपछि खसहरूको अर्को लडाकू शक्ति पूर्वतर्फ पसेको बुझन जरुरी छ।

नेपालका खस क्षत्री हुन् वा ब्राह्मण, उद्भवका हिसाबले गंगाको मैदानतर्फका वैदिक ब्राह्मण र क्षेत्रीय कुलसँग तिनको कुलीय प्राचीनता फरक तथा वैवाहिक सम्बन्ध पनि निषेध थियो। धार्मिक समन्वयको संस्कार बोकेका खसहरू मष्टो मान्थे। खस राजाहरू बुद्ध धर्मको अनुयायी र रक्षकको रूपमा तिब्बतको शक्य गोन्पा लगायतका हिमाली कन्दरादेखि लुम्बिनी, कपिलवस्तु, बुद्धगया र स्थानसम्म पुगेका उदाहरणहरू पनि छन्। नेपालमण्डलमा आक्रमणको क्रममा खसहरूले बुङ्मती, स्वयम्भू आदि क्षेत्रमा दानदातव्य र पूजाप्रार्थना गरेका प्रमाणहरू छन्। क्राचल्ल, अशोक चल्ल लगायतका राजाहरूले बुद्ध धर्मको उत्थानमा गरेका कामको लामै ऐतिहासिक सूची बन्न सक्छ। मगध सम्राट अशोकले बोधगयालाई चढाएका तर पछि शोग्पोहरुले खोसेका वस्तीयुक्त ४४ इलाका अशोक चल्लले किनेरै बोधगया (बज्राशन) लाई चढाएको चर्चा तिब्बती स्रोतमा पाइन्छ। तिब्बती वंशावलीहरूले रिपु मल्ललाई 'धेरै भारतीय राज्य रजौटा जित्ने अधिपति' भनेको छ। 

नवलपरासीको दाउन्ने गढीमा पृथ्वी मल्लका सहयोगी सामन्त शासक देव वर्माले शैल दुर्ग बनाएका र बुटवलको सैनामैनामा खस शासनकालको बौद्ध मन्त्र 'ओम मणि पद्मे हुँ' कुँदिएको अभिलेख पाइएको छ। यसरी खसको अधीनस्त इलाका भएकोले नेपाली इतिहासमा तराई अभिन्न देखिएको हो। कुमाउँ गढवालतर्फ खस ब्राह्मणक्षत्री भनेर चिनिने २५० र २८० थर कुल भेटिएका र त्यताका कत्युरी आदि राजवंश समेत खस नै भए पनि मष्टो परम्परा त्यति प्रचलित नभएको कुरा उल्लेखनीय छ। कारण गुँगे, पुराङ्तर्फ श्याङशुङको प्राकृतिक वोन धर्मको प्रभाव हटिनसकेकोले त्यता पसेका खसहरूले तिब्बती सभ्यतासँग घुलमिल हुनु अनिवार्य थियो। उनीहरू मंगोल समूहहरुका विरुद्ध स्थानीय वोन र बौद्धहरूलाई सहयोग गर्न भनेरै त्यता पसेका थिए।

खस क्षत्रीबाहुन न मुगल आक्रमणबाट जोगिन नेपाल पसेका हुन्, न त यिनको मूलथलो नै बनारस वा गंगाको मैदान हो। भारतमा मुगल आक्रमणको असरले खास वर्णाश्रमी वैदिक तिरहुते ब्राह्मण, क्षत्री आदि नेपालमण्डलतर्फ शरण लिने क्रममा नेवार समुदायभित्र घुलमिल भएको चाहिं प्रष्टै देखिन्छ। खस समुदाय गान्धार, वाल्हीक, काश्मिर, काश्गर, पश्चिम तिब्बतको गुँगे–पुराङ वा कैलाश मानसरोवर इलाका हुँदै पश्चिम–उत्तर कुनाबाट टारटार वा क्वार्लोक तुर्क–मंगोलसँग लड्दैभिड्दै र आवश्यकता अनुरुप सम्झौता समेत गर्दै भोट जातिसँग मिल्दै नेपाल पसेका हुन्। यो भूखण्डमा खस समुदायको प्रवेश एक युगान्तकारी घटना थियो।  
 
धार्मिक–सांस्कृतिक आधार

p43
 
वि.सं. १७२४ (शाके सम्वत् १५८९) मा पर्वतका
राजा शाहीबम मल्लले तल्लो मुस्ताङ, थाक
इलाकाका मानिसलाई पठाएको स्याहा मोहोर,
जसमा त्यस ठाउँको उल्लेख 'खसान्त'
भनेर गरिएको छ ।

मध्यपूर्व एशियाबाट पूर्व लागेका खसहरू वर्णाश्रमी वा वैदिक नभएर प्रकृतिपूजक थिए। पश्चिम तिब्बतको पुरानो प्राकृतिक धार्मिक–सांस्कृतिक परम्परा वोनको मुख्य केन्द्र श्याङशुङ् आएर युग बिताउँदै राज्य शक्ति खडा गर्दासम्म यिनीहरू वोन परम्पराको धामी झाँक्रीवादी मष्टो परम्पराका अनुयायी हुनपुगे। अहिले पनि खस समुदायभित्रका सबैका मूल कुलदेवता कुनै न कुनै मष्टो हुन्छन्। पश्चिम तिब्बतको श्याङशुङ् भित्र गुँगे, पुराङ्, पश्चिम नेपाल र कुमाउ, गढवालका उत्तरी क्षेत्रहरू पनि पर्दथे। यो क्षेत्रलाई केन्द्रीय तिब्बतका यार्लुङ वंशको साम्राज्यमा समाहित भएपछि ङरी (कब्जा गरिएको क्षेत्र) भन्न थालियो। पश्चिम नेपालमा सिंजा र दुल्लु केन्द्र बनाई शासन गर्ने खस राजाहरूलाई गुँगे वा ङरीका आफ्नै भोट वंशका शासक मानेर तिब्बती स्रोतमा उल्लेख भएको स्मरणीय छ।

वोन प्रभावित मष्टो धर्म परम्परा मान्ने खसका पुजारी उपासकहरूले दामी (धामी) वा झाङ्–री (झाँक्री) ले जस्तै मष्टो देवता शरीरमा चढाउँथे। फरक झुण्ड र स्थान अनुसार खसका अनेकन मष्टो हुन्छन्― दारे, दूधे, ढँडार, खापड, बाह्र, बोडु, थार्पा, बाबिरो, कावा, लाटा, बाङ्गे, ठाडा, टेढी, रुमाला, मण्डली, लाडे, मुण्डा, कैली, काला, असुरो, बुढा, क्षेत्रपाल आदि। खसहरूमा पुजारी बन्ने व्यक्ति नै देवता वा अन्य विविध दैविक, पैशाचीसमेत शक्तिको बाहकको रूपमा देव, पितृ, वीर, भूत, प्रेत, पिशाच, वनकाली, मन्डाली आदि र काँचो वायुको समेत वाहकको रूपमा कम्पन गर्दै पतुर्ने, फलाक्ने, दोहोलो झार्ने, बखान काट्ने, कैरन गाउने पद्धतिबाट उपासना गर्ने/गराउने चलन छ। हिमाल–पहाडका वोन र झाँक्रीवादीमा उत्तिकै चल्तीमा रहेको यो परम्परा यस भेकको सांस्कृतिक समन्वय तथा सम्बन्धको महत्वपूर्ण आधार हो। 

लाटाहित भन्ने मष्टोलाई मष्टा देवताहरूको गण प्रमुख भनेर चर्चा गरिएको पाइन्छ। कर्णाली प्रदेशमा मष्टोलाई स्थानीय ग्राम वा भूमिरक्षक वा क्षेत्रपाल देवताको रूपमा सम्मान गर्ने चलन थियो। धेरैपछि सतही रूपले वैदिक प्रभावमा आएका खसहरूमा आ–आफ्ना मष्टोको उपासना गर्ने चलन अझ्ै छ। खस समुदायमा हिन्दू देवदेवीको उपासना गंगाको मैदानको पद्धति भन्दा धेरै खुकुलो पनि छ। भोट सभ्यतासँग नजिकिएको बेला त्यहाँ बुद्धधर्म फैलिएका कारण मष्टोवादी खसहरूले महायान बौद्ध परम्परातर्फ झ्ुकाव राख्दै बुद्धधर्मलाई राजकीय स्थान दिएका तथ्यहरू छन्। नागराजकै समयदेखि खसहरूमा मष्टोसँगै बुद्ध धर्मले स्थान पाउन थालेको देखिन्छ। 

खसहरू दशौं–एघारौं शताब्दीमा पश्चिम तिब्बतको मानसरोवर (तिब्बतीमा छो माफाम्) र कैलाश (गङ् री वा काङ पो गङ् रा) तर्फका वोन र भोटको अनुत्तरमार्गी महायान बौद्ध परम्पराको प्रभावमा आएका थिए। खस देशका खस क्षेत्री, भाइभारदार, पण्डित, बाहुन सबै बौद्ध अनुयायी बनेका ऐतिहासिक प्रमाणहरू छन्। खस साम्राज्यको विखण्डीकरण भएर जुम्ला, डोटी आदि राज्यको प्रादुर्भाव नभएसम्म अनुत्तरमार्गी महायान बुद्ध धर्मले खस दरबारमा राजकीय धर्मको मान्यता पाएको थियो। खस राजा र राजकुमारहरू लामा बनेर भोटका गुम्बामा बसेका र दानपति बनेका कुरा यहाँ स्मरणीय छन्।
 
खस नाम वा शब्द  
क्षत्रीहरूलाई हियाएर भनिने 'खसिया', 'खसेत्रो', 'खासी' र बाहुनहरूलाई दिईने 'काठा' विशेषणको भाषिक व्युत्पत्तिको चर्चा गर्दा खस समुदायबारेका धेरै खस्खस् मेटिन्छ। प्राचीन स्रोतहरूमा खसहरूलाई 'यक्ष' जाति भनिएको छ। तिब्बती भाषामा अहिले पनि खसलाई याचे वा खाछे भनिन्छ। तिब्बती स्रोतहरूमा खस राजालाई 'याचेपा ग्यल्पो' र खस देशलाई 'याचे वा खाछे ग्यल्–सा' भनिएको छ। काश्मिरी पण्डित लामाहरूलाई पनि तिब्बतीमा खाछे वा खाछेपा भनिएको पुराना लेखोट, वंशावली र जीवनीहरू छन्। कैलाश मानसरोवर वा गुँगे–पुराङ् इलाका यक्षराज कुवेरको निवास सुवर्णगिरि (तिब्बतीमा घाङ्री) भएको पौराणिक वर्णन यहाँ स्मरणीय छ। 

यक्ष जातिलाई लडाकू, तातो रगत खाने, शक्तिशाली, तुर्की घोडामा सवार भई आक्रमण गर्ने, शत्रुदमन गर्ने भनिएको छ। यस्तो विशेषताका कारण महाभारत, मनुस्मृति, राजतरंगिणी जस्ता स्रोतमा खसहरूलाई अवैदिक, संस्कारहीन, यज्ञ नगर्ने, गायत्री नजप्ने, अपवित्र, फोहोरी, पथभ्रष्ट, वैदिक संस्कार छोडेर किराँत, द्रविड, यवन जस्तै भएका शत्रु बराबरका बर्बर समुदाय भनेर चिनाइएको छ। वैदिकतर्फ ढल्कने क्रममा धेरैपछि मात्र जनै धारण गर्ने चलन आएको हो, खस जातिमा। पछिल्ला कालका सिंजापति खसराजा गगनिराज (जगतिबम) ले मतवाली र जाड क्षत्री भनिनेहरूलाई जनै बाँडेर वैदिक तागाधारी बनाएका वंशावलीको वर्णन योगी नरहरिनाथले छपाएका छन्।

अब 'यक्ष' शब्द अपभ्रंश हुँदै 'यक्छ', 'यकश' अनि जनबोलीमा 'य' हटेर 'कश' र त्यसबाट पनि अपभ्रंश भई खस बन्न पुगेको अनुमान सहजै गर्न सकिन्छ, जस्तो कि एटकिन्सन जस्ता अन्वेषकहरूले गरेका छन्। पहाडको बोलीचालीमा नराम्रो जनाउने 'राकश' शब्द पनि यहाँ स्मरणीय छ। गरुड पुराणमा काश्यप पत्नी कश वा खसाबाट एक यक्ष र अर्का विरोधी भाइ राकशको जन्म भएको र राकशलाई राक्षसी चरित्रमा देखाउन खोजिएको प्रसङ्ग छ। यस आधारमा तिब्बतीहरूले चिन्ने चिनाउने 'याचे', 'याचेपा' वा 'खाछे', 'खाछेपा' नाम वा शब्द प्राचीन नाम यक्षबाटै उच्चारणका भेदले अपभंरश भएको हो भनेर बुझिन्छ। 'यक्ष' जाति भएकोले खसको साम्राज्यलाई 'याचे' र राजालाई 'याचेपा' र जनता आदिलाई 'खाछे' वा 'खाछेपा' भनिएको हो। 

मिन्–डोल् टुल्कु छोक्यी तन्जीन (ई.सं. १७८९–१८३८) का अनुसार तिब्बतका विद्वान लामा चन्पोको अध्ययन र बुझ्ाइमा खस, याचे वा खाछेहरू यवन र म्लेच्छ जाति जस्तै हुन्। तिनलाई 'क्लोपा' वा 'क्लापा' (तिब्बती उच्चारणमा लोपा वा लापा) भनिन्छ। मूल थलो पवित्र हिमाल कैलाशतर्फ भएका तिनीहरू कुनै पनि धर्मशास्त्रबाट बाहिर हुन्थे। उक्त स्रोत अनुसार, यस्ता लोपा खसलाई 'खासे तोरो' (खसेत्रो) र 'खासी' भनिन्थ्यो। न बुद्धमार्गी न त वैदिक तिनलाई 'खाठा' वा 'खाठापा' (अधर्मी, असभ्य, खुँजेली) पनि भनिन्थ्यो। तिब्बतीहरू खस मंग्वर (मगर) र गुरुङलाई 'मोन्–पा' भन्थे, जसको अर्थ हिमालको दक्षिण काँठमा बस्ने हो। यहाँ खसका बाहुनलाई भनिने 'काठा' स्मरणीय हुन्छ। न बुद्ध न वैदिक, मूल धर्म–सभ्यता (बौद्ध र हिन्दू) बाट टाढिएर कन्दरामा जीवनयापन गर्ने 'खाठा' वा 'काठा' भनिएको स्पष्टै छ। राजतरङ्गिणी मा 'खस' जातिलाई जंगल–जंगल कुद्ने गोठालो भनिएको छ। 

खसको मष्टो परम्परामा प्राचीन तिब्बती भाषाको दा (धनु) र मी (मान्छे) अर्थात् 'धामी' को अर्थ मानव र समाजको उद्धार गर्न सक्ने शक्तिशाली धनुर्धारी व्यक्ति हो। झाँक्री शब्द पनि तिब्बतीकै 'झ्ाङ् पाही री' बाझाङ्री (लेखाइमा मजङ्स पही री) हुँदै आएको हो। यसको अर्थ जान्ने वा ज्ञानको पहाड जस्तै मान्छे, भूत–भविष्य–वर्तमान देख्न, निदान गर्न, भूतप्रेत हटाउन, देवता खुशी पार्न, शत्रु दमन गर्न सक्ने भन्ने हुन्छ। झाङ्रीलाई देवता चढ्दा सघाउने व्यक्ति 'डाङ्रे' हो। डाङ्रे वहन गर्ने, धारण गर्ने उपासक भएकोले ऊ देवता बोक्ने, वहन गर्ने वाहन समेत हुन्छ। त्यसकारण, झाङ्री जहाँ हुन्छ डाङ्रे त्यहाँ हुन्छ। उता डाग्–रे (हिजोआज नेपालीमा ढाक्रे) शब्द र डाग्–कर वा ढाग्कर शब्दको सम्बन्ध पनि डाङ्रे (वाहक) सँग भएको देखिन्छ। तिब्बतीको ढाग् रेको अर्थचाहिं भारी बोक्ने, भीरपाखा खोरिया खन्ने भन्ने हुन्छ। 

माथि उल्लिखित 'खा ठा' वा 'काठा' लाई लो–खा ढाग् जस्ता पश्चिम तिब्बतका अनकन्टार कुना–काप्चामा बस्ने मानव समुदाय अर्थात् लोखाढाग्पा (खसकै एक झ्ुण्ड) लाई बुझाउने कुरा यहाँ विचारणीय छ। ब्रायन हड्सनले हिजोआज पूर्व नेपालको किराँत समुदायअन्तर्गत चिनिने 'याख्खा' समुदायको नामको सम्बन्ध पनि 'यक्ष' वा कन्दरा, हिमाल पहाडमा बस्ने समुदायको रूपमा चिनाउन खोजेको देखिन्छ। यस विषयमा थप खोजी आवश्यक छ।

comments powered by Disqus

रमझम