२७ भदौ - २ असोज २०७२ | 13-19 September 2015

सान्दाजुको महाभारत

Share:
  

राजनीतिज्ञ एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (बीपी) को जन्मदिन २४ भदौको अवसर पारेर लाजिम्पाटस्थित थिएटर भिलेजमा 'सान्दाजुको महाभारत' नाटक मञ्चन थालिएको छ। नाटक डा. अभि सुवेदीले लेखेका हुन्। २०१५ सालको आम निर्वाचनबाट पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालालाई त्यसको दुई वर्षपछि नै राजा महेन्द्रले जेल हालेका थिए। त्यसपछि उनलाई राजद्रोहलगायतका थुप्रै मुद्दा लगाइयो। यसबीच कोइरालाले अदालतलाई दिएको बयानलाई केन्द्रबिन्दु बनाएर सुवेदीले 'सान्दाजुको महाभारत' तयार पारेका हुन्। नाटकमा 'एक रात', 'श्वेत भैरवी', 'नरेन्द्र दाइ' आदि कृतिका पात्रमार्फत बीपीको विचार प्रष्ट्याउन खोजिएको छ।

“बीपीबारे वृत्तचित्र वा चलचित्र पनि बनाउन सकिन्थ्यो”, नाटकमा एकल सूत्रधारको भूमिकामा रहेका सलिल सुवेदी भन्छन्, “तर, नाटकले उनलाई हाम्रैसामु उभ्याइदिने भएकाले यसैलाई उपयुक्त विधा ठानियो।” सान्दाजु अर्थात् बीपीको भूमिकामा देखिएका डा. सञ्जीव उप्रेती, बीपी पत्नी सुशीला बनेकी सूर्यमाला शर्मा, सृष्टि, इन्द्रमाया आदिको चरित्रमा रेणुका कार्कीलगायत कलाकारको अभिनय परिपक्व छ। नाटकको परिकल्पना र निर्देशन विमल सुवेदीले गरेका हुन्।

“थुपै्र अध्ययन गरेर यो नाटक लेखेको हुँ”, नाटककार अभि सुवेदी भन्छन्, “यसलाई राजनीतिकभन्दा काव्यिक नाटक मान्दा ठीक हुन्छ।”


मैनाली र सुब्बालाई पद्मश्री

पूर्वी पहाडका दुई सर्जक उपेन्द्र सुब्बा र मोहन मैनालीले संयुक्त रुपमा 'पद्मश्री साहित्य पुरस्कार २०७१' पाएका छन्। मैनालीलाई द्वन्द्वकालको संस्मरण 'मान्ठा डराएको जुग' र सुब्बालाई चाहिं लिम्बू संस्कृतिमा आधारित कथासंग्रह 'लाटो पहाड' का लागि पुरस्कार योग्य ठानिएको हो। ९ कात्तिकमा वितरण गरिने पुरस्कारको राशी रु.२ लाख रहेको आयोजक संस्था खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले २०६३ सालदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ।

कला र संस्कृति क्षेत्रमा योगदान पुर्‍याएकालाई प्रदान गरिने पद्मश्री साधना सम्मानबाट भने महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) सम्मानित हुने भएका छन्।


गाईजात्रा सन्देश

यस वर्ष पनि राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान हलमा १२–२६ भदौसम्म 'तिते जिरे मेरी बास्सै गाईजात्रा महोत्सव २०७२' चल्यो। तर, यस वर्षको गाईजात्रा महोत्सव मनोरञ्जनभन्दा सन्देशमूलक थियो।

छिमेकीलाई जुधाएर उनीहरूको घर–खेत नै विदेशीलाई बेच्न खोज्ने दलालको प्रसंग उठाउँदै राजाराम पौडेलको समूहले संकटका वेला नेपाली चनाखो र एकजूट हुनुपर्ने सन्देश दिन खोजेका थिए। किरण केसी, शिवहरि पौडेल, सावित्री गुरुङ आदिले अभिनय गरेको 'पाल' शीर्षकको प्रहसनमा सीमांकनको कुरा उठाइएको थियो। प्रहसनले भूकम्पका वेला झै अरू वेला पनि नेपाली एकजूट भएर बस्न आग्रह गरिएको थियो।

'मेरी बास्सै' का केदार घिमिरे, विल्सन विक्रम राई, सुनिता गौतम आदिको प्रस्तुति, 'अचम्मको दुलो' ले भने व्यक्तिको बदलिंदो आचरण प्रष्ट्याउन चाहेको थियो। 'तितो सत्य' समूहले 'धरहरा' शीर्षकमा नेपाली एकताको शक्ति प्रदर्शन गरेको थियो। 'जसको प्रदेश हो, उसैले ढलेको धरहरा उठाउँछ' भन्दै आफ्नै काममा व्यस्त तामाङ, नेवार र मधेशी पात्रलाई भीमसेन थापा बनेका सुरवीर पण्डितले धरहरा सबैको पहिचान हो भन्ने बुझाउँछन्। अनि, उनीहरू सबैले धरहरा उठाउँछन्।

महोत्सवमा जमेका मनोज गजुरेलको 'विधाता सम्मेलन' ले एमाले अध्यक्ष केपी ओलीदेखि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, अमेरिकाका राष्ट्रपति बाराक ओबामा, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आदिको नक्कल गरेका थिए। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको स्वरुपमा देखिएका गजुरेलको प्रस्तुतिलाई धेरैले रुचाए। त्यसो त संगीतकार टीका भण्डारीको प्यारोडी पनि कम रोचक थिएन।

comments powered by Disqus

रमझम