२७ भदौ - २ असोज २०७२ | 13-19 September 2015

शब्दको सुखानुभूति

Share:
  
यो वर्षको मदन पुरस्कार विजेता विजयकुमार पाण्डे र जगदम्बा–श्री पुरस्कारबाट सम्मानित अंगुरबाबा जोशीका लागि यो क्षण 'सुखद् आश्चर्य' बनेको छ।

'खुसीले मदन पुरस्कार पाएको सुनेर एकछिन त निशब्द बनें। दुई थोपा आँसु झरे, खुशीका आँसु।' मदन पुरस्कार गुठीले २५ भदौमा २०७१ सालको मदन पुरस्कार संस्मरणात्मक कृति 'खुसी' लाई दिने निर्णय सुनेलगत्तै लेखक विजयकुमार पाण्डेले यस्तो ट्वीट गरे। “चकित भएँ, केही भन्नै सकिनँ”, उनी भन्छन्, “गुरुत्व भएको मदन पुरस्कार पाउँदा को खुशी नहोला र!”

लामो समय टेलिभिजन र छापा पत्रकारिता गरेका विजयकुमारले 'खुसी' मा अल्कोहल र अहंले झन्डै–झन्डै निलेको आफ्नो जीवनबाट कसरी पुनर्जीवन प्राप्त गरें भन्ने कुरा लेखेका छन्। अध्यात्म र पत्रकारिताका तीता–मीठा अनुभव पनि उनको पुस्तकमा छन्। पहिलो कृतिबाटै मदन पुरस्कार प्राप्त गरेका उनी अब आख्यान र गैरआख्यानका दुई कृति तयार गरिरहेका छन्। पुरस्कारले हौसिएका उनी भन्छन्, “अब त लेख्ने जिम्मेवारी झनै थपियो।”

'नारी शिक्षाको प्रचार–प्रसार एवं प्रवर्द्धन र भाषा–साहित्यको श्रीवृद्धिमा अमूल्य भूमिका खेलेबापत' गुठीले यस वर्षको जगदम्बा–श्री पुरस्कार अंगुरबाबा जोशीलाई प्रदान गरेको छ। नेपालकी पहिलो महिला क्याम्पस प्रमुख जोशीले १८ वर्षसम्म राजधानीको पद्मकन्या क्याम्पस चलाएकी थिइन्।

“पुरस्कार पाउन योग्य काम केही गरे जस्तो लाग्दैन”, जोशीले प्रतिक्रिया दिइन्, “समाजसेवामा समर्पित भएँ, त्यसैलाई निरन्तरता दिनेछु।” समसामयिक विषयमा कलम चलाइरहेकी उनी खस्कँदो मानवीय मूल्य र मान्यताबारे एउटा पुस्तक लेखिरहेको बताउँछिन्। मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कारको राशी समान रु.२ लाख छ।

नेपाली साहित्यको सर्वाधिक प्रतिष्ठित मानिएको यो पुरस्कार २०१२ सालदेखि शुरु गरिएको हो। मदनशमशेर राणाको सम्झनामा उनकी रानी जगदम्बाले २०१२ सालमा मदन पुरस्कारको स्थापना गरेकी थिइन्। जगदम्बाको निधनपछि २०४५ सालमा जगदम्बा–श्री पुरस्कार दिन थालिएको हो।

सजना बराल

comments powered by Disqus

रमझम