३-९ असोज २०७२ | 20-26 September 2015

न्यू नेपाल चेस च्याम्पियनसिप

Share:
  
- महेश थापा
देश बन्न नसकेको औडाहामा पिल्सिरहेको वेला भएको तिलस्मी बाबाको आगमन हाम्रा लागि वरदान सावित भयो।

भानु भट्टराई
बाबाजीले हिप्पी अन्दाजमा सोधे, “ह्वाट ह्याप्पेन्ड, वत्स?”

हाम्ले आफ्नो सदाबहार दुखडा रोयौं।

“डन्ट वरी, यो टेन्सन लेनेको नभई, देनेको वेला हो”, बाबाजी बोले, “एउटा चेसको बाजी जितेर देखाऊ, तिम्रा सारा टेन्सन छुमन्तर!”

'हर दर्दको एक इलाज' तेल बेच्ने कुनै छट्टु त होइन भन्ने आशंका टुसाउन नभ्याउँदै बाबाले चमचमाउँदो चेस बोर्ड उत्पन्न गराई आफ्नो जादूगरीको 'डेमो' समेत देखाउन भ्याए। रत्नादि जडित देदीप्यमान बोर्डमा चालै मात्र राख्न पाए पनि वैतरणी पार होइने कुत्कुती पलायो। धेरै खेलाडीले मिलीजुली खेल्न पाउने बाबाजीको भनाइले हामी उसैउसै हौसियौं।

“पहिला आफ्नो चाल त राख! 'अपोनेन्ट' को खडेरीले खेला रोकिन्न, क्या!” बाबाजीले शकुनि मुस्कान दिए।

चेस खेलको आरम्भ पद्धति भवसागर तालको हुने भएकाले छनोटको घामट आइलाग्यो। त्यो घामटभित्र ओपन गेम रोज्ने कि हाफ–ओपन? क्लासिकल अन्दाजमा भाले भिडन्त गर्दै सेन्ट राँधावा बोल्ने कि हाईपरमोडर्न स्टाइलमा अप्रत्यक्ष लड्ने भन्ने बित्याँस थियो।

“वर्तमान विश्वविजेता म्याग्नस कार्लसन भएकाले नर्वेजियन शैलीले फलिफाप गराउला।”

“नर्वेजियनहरू डिस्कभर्ड चेक दिनमा बिच्छी हुन्छन्, फ्याट्ट एउटा गोटी उठाई अर्कोतिरबाट चेक दिएर मर्छन्। सक्दैनौं बाबा, हामी यूरोपियनले जस्तो खेल्न!”
“पूर्व वर्ल्ड च्याम्पियन विश्वनाथ आनन्द भएकाले इन्डियन स्टाइल पनि उम्दा नै होला।”

“भारतीयहरू दोहोरो 'ट्रयाप' थाप्नमा उस्ताद हुन्छन्, उंगली पनि साह्रै गर्छन्! मैदानमा सोझो भिड्ने हामी नेपालीको भेजाले त्यस्तो कर्कट शैली थेग्दैन।”

लर्तरो 'ओपेनिङ' ले झिल्ली झार्न मुश्किल हुने निर्क्योलसहित 'किङ्गस् ग्याम्बिट' पद्धति अजमाउने सहमति बन्यो। अचेल उतिसारो नखेलिए'नि आक्रामक अन्दाजको 'किङ्गस् ग्याम्बिट' ले विगतमा धाँसु सफलता हासिल गरेको दृष्टान्तले छनोटमा ठेलुवा रोल खेल्यो।

खेल शुरू भयो। बाबाजीले मात्र नभई राह चल्ते सबैले छ्यास्ससँग एक/दुई चाल राख्न थालेपछि कुनचाहिं अन्तरे 'अपोनेन्ट' हो र त्यसलाई ठिंगुर्‍याउन कस्तो रणनीति अख्तियार गर्ने भन्ने भुमरीमा फसियो। हुँदाहुँदा चित कि पट खेल्ने हैसियतका नत्थुखैरेहरूले धरि झिंगेदाउ थाप्न झ्म्टेर उल्टी गराउन खोजे। त्यो भाउन्नबाट तङ्ग्रिन नपाउँदै गोटी नामकरणको महाविपत्मा फसियो।

“राजालाई लोकपति भनम्!” एउटा बुरुक्क उफ्रियो।

“हे पितृसत्ताका पुजारी! राजा वा लोकपतिले हाम्लाई के हुन्छ? 'क्वीन' लाई मन्त्री नभई कतिपय यूरोपियन देशमा जस्तो 'लेडी' भनौं”, महिला खेलाडीले कम्मर कसिन्।

“जोडी मिलाउन 'किङ्ग' लाई लेडा भन्नुपर्ला नि!” अर्कोले कटाक्ष गर्‍यो।

“खबरदार! पवित्र 'विशप' लाई ऊँट वा देवल भनी 'अन्डरमाइन' गरौला”, अर्को सिंगौरी खेल्ने मूडमा देखियो।

“पर्सियनबाट लिइएको 'रूक' लाई संस्कृतमा रथ भनिने हुनाले हात्तीलाई रथी भनौं”, अर्को तर्क आयो।

“चुप लाग्, बाहुनवादी!” रहलपहल कुर्लिए।

एकअर्काको ह्याकुलोलाई दनक दिने उपक्रमले अपोनेन्टको खत्यौल लाग्यो।

समुद्रपारिका नीलो बस्त्रधारी स्वयंसेवी साहेबहरूले नामचीन ब्रान्डका 'ईनर्जी ड्रिंक्स' पिलाउनुको अलावा मुफ्तमा रंगविरंगी गगल्स पनि थमाए। नजर तिक्खर बनाई घच्चीको चाल फुराउन मद्दत गर्ला भनेको गगल्सले झ्न् संकट निम्त्यायो– खेलाडीहरू चेसका गोटी र कोठालाई नीलो, हरियो, रातो आदि भिन्न रंगको देख्न थाले। बाबाजी र स्वयंसेवीहरूको प्रस्ताव मुताविक खेलाडीहरू हात्ती, घोडा, ऊँट र मन्त्रीको चालमा आ–आफ्नो अग्राधिकारको दाबी ठोक्नथाले। सबै गोटीको अलग मौजा चलाउँदा फुङ्गो राजा दुश्मनको एक 'चेक' मै ढेर भएर खेल हारिएपछि मौजावाल हुनुको के अर्थ?

डुब्ने, भासिने र सत्यानाशै हुने सम्भावनाहरू टार्दै धिकिर–धिकिर खेललाई 'इन्डिङ्ग फेज' सम्म पुर्‍याइयो। दबाबपूर्ण पोजिसनमा दैवसंयोगले कम्तीमा नहारिने चाल चाहिं फुर्‍यो। तर, चाल राख्न खोज्नासाथ बाबाजी परक्क बटारिए, “लत्रा पाराले खेलेर हुन्छ? सबको दिलखुश हुने गरी 'ईमोर्टल गेम' मा एन्डरसनले जस्तो झ्कास माथ गर्न सक्नुपर्छ।”

“ईमोर्टलमा पनि एकाध चाल कमजोर हुन्छ। सक्दाहुँदी एन्डरसनलाई जिल् ख्वाउने गरी 'चेकमेट' गर्दै अमरकथा लेखेको जाती। तर, हार्नुभन्दा जित्नु उत्तम र जित्न नसक्दा नहार्नुलाई मध्यम मान्नुपर्ला गुरुवर!”

“सर्वसम्मति जुटाएर मात्र चाल राख, नत्र अनर्थ हुन्छ, बौवा”, बाबाजी गुर्राए।

घडीमा आफ्नो ट्याम तुरिएर हार्ने जुलूम आइसक्दा पनि केही खेलाडी चाल रोक्न शान्तिपूर्ण खुँडा प्रहार एवं भल्लबाजीमा उत्रिए। झ्सङ्ग हुँदै निद्राबाट ब्युँझिदा संविधान बनेकोमा कतै दीपावली त कतै कर्फ्यू लागिरहेको टेलिभिजनमा देखियो।

comments powered by Disqus

रमझम