३-९ असोज २०७२ | 20-26 September 2015

मजलिसको आँखा– २२ सम्झनाको सेतोदरबार

Share:
  
- क.दी.
१९९० वैशाखमा चार वर्ष पनि नपुगेको मैले हाम्रो गैह्रीधाराको 'ठूलोघर' को बुर्जाबाट सेतोदरबार जलेको हेरेको सम्झना छ।

इतिहासज्ञ पुरुषोत्तमशमशेर भन्छन्, वीरशमशेरले सेतोदरबार निर्माण गर्न १९४१ सालको पुसमा तत्कालीन स्थापत्यकलाविद् जोगलाल स्थापितलाई जिम्मा दिएका हुन्। यो दरबार बनाउन जम्मा ३७५ रोपनी जग्गा खरीद भएको थियो वरिपरिका किसानहरूबाट। त्यस बखत जग्गाको भाउ प्रति रोपनी ६० रुपैयाँ मात्र थियो रे! सिमेन्ट र छड भन्ने कुरा 'जन्मेकै' थिएनन् त्यस वेला नेपालमा, अनि यो दरबार बनाउन 'बज्र' को प्रयोग भएको हो। बज्र भनेको चुन, सुर्की (ईंटको धूलो), मास, पिना, चाकु र सरेस मिसाएको लेदो हो। उहिले त्यही लेदोले जोड्थे ईंटहरू। तर त्यो ठूल्ठूला भवन र दरबार बनाउँदा मात्र हो। सर्वसाधारणले त आफ्ना घर बनाउँदा माटै प्रयोग गर्थे, त्यो काम बज्रले गर्न धेरै महँगो पर्थ्यो। कलकत्तामा नेपाली 'वकील' (राजदूत) भएर बस्दा, त्यहाँ भारतका गभर्नर जनरल बस्ने 'बेल्भेडियर प्यालेस' देखेर लोभिएका थिए वीरशमशेर। त्यही सम्झेर उनले जोगलाललाई सेतोदरबार त्यसै मोडेलमा बनाऊ भनेका रहेछन्। 'आडर बमोजिम' नै निर्माण गरेका थिए दरबार जोगलालले पनि। अगाडिको मुहडा हुबहु मिल्थ्यो यसको बेल्भेडियरसँग। (हे. माथिको फोटो)तर सेतोदरबारको महत्व त्यसको बाहिरी आकार प्रकारले होइन, यसको भित्रका ठूला बैठकहरूले गर्दा भएको हो भन्ने बुझिन्छ। त्यहाँका दुई तलामा दुइटा ठूल्ठूला बैठक बनाइएका थिए रे, पहिलो तलामा 'ठूलो बैठक' र दोस्रो तलामा 'लाल बैठक'।

सेतोदरबार र त्रिचन्द्र कलेजको उत्तरतर्फ अहिले पनि रहेको यसको मूलढोका। मूलढोका भित्रपट्टि रहेको फलामको जीर्ण खापा (तल)।

कपिल तिमिल्सिना

यी दुई बैठकको भव्यता बयान गर्न पुरुषोत्तमशमशेरले आफ्नो पुस्तकमा पाँच पृष्ठ खर्चेका छन्। चाख हुनेले त्यो किताब ('राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू') पढे हुन्छ। त्यसमा अरू कुरा नपढे पनि त्यो 'ठूलो बैठक' मा जडिएका आठ ओटा स्फटिकका खम्बा (क्रिष्टल पिलर) का बारेमा सुन्नु जरूरी छ जस्तो लाग्छ मलाई। किताबमा लेखिएको छ, “ती सेता स्फटिकका खम्बाहरू २२ फुट अग्ला र १२ फुट (मेरो बुझाइमा बाह्र इन्च डायमिटरका हुनुपर्छ) गोलाकार थिए। यो नै उक्त बैठकको अत्यन्तै महँगो र अद्भुत आश्चर्यलाग्दो कुरा थियो।” त्यस्ता वस्तुहरू बेलाइतदेखि यहाँसम्म कसरी ल्याइपुरुर्‍याइए होलान्, त्यो अर्को आश्चर्यको विषय बन्छ। किनभने त्यतिवेलासम्म भारतीय रेल्वे गङ्गा पार गरेर यता आएकै थिएन!

तर त्यो सबै नष्ट भयो १९९० साल वैशाखमा। एक्कासी एक दिन सेतोदरबारमा आगो लाग्यो। र, त्यो सम्पदा सबै जलेर समाप्त भयो त्यसै अग्निकाण्डमा। नेपालले ठूलो क्षति बेहोरुर्‍यो त्यस दिन। तर भनिन्छ अलिकति हिम्मत गरेको भए त्यो ठूलो बैठकलाईसम्म बचाउन सकिन्थ्यो रे! तोप हानेर दरबारको पूर्व भाग भत्काइदिएको भए यी बैठकहरू बच्थे। तर पछिल्तिर महाराजाधिराजको दरबार भएकाले तोप हान्ने आडर दिइहाल्ने आँट गरेनन् श्री ३ महाराज जुद्धशमशेरले! त्यो सेतोदरबार जल्दा नेपालको कति खती भयो कल्पना मात्र गर्न सकिन्छ रे! सेतोदरबार अग्निकाण्डसँग त्यसको ४० वर्षपछि भएको सिंहदरबार अग्निकाण्डको तुलना नै हुन सक्दैन भन्छन्। त्यो दरबार बनाउन, उहिलेकै भाउमा पनि, करोडौं रुपैयाँ लगाएका थिए वीरशमशेर महाराजले। सिंहदरबारमा त ईंट र काठपात मात्र जलेका थिए, सेतोदरबारमा भने कहीं नपाइने अमूल्य अमूल्य वस्तुहरू स्वाहा भए!

सेतोदरबारको आगलागी कति भयङ्कर थियो? अलिकति व्यक्तिगत अनुभव म पनि मिसाउने अनुमति चाहन्छु। १९९० सालको वैशाखमा म चार वर्ष पनि पुगेको थिइनँ। तर मैले त्यो सेतोदरबार जलेको आगोको मुस्लो देखेको छु। ऐले यो भनिरहँदा मलाई आफैं पनि विश्वास हुँदैन, तर कुरो सत्य हो। हाम्रो गैह्रीधाराको 'ठूलोघर' को बुर्जाबाट मलाई त्यो देखाइएको थियो। चार तलामाथि थियो बुर्जा, त्यहाँ मलाई बोकेर लगेका थिए। मैले देखेकोमा कुइरीमण्डल धुवाँ थियो अनि त्यसमुनि रूखहरूको माथि रातोरातो आगाको ज्वाला थियो। मैले सम्झेको त्यत्ति हो। तर ऐले पनि सम्झिंदा त्यो दृश्य स्मृतिपटमा स्पष्टै आउँछ।

त्यस आगलागीपछि के भयो त्यो शायद राष्ट्रिय इतिहास भएन होला। कसैले त्यसबारे कतै क्यै लेखेको मैले पढेको छैन। तर, रानीपोखरीदेखि ऐलेको 'दरबार म्युजियम' र कान्तिपथदेखि 'याक एण्ड यती' सम्मको विशाल भूभाग उहिले 'सेतोदरबार' नै थियो। त्यो जग्गा ऐले टुक्राटुक्रा भएर विभिन्न व्यापारिक निकाय र इकाई हुनपुगेको छ। मैले बुझेसम्म वीरशमशेर महाराजको निधनपछि मुख्य दरबार उनका जेठा छोरा जनरल गेहेन्द्रशमशेरको भयो र उनी पनि गएपछि त्यो उनका जेठा छोरा लीलाशमशेरको स्वामित्वमा पुग्यो। तर उनका भाइ सूरशमशेरसँग राजा त्रिभुवनकी बहिनी 'शाहजादी' को विवाह भएपछि के कसरी हो सेतोदरबारका मालिक सूरशमशेर भए। उनैको मालिकीमा छँदा त्यो दरबार आगलागीमा परेको हो। र त्यो आगलागीको कारण पनि 'शाहजादी' नै हुनपुगिन्! त्यो कसरी भने, उनी सुत्केरी भएकी थिइन्। सुत्केरीकै अवस्थामा छँदा एक दिन उनलाई र छोरी 'ईश्वरी महारानी' लाई 'तेल्हारी' गराउन लागे।

बोर्सी (ठूलो अटल) मा गोलको आगो भर्भर पारेको थियो। झयाल र ढोकाहरू टम्म बन्द गरी तेल लगाउँदै थिए। धेरै बेर त्यसरी गोलको आगो बलिरहँदा कोठामा 'कार्बनडाइअक्साइड' भरिएछ र कोठामा भएकाहरू बेहोश जस्ता भएछन्। त्यत्तिकै वेला आगाले कुनै लुगालाई छोएर सल्किएछ। सल्केका कपडाले अर्काेलाई टिप्यो अनि अर्कोलाई। यसो गर्दै कोठा नै भरियो। बन्द कोठाबाट धुवाँ आउन थालेपछि बाहिर हल्लाखल्ला भयो, मान्छेहरू आए र कोठामा भएकालाई बचाए तर आगो निभाउन सकेनन्। आगो बढ्दै र चोटाकोठा समाउँदै गयो। अनि त दरबारै बल्न थाल्यो। दुई दिनसम्म बल्यो रे त्यो आगो। सेतोदरबार कालो खरानीमा परिणत भयो!

देखिजान्नेहरू भन्छन् सेतोदरबारको मुख्य भाग भएको ठाउँमा ऐले एनआईडीसीको भवन खडा छ रे! मूल दरबारको भने अब मूलढोका मात्र देख्न सकिन्छ, त्यो पनि दुईतिरबाट च्यापिएको! (हे. फोटो)

comments powered by Disqus

रमझम