घटेको छैन जोखिम

Share:
  
- मीना शर्मा र प्रभात भट्टराई
अव्यवस्थित बसोबास र कमजोर भौतिक संरचनाको शहर काठमाडौं उच्च भूकम्पीय जोखिममा रहेको चर्चा वर्षौंदेखि चले पनि नीतिगत र संरचनागत सुधारको सरकारी प्रयास कछुवाको चालमै छ।
p46
 
तस्वीरः विक्रम राई

राष्ट्रिय भवन संहिता २०६० पारित भएको नौ वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन भएको छैन। भवन संहितामा शहरी तथा बाक्लो बस्ती भएको ठाउँमा पाँच तला भन्दा अग्लो घर बनाउन नपाइने, घर बनाउँदा तल्लो तलाभन्दा माथिल्लो तला फराकिलो बनाउन नमिल्ने जस्ता प्रावधान छन्। त्यस विपरीत बनाइएका घरहरू भूकम्पका बेला सहजै भत्कने डर हुन्छ। 

भवन संहिता बनाए पनि सरकारले त्यसअनुसार काम भए, नभएको अनुगमन गर्न सकेको छैन। जनशक्तिको अभाव देखाएर सरकारी अधिकारीहरू आफ्नो दायित्वबाट पन्छने प्रयास गर्दैछन्। गृहमन्त्रालयको विपत व्यवस्थापन महाशाखा प्रमुख लक्ष्मीप्रसाद ढकाल भन्छन्, “जनशक्तिको अभावमा अनुगमन गर्न सकिएको छैन।”   
सडक फराकिलो बनाउने नाममा पछिल्लो समय शहरी क्षेत्रमा जथाभावी घर भत्काइएकोले पनि भूकम्प जाँदा झ्न् ठूलो समस्या आउन सक्ने स्थिति सिर्जना भएको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का अध्यक्ष आमोदमणि दीक्षित बताउँछन्। उसै त कमजोर संरचनाहरूलाई सरकारको यो कदमले झ्नै कमजोर बनाएको दीक्षितको भनाइ छ।  
 
खतराको संकेत  
संयुक्त राष्ट्रसंघको 'ब्युरो अफ क्राइसिस प्रिभेन्सन' को सन् २००४ को प्रतिवेदन अनुसार विश्वका १९८ मुलुकमध्ये भूकम्पीय विपत जोखिमका दृष्टिले नेपाल ११औं स्थानमा पर्छ भने काठमाडौं शहर पहिलोमा। यसैगरी गृहमन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् २००२ मा गरेको अध्ययनले काठमाडौंमा ८ रिख्टरभन्दा ठूलो भूकम्प गएमा कम्तीमा ४० हजार मानिस मर्ने, ९५ हजार घाइते हुने र ६० प्रतिशतभन्दा बढी घर मर्मत गर्नै नसक्ने गरी ध्वस्त हुने देखाएको छ।

एनसेटको १२ वर्षअघिको अध्ययनले पनि ८ रिख्टरभन्दा ठूलो भूकम्प आउँदा ६० प्रतिशत विद्यालय भवन भत्कने र अधिकांश अस्पतालमा क्षति पुग्ने देखाएको छ। यस्तो बेला घाइतेको उपचारमा समेत समस्या आउनेछ। बढ्दो जनघनत्व र अव्यवस्थित शहरीकरणका कारण भूकम्पको ठूलो प्रभाव काठमाडौंमा पर्नेछ। ८ रिख्टर भन्दा ठूलो भुईंचालो गएमा सबैभन्दा बढी जनघनत्व भएको काठमाडौंको १०, २४, २७ र ३० नम्बर वडावासी भाग्न समेत नसक्ने एनसेटका अध्यक्ष दीक्षित बताउँछन्। काठमाडौंको यो क्षेत्रमा २७ हजारभन्दा बढी जनसंख्या छ। 

p53c
 
जोखिमको विस्तारः सडक विस्तारको क्रममा पिल्लरसहितको
अग्रभाग भत्किएपछि कमजोर संरचनामा जोडिएका घरहरू
भूकम्पीय दृष्टिले ज्यादै जोखिमपूर्ण बनेका छन्।
तस्वीरः विक्रम राई

उपत्यकामा निर्माण भएका ३०० घरको अवलोकन गर्दा ५० प्रतिशतभन्दा बढी असुरक्षित देखिएको एनसेटको अध्ययनमा उल्लेख छ। पाँच तलामाथिका घर भूकम्पको बढी जोखिममा पर्ने भएकाले काठमाडौंमा बनेका सिन्के घरले वरिपरिका घरलाई समेत असर पार्ने एनसेटको भनाइ छ। दीक्षितका अनुसार भूकम्प जाँदा जमिनमुनिको भाग तरल हुने भएकाले खोलाको किनारामा बनेका घरहरू बढी जोखिमपूर्ण हुनेछन्। “काठमाडौंको माटोले सबै स्थानमा एकै किसिमको घर धान्न सक्दैन”, दीक्षित भन्छन्, “तर यतातिर कसैको ध्यान गएको देखिंदैन।”

२०६८ मा सिक्किम केन्द्रविन्दु भएको ६.९ रिख्टरको भुईंचालोबाट नेपालमा ६ जनाको मृत्यु भएको र काठमाडौं लगायत ताप्लेजुङ र इलाममा ठूलो क्षति पुगेको थियो। त्यस्तै, देशभर ७२० जनाको मृत्यु भएको काठमाडौंबाट २०० किमी पूर्व उदयपुरमा केन्द्रविन्दु भएको २०४५ को ६ रिख्टरको भुईंचालोबाट भक्तपुरमा घरहरू भत्केका र १२ जनाको ज्यान गएको थियो। नेपालको इतिहास हेर्दा हरेक १०० वर्षमा एकपटक जाने भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको देखिन्छ।

ऐतिहासिक विवरण र वर्तमानका अध्ययनले जति खतरा देखाए पनि सरकारी अधिकारीहरू खासै चिन्तित छैनन्। जिम्मेवार अधिकारीहरू भूकम्प जाने कुरालाई हल्लामा सीमित गर्न चाहन्छन्। भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटा अहिले हल्ला गरिए जस्तो जोखिम नहुने दाबी गर्छन्। उनी भन्छन्, “भारतको देहरादुनदेखि पूर्व र पोखरादेखि पश्चिममा ठूलो भूकम्प नगएको ४०० वर्ष भइसक्यो, त्यसैले १०० वर्षमा ठूलो भुईंचालो जान्छ भन्ने हल्ला मात्र हो।”
 
जोखिम कम गर्ने उपाय  
भूकम्पबाट हुने धनजनको क्षति रोक्न भवन निर्माण र शहरीकरणको क्षेत्र निर्धारणसम्बन्धी नियम कडाइका साथ पालना गराउनुपर्छ। बनिसकेका सबै स्कूल, अस्पताल र सार्वजनिक भवनलाई भूकम्प प्रतिरोधी रेट्रोफिट गर्नुपर्छ। स्टील, सिमेण्ट लगायत निर्माण सामग्री उत्पादकहरू पनि भूकम्पको जोखिम न्यूनीकरण गर्ने गरी आफूहरूले गुणस्तर कायम गरेको बताउँछन्।
'चिहान होइन, घर बनाऊँ'   

 आमोदमणि दीक्षित,
अध्यक्ष एनसेट

p47
 
 

भूकम्पीय दृष्टिले काठमाडौं उपत्यका उच्च जोखिममा छ भन्नुको वैज्ञानिक आधार के हो?
सन् १९८७ मा गरिएको ग्लोबल फेस्विक ह्याजर्ड एसिस्मेन्ट प्रोग्राम (जिस्याप) ले तयार पारेको नक्सा अहिले पनि धेरैजसो मुलुकमा प्रचलित छ। त्यो अध्ययनले सिङ्गो हिमालय क्षेत्रको नक्सालाई भुईंचालो गइरहने सम्भावना भएको क्षेत्र भनेर रातो रङले अंकित गरेको थियो। १९९७ मा एनसेटले गरेको काठमाडौं भ्याली अर्थाेकृष्ट म्यानेजमेन्ट कार्यक्रमले पनि काठमाडौंलाई जोखिममै देखायो। पोखरा र काठमाडौंको बीचलाई केन्द्र बनाएर जाइकाले गरेको अध्ययनबाट समेत काठमाडौं जोखिममा देखियो। यतिमात्र होइन, अमेरिकास्थित सेन्टर फर रिजनल डेभलपमेण्टको अध्ययनले संसारका २१ शहरमध्ये जोखिमका हिसाबले काठमाडौंलाई पहिलो नम्बरमा राखेको छ। वैज्ञानिक आधारमा गरिएका अध्ययनकै आधारमा यसो भनिएको हो।
 
भूकम्प प्रतिरोधात्मक घर बनाउन चाहिने सामग्री, प्रविधि र जनशक्ति कत्तिको पर्याप्त छ?
माटो, काठ वा बाँसबाट पनि जोखिममुक्त घर बनाउन सकिन्छ। घर कसरी बनाउने भन्ने विषयमा पढाइ हुन थालेको धेरै भयो, तर भुईंचालो थेग्ने घर कसरी बनाउने भन्ने विषयमा पढाइ हुनसकेको छैन। नेपालमा तालिमप्राप्त डकर्मी ६००० छन्, जबकि आवश्यकता ६० हजारको छ। हामीले तालिम दिएका तिनै जनशक्ति पनि खाडी मुलुकतिर पलायन भइरहेका छन्।  
 
विद्यालय, सिनेमा हल, अस्पताल जस्ता धेरै मानिस जम्मा हुुने ठाउँलाई कसरी सुरक्षित पार्न सकिन्छ?  
यस्ता भवनमा रेट्रोफिट गर्नु आवश्यक छ। अहिलेसम्म एनसेटले ३०० विद्यालय भवनमा रेट्रोफिट गरिसकेको छ। हाम्रो लक्ष्य देशभरका विद्यालय र अस्पतालमा रेट्रोफिट गर्नु हो।  
 
काठमाडौंमा भूकम्प सुरक्षाबारे चर्चा धेरै भए, अहिलेसम्मको प्रगति के छ?
अपेक्षाकृत प्रगति नभए पनि भूकम्प आउँदा कसरी बच्ने भन्नेबारे धेरै मानिस सचेत भएका छन्। २०४५ सालदेखि शुरू गरिएको काम हेर्दा कमै जस्तो लागे पनि जनचेतनाका हिसाबले चाहिं ठूलै हो भन्ने लाग्छ।
 
भूकम्प प्रतिरोधात्मक घर बनाउँदा बढी खर्च लाग्छ भन्छन् नि!
१००० वर्गफिटको तीनतले सामान्य घर बनाउँदा रु.४८ लाख लाग्छ भने प्रतिरोधात्मक घर बनाउँदा रु.५२ लाख लाग्दो रहेछ। नेपालको इतिहास हेर्दा १०० वर्षमा एकपटक जाने भूकम्पले ठूलै क्षति गराएको देखाउँछ। बाबु, छोरा वा नाति एक जनाको पालामा त भूकम्प जान्छ नै। त्यस बेला हुने मानवीय र भौतिक क्षतिसँग जोडेर हेर्दा यसलाई महँगो भन्न मिल्दैन। घर बनाउने हो, चिहान त होइन नि!


'गुणस्तरमा हाम्रो प्रतिबद्दता'

p53b
 
 

ओमप्रकाश सुवेदी
महाप्रबन्धक, पञ्चकन्या ग्रुप

कमजोर सामानबाट तयार गरिएको संरचना भूकम्पबाट सुरक्षित हुँदैन। साथै संरचनाको डिजाइन, कामदारको सीप, कार्यपद्धति भूकम्प प्रतिरोधक छैन भने पनि संरचना सुरक्षित हुँदैन। उच्चकोटिको कच्चा पदार्थ प्रयोगका कारण हाम्रा उत्पादनमा गुणस्तर कायम छ। हाम्रा फलामे छड, एचडीपीई पाइप, सीभीसी पाइप तथा फिटिङले आइएसओ–२००८ पाएका छन्। यस्तै नेपाल गुणस्तर तथा नापतौल विभागले पञ्चकन्या स्टील प्रालिलाई फलामे छडको उत्कृष्ट उत्पादन गरेबापत एनएस क्वालिटी अवार्ड–१९९९ द्वारा सम्मानित गरेको छ। पञ्चकन्या प्लाष्टिक प्रालिले एचडीपीई पाइप र पञ्चकन्या प्लाष्ट प्रालिले पीभीसी फिटिङ्समा एनएस क्वालिटी अवार्ड–२००९ र २०१२ पाएका छन्। भूकम्प सुरक्षाका लागि विभिन्न ठाउँमा भूकम्प प्रतिरोधक घर निर्माण गर्न आवश्यक छड बाँध्ने तरिकाको जानकारी दिन होर्डिङ बोर्ड राखेका छौं।


लचकतापूर्ण हामा स्टिल

 हामा स्टिलले भूकम्प प्रतिरोधक निर्माणका लागि विभिन्न सुरक्षा रणनीति अवलम्बन गरेको जनाएको छ। कम्पनीका राजु थापा सुरक्षित घरका लागि अपनाउनुपर्ने पाँच उपायमध्ये मुख्य तीन भूमिका स्टिलको हुने बताउँछन्। “यसमा स्टिलको शुद्धता र त्यसको रिफाइन प्रणालीको प्रमुख भूमिका हुन्छ”, थापा भन्छन्, “त्यसपछि गुणस्तर नियन्त्रणमा उद्योगको भूमिकाले असर गर्छ।” यसको ख्याल गरेपछि मात्र भूकम्पले हल्लाउँदा चाहिने लचकता (डक्टिनिटी) पाइने उनको भनाइ छ। हामा ले युरोप, अष्ट्रेलिया स्तरको १.१५ अनुपातको डक्टिनिटी कायम गरेको उनको दाबी छ। त्यसपछि कंक्रिट डिजाइन र पूरा परियोजनाको ढाँचाले सुरक्षित निर्माणमा प्रभाव पार्ने उनको भनाइ छ।


'नेपाली उत्पादन गुण स्तरीय छन्'  

p53a
 
 

 पशुपति मुरारका
प्रबन्ध निर्देशक, सुप्रिम सिमेण्ट

नेपालमा उत्पादन हुने निर्माण सामग्रीको गुणस्तर उच्च कोटिको छ। रड, सिमेण्ट, जस्तापाता सबै उत्पादनमा नेपाल गुणस्तर प्रमाणपत्र लिनु अनिवार्य भएकाले यसको स्तर राम्रो भएको हो। भूकम्प प्रतिरोधका लागि मुख्य रूपमा डिजाइनले प्रभाव पार्छ। उत्पादन जति राम्रो भए पनि बढी बालुवा मिसाइदिए वा मसला राम्रोसँग नघोली प्रयोग गरेमा टिकाउ हुन सक्दैन। त्यसैले घर बनाउँदा सिमेण्ट र रडको प्रयोगबारे चनाखो हुनै पर्छ।

 


नेपाली क्लिंकरबाटओपिसी सिमेन्ट'

p53
 
 

सुरेन्द्र गोयल, अध्यक्ष,
शिवम् सिमेन्ट

पूर्णतया नेपाली चुनढुङ्गाबाट बनेको क्लिंकर प्रयोग गरी शिवम् ओपिसी सिमेण्ट उत्पादन गर्दै आएका छौं। हेटौंडा क्षेत्रको चुनढुङ्गा विश्वस्तरको हुने र विना मिसावट उत्पादन हुने भएकाले शिवम् सिमेण्ट उच्च गुणस्तरको छ। जर्मन प्रविधिको मेसिन रहेकाले वातावरण प्रदूषण नगन्य मात्र छ। हरेक चरणको उत्पादनको आन्तरिक गुणस्तर परीक्षण गर्ने गरेका छौं। अरू मिसावटयुक्त सिमेण्टको तुलनामा ओपिसी सिमेण्ट छिटो सेट हुन्छ। त्यसैले जाडो मौसममा हाम्रो सिमेण्ट अझ्ै उपयोगी हुन्छ। दैनिक १२०० टन उत्पादन क्षमता रहेकाले बजारमा अभाव हुन नदिई ग्राहकले चाहेको बेला उपलब्ध गराएका छौं।
 
 

 

 

 

comments powered by Disqus

रमझम