३-९ असोज २०७२ | 20-26 September 2015

बेलायतमा नेपाली नर्स : कडा नीतिको मार

Share:
  
- तुफान न्यौपाने, बेलायतबाट फर्केर
बेलायत सरकारको आप्रवासन सम्बन्धी नयाँ नीति नेपाली नर्सहरूका लागि फलामे ढोका सावित भएको छ।

१२ वैशाखको भूकम्पपछि सिन्धुपाल्चोकमा घाइतेको उपचार गर्दै बेलायतमा कार्यरत नेपाली नर्स।
विश्वमै कहलिएको बेलायतको नर्सिङ सेवा कुनै वेला नेपाली नर्सहरूका लागि पनि आकर्षणको गन्तव्य थियो। त्यो आकर्षण अहिले पनि घटेको छैन, बरु बढेको छ तर बेलायत सरकारको नयाँ आप्रवासन नीतिले त्यसलाई टाढाको सपना बनाइदिएको छ। अब त त्यहाँ नर्सिङ लाइसेन्स पाउनु नै असम्भवप्रायः हुन पुगेको पहिल्यैबाट काम गरिरहेका नेपाली नर्सहरू बताउँछन्।

भाषाको तगारो

आफूलाई आवश्यक नर्स संख्या निर्धारण गरेर विदेशबाट सीधै 'रिक्रुट' गर्ने बेलायतले सन् २००५ बाट अंग्रेजी भाषालाई पनि योग्यताको एउटा मापदण्ड बनायो। शुरूमा आईईएलटीएसको जेनरलतर्फ ५.५ ल्याए पुग्थ्यो। त्यसपछि आईईएलटीएसको एकेडेमिकतर्फ नै ६.५ र ७ हुँदै अहिले त हरेक मोडुलमा ७ चाहिन्छ। बेलायतमा नर्स बन्ने प्रक्रियाको शुरूमै यस्तो योग्यता प्रमाणित गर्नुपर्छ। कुनै एक मोडुलमा ७ भन्दा कम ल्याउने आवेदक नर्सले बेलायतको 'नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी)' बाट पीन नम्बर पाउने बाँकी प्रक्रियामा सामेल हुनै पाउँदैन।

श्रीमान्को डिपेन्डेन्ट भिसामा २००७ मा बेलायत पुगेर २०१३ मा आईईएलटीएस पास गरी थप प्रक्रियामा लागेकी सुनिता सिम्खडा नेपाली नर्सका लागि भाषा परीक्षा प्रमुख बाधा भएको बताउँछिन्। २००४ मा सुष्मा कोइराला नर्सिङ कलेजबाट नर्सिङ सकेर साढे तीन वर्ष थापाथलीको प्रसूति अस्पतालमा काम गरेकी उनी नेपालको कलेज र अस्पताल दुवैको भाषा नेपाली हुने भएकाले अंग्रेजीमा 'इच मोडुल ७' ल्याउन निकै कठिन हुने अनुभव सुनाउँछिन्। सुनिताका अनुसार, विद्यार्थी भिसामा बेलायत जाने मध्यम वर्गीय नेपालीको उद्देश्य पैसा कमाउनु हो। बेलायतमा बाहिरका विद्यार्थीले सातामा २० घन्टा काम गर्न पाउँछन् पनि। श्रीमान् वा श्रीमतीका डिपेन्डेन्ट भिसामा जानेले त पूर्णकालीन काम गर्न पनि पाउँछन्। “तर, डिपेन्डेन्ट नर्सहरूको भने आईईएलटीएसको कडाइले गर्दा थप खर्च मात्रै हुने भएको छ”, सुनिता भन्छिन्।

उनका अनुसार, प्रत्येक परीक्षाका लागि १५० पाउन्ड (करीब रु.२४ हजार) शुल्क लाग्छ। कक्षा लिएर भाषा सुधार्नतर्फ लाग्दा एक पटकमा १००० देखि ३५०० पाउन्डसम्म लाग्छ। दम्पतीमध्ये एक जना भाषा पढ्न लाग्दा अर्कोको कमाइले दुई जनालाई निर्वाह गर्न गाह्रो हुन्छ।

हतोत्साही पार्ने नीति

एभरेष्ट गौतम
घाइतेको उपचार गरेका नर्सलाई बेलायतमा सम्मान गरिंदै ।
नेपालमा कम्तीमा एक वर्षको कार्यानुभव भएका नर्सले आईईएलटीएस उत्तीर्ण गरेपछि बेलायतको एनएमसीमा पीन नम्बरका लागि आवेदन दिन पाउँछन्। त्यसपछि पेशाको लिखित र अभ्यास परीक्षासम्म पास गर्नुपर्छ। 'ग्रेट अर्मन स्ट्रिट चिल्ड्रेन हस्पिटल' की नर्स सुशीला कार्कीका अनुसार ती परीक्षा पास गरेपछि पनि दर्ताअघि एनएमसीले सम्बन्धित नर्सले नेपालमा अध्ययन र काम गरेको कलेज र अस्पताल तथा नर्सिङ काउन्सिलको सिफारिश पत्र खोज्छ। त्यसपछि एनएमसीले तोकेको विश्वविद्यालयमा गएर 'ओभरसिज नर्सिङ प्रोग्राम (ओएनपी) भनिने तीनमहिने कोर्स पूरा गर्नुपर्छ। “बल्ल एनएमसीको व्यक्तिगत पीन नम्बर पाइन्छ”, 'नेप्लिज नर्सिङ एसोसिएसन, यूके' की अध्यक्ष रहेकी सुशीला भन्छिन्, “पीन नम्बर पाएपछि मात्र 'जब एप्लाई' गर्न सकिन्छ।”

उनका अनुसार, आईईएलटीएस पास भएपछि सबै काम फटाफट भयो भने डेढ वर्षमा पीन नम्बर पाइन्छ। आम्दानीको दह्रो स्रोत नभएकाहरू त्यतिञ्जेलमा अन्यत्र पलायन हुन बाध्य हुन्छन्। एसोसिएसनका महासचिव रहेका 'सेन्ट्रल लन्डन कमिनिटी हेल्थ केयर' का डेन्टल नर्स विनोदविकास सिम्खडा एनएमसीले पीन नम्बर दिने प्रक्रियालाई अहिले अझ् कडा बनाएको बताउँछन्।

उनका अनुसार पहिले काउन्सिलले सम्बन्धन दिएको नर्सिङ होममा ६ महीना काम गरेपछि त्यहाँका हेड नर्सको सिफारिशका आधारमा पीन नम्बर पाइन्थ्यो। “अहिले हाम्रो पालामा जस्तो बेलायतका कलेजले नर्सिङमा विदेशी विद्यार्थी नै लिंदैनन्”, सिम्खडा भन्छन्, “कडा व्यवस्थाले नर्सिङ गर्ने सपना बोकेर डिपेन्डेन्ट भिसामा बेलायत आएका धेरैजसो नेपालीलाई प्रभावित गरेको छ।”

उनका अनुसार, बेलायतको 'पर्मानेन्ट रेजिडेन्सी' (पीआर) पाएका व्यक्तिका डिपेन्डेन्ट र ब्रिटिश–गोर्खाका सन्तानले भने तीन वर्ष बसोबास गरेपछि नर्सिङ क्याम्पसमा पढ्न पाउँछन्। त्यहाँको पढाइ खर्च धान्न सक्नेलाई अवसरै अवसर हुन्छ। अरूले भने अहिलेको कडा प्रक्रिया पूरा गरेर पनि पाँच वर्षका लागि मात्र वर्किङ भिसा पाउँछन्। जबकि, पहिले पाँच वर्ष काम गरेका विदेशी नर्सहरूले बेलायतको पीआर पाउँथे। अहिले त बेलायतको पीआर पाउन वार्षिक ३५ हजार पाउन्ड आय हुनुपर्छ। नेपाली नर्सहरूले अहिले लन्डनभित्रका सरकारी अस्पतालमा वार्षिक २२ हजार र बाहिर २१ हजार पाउन्ड तलब पाइरहेका छन्। निजी अस्पतालमा काम गरेको घन्टाका हिसाबले तलब पाइन्छ, प्रतिघन्टा ९–१० पाउन्डका दरले। सरकारी नीति नै विदेशीहरूलाई हतोत्साही पार्ने गरी आएको यसले देखाउँछ।

नर्सिङ पेशाका लागि अनिवार्य मानिने एनएमसीको पिन नम्बर पाउन कम्तीमा डेढ वर्ष लाग्ने नियमले आम्दानीको दह्रो स्रोत नभएकाहरू त्यतिञ्जेलमा अन्यत्र पलायन हुन्छन्।

सुशीला कार्की

अध्यक्ष

नेप्लिज् नर्सिङ एसोसिएसन, यूके

बेलायतमा अहिले करीब डेढ लाख नेपाली रहेको अनुमान छ। तीमध्ये करीब १२ हजार नर्स रहेको अनुमान छ। नेप्लिज नर्सिङ एसोसिएसन, यूकेको दाबी अनुसार, तीमध्ये चार हजारले नर्सिङ पेशा अँगालेका छन् भने बाँकी कडा नर्सिङ नीतिका कारण अन्य काम गर्न बाध्य भएका छन्। “हाँसीहाँसी सेवा गर्ने स्वभावले बेलायतमा नेपाली नर्सलाई सबैले राम्रो मान्छन्”, कार्यवाहक नेपाली राजदूत तेजबहादुर क्षेत्री भन्छन्, “तर, कडा आप्रवासन नीतिले नर्र्स, डाक्टर सबैलाई अप्ठ्यारो परेको छ।”

सन् २००५ मा विद्यार्थी भिसा (नर्सिङ) मा बेलायत गएकी इलामकी गंगा साम्पाङ अहिले लन्डनको सेन्ट मेरिज अस्पतालमा कार्यरत छिन्। आईईएलटीएसको सबै मोडुलमा ७ ल्याएपछि मात्र बेलायतमा नर्सिङको लागि प्रयास गर्न उनको सुझ्ाव छ, त्यो पनि विश्वविद्यालयमार्फत मात्रै आवेदन दिएर। उनी भन्छिन्, “नत्र, आफ्नो योग्यता र क्षमतालाई नेपालमै वा विश्वको अर्को कुनातिर पनि प्रयोग गर्न सकिन्छ।”


सहयोगी एसोसिएसन

सन् २००५/०६ मा नेपालबाट धेरै नर्स बेलायत गए। त्यसवेला उनीहरूलाई त्यहाँका अस्पतालसँग मिलेर नेपाली एजेन्टले नै धेरै ठगे पनि। नेप्लिज नर्सिङ एसोसिएसन, युके अध्यक्ष सुशीला कार्की त्यो वेला काम नपाएर कतिले नेपालबाट खर्च मगाएर त कतिले मजदूरी समेत गरेर गुजारा चलाएको बताउँछिन्। यस्तो अवस्था कायम रहेको वेला नेपाली नर्सहरूलाई सहयोग गर्ने उद्देश्यले अजिता सिम्खडाको अध्यक्षतामा २००८ मा नेप्लिज नर्सिङ एसोसिएसन, यूके गठन भयो।

सात वर्षमा एसोसिएसनले आफ्नो कार्यक्षेत्रलाई फराकिलो पनि बनाएको छ। अहिले नेपालको स्वास्थ्य क्षेत्रका लागि सहयोग जुटाउने काम पनि एसोसिएसनमार्फत नै हुन्छ। १२ वैशाखको महाभूकम्पले नेपालमा विनाश गरेपछि पुनःनिर्माणका लागि एसोसिएसनले ३० हजार पाउन्ड (करीब रु.४८ लाख) संकलन गर्‍यो। त्यो रकमबाट सिन्धुपाल्चोकको ज्यामिरेमा स्वास्थ्यचौकी बनाउने योजना तय भएको एसोसिएसनका महासचिव विनोदविकास सिम्खडा बताउँछन्। भूकम्प लगत्तै एसोसिएसनले आफ्ना २० सदस्यलाई चार टोलीमा नेपाल पठाएर उद्धार अभियानमा सरिक गराएको थियो।

comments powered by Disqus

रमझम