३-९ असोज २०७२ | 20-26 September 2015

टीकापुरदेखि बेथरीसम्म

Share:
  
गएको एक महीनामा भएका हिंसात्मक आन्दोलनमा बालबालिका गुमाएका परिवारको पीडामा नयाँ संविधान आउँदाको उत्सवले मलम लगाउन सक्ने अवस्था छैन।

२९ भदौमा बेथरी, रुपन्देहीमा प्रहरीको गोलीबाट मारिएका चार वर्षीय चन्दन पटेल (बायाँ) र ७ भदौमा टीकापुर, कैलालीमा आन्दोलनकारीबाट मारिएका १८ महिने टेकेन्द्र साउद।
२९ भदौमा परेको यो वर्षको बाल दिवसमा मधेश आन्दोलनको तनावका कारण अन्यत्र जस्तै भैरहवामा पनि कसैले कुनै कार्यक्रम आयोजना गरेका थिएनन्। भैरहवा–लुम्बिनी खण्डको बेथरीमा भने साप्ताहिक हाट लागिरहेको थियो। बजारमा तरकारी किन्न गएकी आमा अनितादेवी पटेलसँग हिंडिरहेका थिए, चार वर्षका चन्दन पटेल। एक्कासी हूलका हूल मान्छे बजार पसे। एक हूल प्रहरी उनीहरूको पछि लागेको रहेछ। त्यो देखेर आत्तिएकी अनितादेवी छोरालाई टिपेर नजिकैको घरमा पस्दै थिइन्। त्यत्ति नै वेला ड्याम्मै गोली चल्यो अनि चन्दन खुत्रुक्कै भए।

बजार पसेको हूलमा मधेशी मोर्चाका आन्दोलनकारी थिए। प्रहरीको दाबी अनुसार, उनीहरूले प्रहरीले स्कर्टिङ गरिरहेका मालबाहक ट्रक र प्रहरीकै पनि गाडीमा पेट्रोल बम हानेका थिए। प्रहरीले उनीहरूलाई फायर खोल्दै लखेटेको थियो, तर निशानामा परे, निर्दोष बालक चन्दन। हाटबजारमा किनमेल गर्न आएका अन्य तीन जना निर्दोष नागरिक चन्दनसँगै मारिए।

प्रदेश सीमांकन विरुद्धको आन्दोलनका क्रममा यसअघि ७ भदौमा कैलालीको टीकापुरमा आन्दोलनकारीको गोलीबाट डेढ वर्षका टेकेन्द्र साउद मारिएका थिए। त्यो आन्दोलन थरुहट/थारूवान संघर्ष समितिको थियो। आन्दोलनको क्रममा अहिलेसम्म दुई नाबालक र चार किशोर–किशोरीको ज्यान गइसकेको छ। (हे.टेबुल) ४३ जनाको ज्यान गइसकेको यस आन्दोलनमा मारिनेमा ११ जना सर्वसाधारण, त्यतिकै संख्यामा प्रहरी र २१ जना आन्दोलनकारी रहेका छन्। नयाँ संविधानको विरोधमा भनिएको यस आन्दोलनमा यो हदसम्मको हताहतीले आन्दोलनको गन्तव्यलाई अनिश्चित त बनाएको छ नै सँगै सरकारको सुरक्षा व्यवस्थापन माथि पनि ठूलो प्रश्नचिह्न लगाएको छ। टीकापुरमा छोरो गुमाएकी यशोदा अझ्ै सामान्य हुन सकिरहेकी छैनन् भने बेथरीकी अनितादेवी पर्साको पोखरिया अस्पतालमा उपचाररत छिन्। घर पोखरिया नगरपालिका–१ बनकटिया भए पनि चन्दनका बाबु अवधेश पटेल बेथरी नजिकै अग्नि सिमेन्टमा काम गर्ने भएकाले आमा–छोरा सब्जी किन्न बेथरी बजार पुगेका थिए। पटेल दम्पतीका दुई छोरा र एक छोरीमध्ये चन्दन कान्छा थिए। अनितादेवी छोराछोरी स्याहार्न र अवधेश कारखानाको काममा व्यस्त हुन्थे। “हामी आन्दोलनमा गएका थिएनौं”, अवधेशले टेलिफोनमा भने, “तर, प्रहरीले मेरो नाबालक छोरो मार्‍यो।”

प्रहरीले बेथरी हाटमा गोली चलाउँदा मारिनेमा अर्की थिइन्, १४ वर्षीया रञ्जनासिंह क्षेत्री। संविधान, संघीयता, सीमांकन जस्ता कुरामा कुनै सरोकार नभएकी उनी तीज मनाउन रूपन्देहीको सिलौटियाबाट मामाघर बेथरी आएकी थिइन्। गोलीले ढाल्दा उनी हजुरआमा बुद्धकुमारीसँग बात मारिरहेकी थिइन्। बुद्धकुमारी भन्छिन्, “फूलजस्ती मेरी नातिनीलाई मेरै अगाडि मारे।”

स्रोतः इन्सेक

बेथरी घटना

बेथरी क्षेत्रको लुम्बिनी औद्योगिक करिडोर आन्दोलनकारीको निशाना बनिरहेको थियो। उद्योग वाणिज्य महासंघको केन्द्रीय नेतृत्व र मोर्चाबीच २३ भदौमा भैरहवामा भएको छलफलमा उद्योगीहरूले बन्द फिर्ता लिन आग्रह गरेका थिए। त्यसयता आन्दोलनकारी उद्योगहरू छानीछानी निशाना बनाइरहेका थिए। २४ र २५ भदौमा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको अर्घाखाँची सिमेन्ट उद्योग लगायत सात उद्योगमा तोडफोड भएपछि प्रहरीले औद्योगिक क्षेत्रको निगरानी थालेको थियो।

२९ भदौको अपराह्न औद्योगिक क्षेत्रका ट्रकहरूलाई प्रहरीले एस्कर्टिङ गरिरहेको थियो। रूपन्देहीका प्रहरी प्रमुख राजेन्द्रप्रसाद ढकालका अनुसार, त्यही वेला आएका आन्दोलनकारीहरूले गाडीमा पेट्रोल बम हान्न थाले। पेट्रोल बमले जल्न लागेका सई जनक रेग्मीलाई अरू प्रहरीले बचाए। त्यसपछि प्रहरीले कडा कारबाही थाल्दा आन्दोलनकारीहरू भागेर नजिकैको हाटबजारमा मिसिएका थिए। भीडमा प्रहरीले गोली चलाउँदा आन्दोलनकारीहरूलाई त केही भएन, तर चन्दन र रञ्जनासँगै गोनाहाका बिन्दु लाकौल (३५) र राजकुमार बराई (३५) पनि मारिए। बेथरी घटनाका घाइतेमध्ये धेरैजसो महिला छन्। त्यसमध्ये हाटीबनगाईकी सगती मुराउ (५०), सरस्वती मुराउ (३०) र गोनाहाकी नन्दनी पाण्डे गम्भीर घाइते छन्। घटनास्थल हेरेर फर्किएका शान्ति समाजका केन्द्रीय सचिव गोविन्द खनालले बेथरीमा सुरक्षाकर्मीले संयम गुमाएको देखिएको बताए।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम