गाली

Share:
  
p9
तस्बिर:  भानु भट्टराई

नेपाली समाजबारे पढे–बुझ्ेका एकजना अमेरिकी स्वयंसेवकले नेपालीहरूले गौराङ्गहरूलाई 'कुइरे' भन्ने गरेको थाहा पाएछन्। आफ्नो रङरुप वा जातिका बारेमा अर्काले टिप्पणी गरेको कसलाई पो मन पर्छ र, तिनलाई पनि कुइरे विशेषण पटक्कै मन परेनछ। तर वर्णभेदजनक (रेसिस्ट) व्यवहारबाट मुक्ति पाउन सजिलो छैन भन्ने कुरा बुझ्ेका ती अमेरिकीले नेपालीहरूको कमजोरीबाट नै मुक्ति पाउने उपाय रचेछन्। 

आफ्नो कार्यक्षेत्रमा पुगेर उनले आफूलाई कुइरे भन्नेजतिलाई पैसा बाँड्न थालेछन्। एक पटक कुइरे भनेको एक रुपैयाँ पाउन थालेपछि मानिसहरू उनलाई चम्किई चम्किई 'कुइरे' भन्न थालेछन्। एकदिन ती स्वयंसेवकले घोषणा गरेछन्, “कुइरे भन्दा पैसा पाइने प्रोजेक्ट सकियो!” 

गाउँलेले पनि भनेछन्, “प्रोजेक्ट सकियो र पैसा पाइन्न भने त हामी पनि तिमीलाई कुइरे भन्दैनौं।” 

अनि तिनले ढुक्कले आफ्नो कार्यकाल पूरा गरेछन्। 

पैसा पाएर गरेको गलत कामको एउटा राम्रो पक्ष छ, पैसा पाउन छाडेपछि मान्छेले त्यो काम गर्न छाड्छन्। 

हाम्रो समाजमा अहिले धेरै गलत कामहरू भइरहेका छन् र सबैलाई थाहा छ, समाजलाई ती एजेण्डा बोकाउने काममा कैयन् दाता र आईएनजीओहरू सक्रिय छन्। तर शायद ती संस्थाहरूले ती अमेरिकी स्वयंसेवकको उदाहरणबाट सिकेका छैनन्, गाली गर्ने प्रोजेक्ट सकिएपछि सित्तैंमा कसैले गाली गरिदिंदैन। 

कथाका ती अमेरिकी स्वयंसेवक नेपालमा आफ्नो काम सकिएपछि आफ्नो देश फर्किए होलान् र आफूले चलाएको गाली परियोजनाबारे रमाइलो कुरा गरे वा केही लेखे पनि होलान्। अर्काको भाषामा अर्काबाट खाएको गालीले उनको मनको कुनै कुनामा खत लगायो होला भन्ने लाग्दैन। तर सबै गाली त्यसरी बिर्सिइने हुँदैनन्। अझ्, आफ्नै भाषामा, आफ्नै मान्छेले गरेका गालीले मनमा लागेको चोटको खाटा उक्किए पनि खत बाँकी रहन्छन्। 

कैअघि पढेको अर्को एउटा कथा छ, सुन र फलामको। ज्यासलमा कुटिंदा फलाम किन ठूलो आवाज निकालेर रुन्छ र सुन किन सुँक्क सुँक्क रुन्छ भन्ने उत्तर दिन्छ त्यस कथाले। सुनले एकदिन सोध्छ फलामलाई, “ज्यान अनुसारको उस्तै कुटाइ म पनि खान्छु, तर तिमी किन त्यति साह्रो रोएको?” 

फलामले जवाफ दिन्छ, “तिमीलाई पराइले कुट्छ, रीस मात्र उठ्दो हो। मलाई त आफ्नैले कुट्छन्, चित्त पनि दुख्छ।” 
कविवर माधव घिमिरे लेख्छन्, 
“भरिन्छ सिक्रो रूख पालुवाले 
भरिन्छ पैह्रो पनि रे दुवाले 
भरिन्छ जेले पनि धर्ति फाटे 
भरिन्छ केले तर चित्त फाटे।” 

त्यसमाथि आफ्नैहरूका कारण फाटेको चित्त भरिन त निकै गाह्रो पर्छ। 

तर घाउचोटका कुरा चलेका बेला मल्हमपट्टीका कुरा पनि गर्नुपर्छ। हामी नेपालीहरू आफ्नो सहनशीलता, सहृदयता र मुस्कानका लागि नामी छौं। हामीले निकै गहिरा घाउहरूमा मुस्कानको मल्हम लगाएका छौं। सशस्त्र द्वन्द्व चलेका बेला कहिल्यै नफर्कलान् जस्ता भइसकेका मेला पर्वहरू फर्किए। मुलुक चरम दुरवस्थामा भएका बेला र अर्काले असफल राष्ट्र भन्न रहर गरेको धेरै भइसक्दा पनि हामी चर्मराएका छैनौं। यो सामाजिक सम्बल हाम्रो सबैभन्दा ठूलो पूँजी हो। गालीले त्यो पूँजी घटाउँछ। चित्त दुख्ने अवस्था जति कम आयो, मुस्कानका रेखाहरू त्यति उज्याला हुन्छन्। उज्यालो बढाए हामी बुद्धिमान, अँध्यारो बढाए हामी मूर्ख। 

समाजमा गालीको सघनता घटाउने एउटा उपाय हो, गाली नगर्ने। म क्षमायाचना गर्छु, मैले जानाजान वा अज्ञानतावश गाली गरेर कसैको चित्त दुखाएको भए, सबैसित। बाचा गर्छु, म गाली गर्ने कुनै परियोजनाका लागि प्रोपोजल लेख्दिनँ। जति नै पारिश्रमिक पाए पनि त्यस्ता परियोजनामा जागिर खान्न। परियोजना सकिएपछि बोल्न मन नलाग्ने कुनै पनि काम अब म गर्दिनँ। मेरा स्वजनहरूलाई गाली गर्न उक्साउनेहरूलाई म जिल खुवाइदिन्छु।

comments powered by Disqus

रमझम