७-१३ कात्तिक २०७३ | 23-29 October 2016

'क्रिकेटरलाई तलबको व्यवस्था गर्नुपर्छ'

Share:
  

दुई साताअघि मात्र सम्पन्न एशिया क्षेत्रीय वुमन्स वर्ल्ड कप छनोट प्रतियोगितामा उपविजेता बन्दै पहिलोपटक एशिया कपमा सहभागी हुन सफल नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री भन्छिन्, “भारत र पाकिस्तान नै मुख्य प्रतिस्पर्धी हुन्।”

नोभेम्बर २६ देखि डिसेम्बर ५ सम्म थाइल्याण्डको ब्यांकक्मा हुने एशिया कपमा नेपालको तयारी कस्तो छ?

आराम गर्न एक साताको विदा पाएका छौं। तर, यतिबेला पनि शारीरिक व्यायाम भने गर्नै पर्छ। तिहारअघि वा लगत्तै बन्द प्रशिक्षण शुरु हुन्छ।

नेपाली क्रिकेट टोली पहिलोपटक एशिया कप खेल्दैछ। देशले के आशा गर्ने?

हामी एकदमै उत्साही छौं। छनोट चरणका तीनवटा खेल हारे पनि पछिल्ला तीन खेल जित्यौं। यसले पनि हाम्रो टीममा उत्साह थपिएको हो। उत्साही छौं भन्दैमा कुनै पनि प्रतिस्पर्धी टीमलाई कम आँक्नुहुँदैन। अहिलेको सन्दर्भमा टेष्ट खेलेका भारत र पाकिस्तानलाई नै मुख्य प्रतिस्पर्धी ठानेका छौं।

के यसले महिला क्रिकेटको अवस्था सुध्रँदै गएको संकेत गर्छ?

एशिया कपमा छानिएपछि हामी एक 'स्टेप' उक्लिएका छौं। सम्भावना राम्रो छ। तर, सुधार पुगेको छैन। हामीले पटकपटक आफ्ना समस्या सम्बन्धित ठाउँमा राखिसकेका पनि छौं।

महिला क्रिकेटरको मुख्य समस्या के हो?

मुख्य कुरा भनेकै सुरक्षित भविष्य हो। खेलाडीले क्रिकेटमै भविष्य देखे भने खेल सप्रन्छ। त्यसका लागि खेलाडीलाई तलबको व्यवस्था हुनुपर्‍यो। पेट पाल्न बाहिर जागीर खोज्नु नपर्ने अवस्थामा मात्र हामी पूरा समय क्रिकेटमा दिन सक्छौं। यो कुरा सरकारले बुझ्नुपर्छ।

अरु समस्या पनि छ होलान्?

प्रतियोगिता नै सारै थोरै हुनु अर्को समस्या हो। जति धेरै 'म्याच' खेल्यो उति धेरै आत्मविश्वास बढ्छ। त्यसो भए मात्र हामी माथिल्लो चरणमा जान सक्छौं। नत्र खेलाडी आउँछन्, हराउँछन्।

comments powered by Disqus

रमझम