२-८ माघ २०७३ | 15-21 January 2016

'सामुदायिक रेडियोलाई राज्यले विभेद गर्‍यो'

Share:
  

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का नवनिर्वाचित अध्यक्ष सुवास खतिवडा भन्छन्, “सामुदायिक रेडियोप्रति समुदायको विश्वास बढाउने गरी काम गर्छु।”

बिक्रम राई
सामुदायिक रेडियोहरुको अवस्था कस्तो छ?

अहिले सबै सामुदायिक रेडियोहरु पूर्ण रुपमा सक्षम भइसकेका छैनन्। दक्ष जनशक्तिको अभाव छ। आर्थिक रुपमा सबल हुनसकेका छैनन्। तैपनि सामुदायिक रेडियोहरुले गाउँ–गाउँमा सूचना, जानकारी प्रवाह गरेर सामाजिक रुपान्तरणका लागि सहयोग पुर्‍याइरहेका छन्।

सामुदायिक रेडियोका समस्या के हुन्?

गाउँ–गाउँमा सामुदायिक रेडियो पुगे पनि स्रोतसाधन सम्पन्न हुनसकेका छैनन्। कतिपय सामुदायिक रेडियोहरु बिजुली, टेलिफोनलगायतका समस्या झ्ोलिरहेका छन्। दक्ष–प्राविधिकको अभाव छ।

सामुदायिक रेडियोका समस्या समाधान गर्न के गर्नुपर्छ?

सामुदायिक रेडियोहरुलाई अन्य मिडियालाई जस्तै एकै ठाउँमा राखेर हेर्ने गरिएको छ। यो एकदमै गलत छ। मिडिया र सामुदायिक रेडियो फरक हुन्। सरकारले सामुदायिक रेडियोको अवस्था सुधारका लागि सहयोग गरिरहेको छैन। सामुदायिक रेडियो भनेका समुदायका सम्पत्ति हुन्। यिनीहरुको आर्थिक सबलीकरण, दिगो विकास, जनशक्ति उत्पादन गर्न राज्यले सहयोग गर्नुपर्छ।

सामुदायिक रेडियो भने पनि त्यस अनुसार नचलेको आरोप छ नि!

त्यस्तो होइन। रेडियो शुरु गर्दा नजानेर एक–दुई ठाउँमा त्यस्तो भएको हुन सक्छ। तर, सामुदायिक रेडियोले समुदायकै कुरा गरेका छन्। नजानेकाहरुले पनि सिक्दै छन्।

सुधारका लागि तपाईंका योजनाहरु के के छन्?

पहिले सामुदायिक रेडियोलाई सबै ठाउँमा पुर्‍याउने अभियानमा थियौं। त्यो अभियान पूरा भएको छ, सबै जिल्लामा सामुदायिक रेडियो खुलिसकेका छन्। अब सामुदायिक रेडियोलाई समुदायसँग जोड्ने, रेडियोप्रति विश्वास बढाउने र समुदायलाई अपनत्व महसूस गराउने काम गर्नुपर्नेछ। मेरो कार्यकालमा सामुदायिक रेडियोको दिगोपन, समुदायको लगानीलाई गर्व गर्न लायक बनाउने र सामुदायिक रेडियोप्रति समुदायको अपनत्व जगाउने हिसाबले काम गर्ने योजना बनाएको छु।

comments powered by Disqus

रमझम