११-१७ असार २०७४ | 25 June - 1 July 2017

“सीपीडी तालीम नलिनेको लाइसेन्स नवीकरण हुँदैन”

Share:
  

चिकित्सकको योग्यता र क्षमता अभिवृद्धिका लागि साउनदेखि सञ्चालन गर्न लागिएको कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) तालीमबारे नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा भन्छन्, 'तालीममा चिकित्सकहरूलाई आचारसंहिता, संक्रमण नियन्त्रण र एन्टिबायोटिक प्रयोगको ज्ञान अद्यावधिक गरिनेछ।'

बिक्रम राई
सीपीडी तालीम के हो?

चिकित्सा विज्ञानका क्षेत्रमा भइरहेको समयसापेक्ष विकासबारे चिकित्सक अद्यावधिक हुनुपर्छ। यसैका लागि विश्वका धेरै ठाउँमा कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) तालीम गरिन्छ। एमबीबीएसदेखि विशेषज्ञ तह सबै डाक्टरले सीपीडी तालीम लिएकै हुनुपर्छ। कुनै डाक्टरले चिकित्सा शिक्षा सम्बन्धी सम्मेलन, कार्यशालामा भाग लिए उनीहरूको नम्बर सीपीडीमा जोडिन्छ। काउन्सिलले साउनदेखि यो कार्यक्रम लागू गर्दैछ।

काउन्सिलले कसरी सीपीडी तालीम सञ्चालन गर्छ?

सीपीडी तालीम शुरु भएपछि प्रत्येक डाक्टरले काउन्सिलको वेबसाइटमा छुट्टै अकाउन्ट बनाउनुपर्छ। सम्मेलन वा तालीममा भाग लिए वा दिए बारेको प्रमाणपत्र काउन्सिलको अनलाइनमा अपलोड गर्नुपर्छ। त्यसपछि काउन्सिलको सीपीडी कमिटीले सम्बन्धित डाक्टरले दाबी गरे जस्तो तालीम वा सम्मेलनमा भाग लिएको हो/होइन भन्ने जाँचेर आवश्यक अंक दिन्छन्।

काउन्सिल आफैंले चाहिं तालीम दिंदैन?

काउन्सिलले पनि तीनदेखि चार वटा विषयमा तालीम दिन्छ। जस्तो कसैलाई हृदयघात भइहाले तत्काल गरिहाल्नुपर्ने सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) को तालीम प्रत्येक डाक्टरले लिनै पर्छ। काउन्सिलले देशव्यापी रुपमा यो तालीम संचालन गर्छ। सीपीडीअन्तर्गत डाक्टरको आचारसंहिता, उपचार गर्दाको संक्रमण नियन्त्रण र एन्टिबायोटिक औषधिको उचित प्रयोगबारे पनि तालीम दिन्छ। अन्य व्यावसायिक संस्थाहरूले पनि सीपीडी तालीम दिन्छन्।

यो तालीम कति–कति समयमा लिनुपर्छ?

यो चिकित्सा पेशामा रहुञ्जेल निरन्तर लिने तालीम हो। काउन्सिल र अन्य व्यावसायिक संघ–संस्थाले दिने तालीममार्फत एउटा डाक्टरले पाँच वर्षमा १०० नम्बर पुर्‍याउनुपर्छ। पहिलो चरणमा काउन्सिलले डाक्टरहरूलाई १०० नम्बर पुर्‍याउन तालीम तथा सम्मेलनमा सहभागी गराउने लक्ष्य राखेको छ। दोस्रो चरणमा काउन्सिलले १०० नम्बर नपुगेका डाक्टरको लाइसेन्स नवीकरण गर्दैन।

तालीमका अन्य फाइदा के के हुनसक्छन्?

कार्य सम्पादन मूल्यांकनमा डाक्टरले सीपीडीबाट पाएको अंकलाई पनि समावेश गर्न शिक्षा र स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्नेछौं। यसले बढुवामा पनि प्रभाव पार्छ।

comments powered by Disqus

रमझम