१६ भदौ २०७० | 1 September 2013

‘पक्राउ सूचीमा धेरै छन्’

Share:
  
विभिन्न विभाग, संस्थान र प्राधिकरणका अधिकारीहरूलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटा भन्छन्, “पक्राउ परेको एउटा अभियुक्तले अर्कोको पोल खोल्ने गरेका छन् ।”

देबकी विष्ट
**थुन्ने ठाउँ समेत नपुग्ने गरी उच्चपदस्थ अधिकारीहरू पक्राउ गर्नुको कारण के हो ? **

जता हे¥यो उतै भ्वाङ परेको देखिएकाले यसरी पक्राउ गर्नुपरेको हो । गैर–कानूनी तरिकाले कमाउनेहरू बढिरहेको प्रमाण पनि हो, यो । पक्राउ पर्नेले अर्काको पोल खोल्ने गरेका छन् ।

कहिलेसम्म चल्नेछ, यो पक्राउ अभियान ?

यो अभियान होइन, नियमित काम हो । पहिलेदेखिको अनुसन्धानको आधारमा अहिले पक्राउ गरिएको हो । अझै धेरै जनालाई पक्राउ गर्नुपर्ने गरी हामीले सूचना पाएका छौं । उनीहरू सबै पक्राउ पर्नेछन् ।

यो प्रचारवाजीका लागि हो कि डर पैदा गरेर कमाउने उद्देश्यले हो वा साँच्चै सुधारका लागि हो ?

नकारात्मक कुरा गर्न र सुन्न मन पराउनु नेपालीको कमजोरी जस्तै भइसकेको छ । तर, पनि आयोगले कुराबाट भन्दा कामबाट देखाउने अठोट गरेको छ । केही दिनमै तपाईंहरूले नतीजा पाउनुहुनेछ ।

यो तहसम्मकालाई मात्र पक्राउ गर्ने हो कि, लडाकूको शिविरमा गएको पैसामा भ्रष्टाचार गर्ने पुष्पकमल दाहाल वा उनी जस्तै प्रधानमन्त्री र मन्त्री भइसकेका नेताहरूलाई पनि पक्रने ?

प्रमुख आयुक्तले सञ्चारमाध्यममा जतिसुकै उच्चपदस्थले पनि गल्ती गरे पक्राउ गर्छौं भनिसक्नुभएको छ । मैले दोहो¥याउनुपर्छ जस्तो लाग्दैन ।

यसरी पक्राउ गरेर भ्रष्टाचार रोकिएला ? नियम, कानून नै बलियो बनाउनुपर्दैन ?

इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेका कसैले पनि त्रसित हुनुपर्दैन । हामी पाइप लाइनमा राखेर अनुसन्धान गर्दैछौं । तर, नेपाल पक्ष राष्ट्र भइसकेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि अनुसार केही ऐन, कानून भने बन्नु जरुरी छ । अनुसन्धानको क्रममा असजिला पार्ने केही कानून संशोधन गर्ने पहल भइरहेको छ ।

comments powered by Disqus

रमझम