५-११ जेठ २०७६ | 19-25 May 2019

‘होटल क्षेत्रको गुणस्तर सुधार्नु छ’

Share:
  

२६ वैशाखमा होटल संघ नेपाल (हान) को साधारण सभाबाट सिर्जना राणा अध्यक्षमा निर्वाचित भइन्। होटल व्यवसायको गुणस्तरमा जोड दिंदै नवनिर्वाचित अध्यक्ष राणा भन्छिन्, “होटलको संख्या वृद्घि हुँदैमा सकारात्मक मान्न मिल्दैन।”

अध्यक्ष बनेपछिका योजना के छन् ?

योजना त धेरै छन् । तर विशेष योजना भने, होटल व्यवसायमा अहिले रहेका समस्या समाधान गरी पर्यटन क्षेत्रमा योगदान गर्ने हो । साथै, सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई संघको तर्फबाट सघाउन हरसम्भव प्रयास गर्नेछु ।

यस क्षेत्रका समस्या के छन् ?

मुख्यतः सरकारले होटल व्यवसायीको क्षमता भन्दा अत्यधिक कर लगाएको छ । सरकारले विगतमा होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिने निर्णय गरेको थियो, तर हालसम्म कार्यान्वयन हुनसकेको छैन । रु.१० खर्बको लगानी र १० लाख भन्दा बढीलाई रोजगारी दिएको क्षेत्रलाई बेवास्ता गरिनु दुःखद हो । यसका साथै, देशका प्रायः क्षेत्रमा विकास पूर्वाधारको अभाव, पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन नगरिनु लगायत समस्या छन् ।

होटल व्यवसायको विस्तारको गति कस्तो छ ?

विस्तार तीव्र गतिमै भइरहेको छ । तर होटल, लज आदिको संख्या बढ्दैमा यस क्षेत्रको विकास भएको भन्न मिल्दैन । गुणस्तर महत्वपूर्ण विषय हो । होटलहरूले पर्यटकको माग अनुसार उत्कृष्ट सेवा–सुविधा दिन सक्नुपर्छ, जुन अझै पनि हुनसकेको छैन ।

यो व्यवसायमा थपिइरहेको लगानीले के संकेत गर्छ ?

होटलमा लगानी बढ्नुको मुख्य कारण यसमा रहेको व्यावसायिक सम्भावना नै हो । व्यवसायीलाई मुनाफा आर्जन र देशको आर्थिक उन्नतिको स्रोत हो, यो ।

पर्यटन क्षेत्रले लाभ लिन कस्तो नीति चाहिन्छ ?

सरकारले देशलाई विदेशी पर्यटकको मुख्य गन्तव्यस्थल बनाउने किसिमको नीति ल्याउन आवश्यक छ । जस्तैः स्थानीय संस्कृति, रहनसहनको प्रवद्र्धन गर्ने, प्राकृतिक स्थल र सम्पदाहरूको प्रचार गर्ने र विशेष गरी हाम्रा स्थानीय परिकारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने । अब सात वटै प्रदेशका मुख्य विशेषता उजागर गरी यसलाई देश बाहिर चिनाउने नीति सहित अघि बढ्नुपर्छ ।

comments powered by Disqus

रमझम