२४–३० कात्तिक २०७६ | 10-16 Nov 2019

‘बेपत्ता परिवारको मुद्दा छाड्दिनँ’

Share:
  

सेनाद्वारा बेपत्ता बनाइएका तत्कालीन माओवादी समर्थित अनेरास्ववियू (क्रान्तिकारी) का विद्यार्थी नेता ज्ञानेन्द्र त्रिपाठीकी पत्नी शर्मिला पन्त (त्रिपाठी) २१ कात्तिाकमा सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएकी छिन्। नियुक्तिलगत्तौ उनको भनाइ थियो, “पार्टीभन्दा बाहिरको जिम्मेवारीमा आइसकेकाले विगत धेरै कोट्याइरहनु आवश्यक नहोला।”

तपाईंलाई किन प्रदेश प्रमुखको जिम्मेवारी दिइयो ?

मैले २०५८ सालदेखि तत्कालीन नेकपा माओवादीको पार्टी सदस्यता लिएर काम गरेकी थिएँ । मेरो श्रीमान् (ज्ञानेन्द्र त्रिपाठी) त विद्यार्थी हुँदादेखि नै कम्युनिष्ट राजनीतिमा लाग्नुभयो र माओवादीमा आवद्ध भइसकेपछि भूमिगत हुनुभएको थियो । पार्टीमा हामीले गरेको योगदानको कदर गर्दै मलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको हो । अब पार्टीभन्दा बाहिरको जिम्मेवारीमा आइसकेकाले विगत धेरै कोट्याइरहनु आवश्यक नहोला ।

प्रदेश प्रमुख बनाउनुअघि तपाईंसँग छलफल भयो ?

प्रदेश प्रमुख नियुक्त गर्नेबारे कसैले पनि जानकारी दिएको थिएन । साथीहरूले बधाई दिएपछि मात्र नाम सिफारिश भएको थाहा पाएँ । त्यसपछि समाचारहरू हेर्दा आफ्नो नाम देखें ।

तपाईं प्रदेश–३ को मान्छे, सुदूरपश्चिमको जिम्मेवारी पाउँदा काम गर्न असहज हुँदैन ?

सरकारले दिएको जिम्मेवारी जहाँ गएर पनि पूरा गर्न सकिन्छ । मलाई त सुदूरपश्चिम प्रदेश पाएकोमा खुशी लागेको छ । पछाडि पारिएको क्षेत्र भएकाले यो ठाउँलाई नजिकबाट बुझ्ने मौका मिलेको छ ।

सुदूरपश्चिमका महिलाहरूको मुद्दाबारे परिचित हुनुहुन्छ ?

आम नेपालीको अवस्थाबारे जानकार भएकाले महिलाको अवस्था सामान्यतया सबै ठाउँको उस्तै हो । यहाँ आएर भर्खरै कार्यभार सम्हाल्दैछु । भौगोलिक, सामाजिक सांस्कृतिक सबै अवस्था बुझेर आफ्नो जिम्मेवारीले कतिसम्म गर्न मिल्छ, गर्नेछु ।

तपाईं बेपत्ता परिवार समाजको अध्यक्ष हुनुहुन्थ्यो, अहिले सल्लाहकार हुनुहुन्छ । अबको जिम्मेवारीले यो मुद्दा उठाउन सहज होला कि नहोला ?

मुद्दा उठाउनै हुँदैन भन्ने होइन । मेरो श्रीमान् २०६० सालदेखि बेपत्ता हुनुभएकाले यो आवाज त उठाइरहन्छु । तर, अब पहिलेभन्दा फरक तरिकाले काम गर्नुपर्छ । परिवारका सदस्य बेपत्ता भएका अरु पनि साथीहरू हुनुहुन्छ, उहाँहरूले पनि गर्नुहुन्छ ।

comments powered by Disqus

रमझम