सागको तयारी निकै सुस्त र ढिला भयो; किन वेलैमा काम हुन सकेन ?
नेपालले १३औं साग गर्ने जिम्मेवारी २०७२ सालमै पाए पनि त्यतिवेलाका सरकारले भूकम्पबाट भत्किएका संरचना समयमा बनाउन र मर्मत गर्न चासो दिएनन् । पछिल्लो डेढ वर्षमा हामीले तीव्र गतिमा काम गरिरहेका छौं । लन टेनिस कोर्ट, स्क्वास भवन, शूटिङ भवन बनिसके भने हीटिङ स्वीमिङ पुल र दशरथ तथा पोखरा रङ्गशाला निर्माण अन्तिम चरणमा छन् । ती संरचना हप्ता दिनभित्र तयार भइसक्छन् ।
दशरथ रङ्गशालाको पुनर्निर्माण नसकिएर उद्घाटन नै प्रभावित हुने अवस्था त आउँदैन ?
हामी साँझ, बिहान मात्र होइन राति पनि काम गरिरहेका छौं । अबको एक सातामा रङ्गशालाको काम सकिन्छ, त्यसपछि मञ्च निर्माण गर्नेछौं । रङ्गशाला पुनर्निर्माण नै ढिला शुरु भएकाले धेरै हतारमा काम गर्नु परेको छ ।
खेलस्थल अभावमा खेलाडीले राम्रो तयारी गर्न पाएनन् । यतातिर वेलैमा ध्यान किन गएन ?
पहिला नै रङ्गशाला तयार थियो भने अभ्यासमा समस्या हुँदैनथ्यो, घरेलु मैदानको लाभ हुन्थ्यो । केही खेलका पूर्वाधार भव्य छन् तर, केहीमा समस्या भएकै हो । त्यसैले अधिकांश खेलका खेलाडीलाई हामीले विदेशमा प्रशिक्षणका लागि पठाएका छौं ।
१३औं सागमा नेपालले कति पदक जित्ने आशा छ ?
१५ महीनाअघि इण्डोनेशियामा भएको १८औं एशियन गेम्समा नेपाल दक्षिण एशियाली देशमध्ये दोस्रो भएको थियो । अहिले त्यो सफलतालाई कायम गर्ने चुनौती छ । हामीले त्यतिवेलैदेखि १३औं सागलाई ध्यान दिएर तयारी गरेका थियौं । घरमा हुने प्रतियोगितामा विगतको विरासत कायम गर्नेछौं । ठ्याक्कै पदक संख्या भन्न चाहिं सकिंदैन ।
स्वर्ण पदकको आशा गरिएको पाराग्लाइडिङ अन्य देशसँग पर्याप्त छलफल नगरी समावेश गर्दा अन्तिम समयमा रोकिएको हो ?
साउथ एशियन ओलम्पिक कमिटीमा रहेका सातै देशका प्रतिनिधिले सर्वसम्मत रुपमा २७ खेल राख्ने निर्णय गरेका हुन् । कम्तीमा चार वटा देशले भाग नलिंदा पाराग्लाइडिङ नहुने भयो । यो अवस्थाबारे हामीले सबै देशका ओलम्पिक कमिटीको ध्यानाकर्षण गरेका छौं ।