किन सार्वजनिक सुनुवाइ गर्न लाग्नुभएको ?
खासगरी नेपाल विद्युत् प्राधिकरणले पेश गरेको विद्युत् महसुल परिवर्तन तथा निर्धारण निर्णय प्रक्रियामा जनताको सहभागिताका लागि सार्वजनिक सुनुवाइ गर्न लागिएको हो । सुनुवाइमा सधैं विद्युत् महसुल मात्र तिर्दै आएका उपभोक्ताको कुरा सुनिनेछ, सुझाव लिइनेछ ।
राजधानीको होटलमा सार्वजनिक सुनुवाइ गरेर अमजनताको सुझाव समेट्न सकिएला र ?
हाम्रो योजना त सातै प्रदेश र ७५३ वटै गाउँपालिकामा जाने थियो । तर, कोरोना भाइरसको संक्रमण जोखिमका कारण त्यसो गर्न सकेनौं । त्यसैले टेलिफोन तथा श्रव्य–दृश्यका माध्यमबाट पनि सुझाव लिने व्यवस्था मिलाएका छौं । आफ्नै वेबसाइट, छापा, विद्युतीय र सामाजिक सञ्जालबाट पनि राय मागिनेछ ।
कोरोना भाइरसको त्रासकै वेला यसखाले सार्वजनिक कार्यक्रम आयोजना गरिनु कत्तिको अर्थपूर्ण होला ?
विद्युत् नियमन आयोगको ऐनमै प्राधिकरणले विद्युत् महसुल परिवर्तन तथा निर्धारणका लागि दिएको निवेदन स्वीकृतिको दुई महीनाभित्रै नयाँ महसुल लागू गरिनुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणको निवेदन १ फागुनमा स्वीकृत भएकाले चैत मसान्तसम्म प्रक्रिया टुङ्गोमा पुर्याउनुपर्ने बाध्यता छ । त्यसैले यस्तो प्रतिकूल परिस्थितिमा पनि कार्यक्रम गरिरहेका छौं ।
आयोगले विद्युत् महसुल निर्धारण गर्ने आधार चाहिं के के हुन् ?
पहिले त हामी प्राधिकरणको वार्षिक आम्दानी र खर्चको विश्लेषण गर्दछौं । त्यसपछि सरकारको नीति अनुसार, उपभोक्ताको वर्गीकरण गरेर महसुल निर्धारण गर्छौं । प्राधिकरणले महसुल प्रस्ताव गर्न त पाउँछ, तर निर्णय गर्ने अधिकार आयोगसँग हुन्छ । सुनुवाइमा प्राधिकरणले आफूले प्रस्ताव गरेको महसुलको प्रतिरक्षा गर्छ । उपभोक्ता र आयोगलाई सहमत गराउने प्रयास गर्छ ।
मुलुकमा विद्युत् उत्पादन बढेकाले प्राधिकरण उपभोक्तालाई खपत बढाउन आग्रह गरिरहेको छ, तर महसुल अहिले पनि महँगो छ । खपत बढाउन प्रेरित गर्न त महसुल घटाउनुपर्ने होइन र ?
हामी भर्खरै विद्युत् उत्पादनको यो चरणमा प्रवेश गरेका छौं । महसुल घटाउँदा उपभोग कति बढ्छ भन्ने अध्ययन गरिरहेका छौं । अध्ययन नै नगरी महसुल घटाएकै आधारमा खपत बढ्ने निष्कर्ष निकाल्न सकिन्न ।
१० अर्षअघिको हिमाल बाट
नेपाली महिला पहिचान, पहुँच, प्रतिस्पर्धा, प्रतिनिधित्व र परिवर्तनतिर उन्मुख हुँदै केन्द्रीय सत्ता सम्हाल्न सक्ने स्थितिमा पुगेको विश्लेषणसहित हिमाल ले १–१५ चैत २०६६ मा महिला सम्बन्धी विशेष रिपोर्ट छापेको थियो– ‘आकार लिंदैछ स्त्री सत्ता’ ।परम्परागत पुरुष वर्चस्वलाई धक्का दिने गरी राज्यको नेतृत्व तहमा महिलाको उपस्थिति देखिएको थियो । अन्तरिम संविधानले गरेको व्यवस्था अनुसार निर्वाचन र राज्य पुनर्संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व संवैधानिक अधिकार बनेको थियो । यसैको परिणाम थियो– संविधानसभामा नयाँ संविधान बनाउने प्रक्रियामा प्रभावकारी हस्तक्षेप गर्न सक्ने एकतिहाइ जुझारु महिलाको सहभागिता । २०६२/६३ को जनआन्दोलनपछि सम्पन्न निर्वाचनपश्चात् गठन भएको संविधानसभा–व्यवस्थापिका संसद्को उपाध्यक्ष र सरकारको उप–प्रधानमन्त्रीको तहसम्म महिलाको हैसियत बन्न पुगेको थियो ।
समाजमा पुरुष हावी भएका कतिपय पेशा–व्यवसायमा महिलाको दह्रो उपस्थिति देखिएको थियो । अर्कोतिर, धेरै पुरुष विदेशिएकाले महिलाहरूको सम्पत्ति र स्वामित्वमा पहुँच, ग्रामीण भेगका स–साना उद्योग व्यवसायमा संलग्नता तथा समाजमा जिम्मेवारी र हैसियत बढेको थियो । चेतनास्तर उठेसँगै आफ्नो अधिकारप्रति सचेत महिलाहरूले धेरै ठाउँमा नेतृत्व पाएका थिए ।