वि.सं. २०७६ भित्र नेपालबाट हात्तीपाइले रोग नियन्त्रण गर्ने लक्ष्यसहित सरकारले हात्तीपाइले विरुद्धको औषधि अभियान सञ्चालन गरेको सन्दर्भमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, “औषधि खान होइन, नखाँदा लाग्ने रोगबाट चाहिं डराउनुपर्दछ।”
सन् २००३ मा पर्सा जिल्लाबाट 'केस स्टडी' को रुपमा यो अभियान प्रारम्भ गरेका थियौं। अहिलेसम्म अभियान सञ्चालन भएका ६१ मध्ये नवलपरासी, रुपन्देही लगायतका २० जिल्लामा पुनः अभियान चलाउनु नपर्ने भएको छ। प्रभावकारिता नदेखिएको कपिलवस्तु जिल्लामा मात्रै हो। असार मसान्तभित्र रगत परीक्षण गरेर ४१ जिल्लामा पुनः औषधि अभियान सञ्चालन गर्छौं।
औषधि खान शहरवासी नै डराए नि?
यसपटक पहिले पहिले जस्तो त डराएनन्। सञ्चारकर्मी र स्वास्थ्यकर्मी दुवैले अज्ञानतावश चलाएको हल्लाका कारण भ्रम सिर्जना भएको हो। रोग लागेर खुट्टा सुन्निएकाहरूले औषधि खान नदिएका अभिभावकसँग झगडा गर्ने गरेको सुनेको छु।
निर्धक्क भएर औषधि खाँदा हुन्छ?
हात्तीपाइले रोगबाट बच्न डाईथीकार्बम्याजिन र अल्बेनडेजोल औषधि सँगसँगै खुवाइन्छ। डाईथीकार्बम्याजिन ७५ वर्ष पुरानो औषधि हो। औषधि खान होइन नखाँदा लाग्न सक्ने रोगबाट चाहिं डराउनुपर्दछ। किनभने यो रोग लागिसकेपछि हिंडडुल गर्न गाह्रो हुने, काम गर्न नसकिने, निको नहुने जस्ता खतरा हुन्छ।
हात्तीपाइले रोग के कारणले लाग्छ?
यो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो। हात्तीपाइलेको कारक रगतको जुकालाई मानिन्छ। ज्यादातर यसको संक्रमण दुई–तीन वर्षको उमेरमै भइसकेको हुन्छ भनिन्छ। २५–३० वर्ष पुगेपछि विस्तारै खुट्टा सुन्निन थाल्छ।
रोग लागेको कसरी थाहा पाउने र यसका बिरामीले के गर्नुपर्छ?
यसको शुरुआती लक्षण बिरामी पिच्छे फरक देखिन्छ। कसैलाई ज्वरो आउने, खुट्टामा गिर्खा देखिने र कसैलाई खोकी लाग्छ। रगत परीक्षणपछि मात्रै निर्क्योल गर्न सकिन्छ। शुरुमै थाहा पाउँदा उपचार सहज हुन्छ।